News Portal

  • कुवेत जान लागेका १२ जना महिला प्रहरी नियन्त्रणमा

    हिमालीसंचार संवाददाता
    ३०५ पटक

    काठमाडाैं। दुबई घुम्न जाने भन्दै १२ नेपाली महिला बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे। हिमालय एयरलाइन्सले आवश्यक कागजपत्र अध्ययन नगरी तुरुन्तै उनीहरूलाई बोर्डिङ पास उपलब्ध गरायो। शंका लागेर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा स्यानेटरी प्याडभित्र उनीहरूसँग कुवेतको भिसा भेटियो।

    कुन देश जान लागेको भन्दा उनीहरूले राम्रोसँग जवाफ दिन सकेनन्। ग्रामीण क्षेत्रका ती महिलालाई दुबई घुम्न लैजाने भन्दै कुवेतमा लगेर ‘बिक्री’ गर्न लागिएको थियो। सामान्य सोधपुछमै त्यो कुरा खुलेपछि प्रहरीले उनीहरूलाई रोक लगाई अनुसन्धान गरिरहेको छ। सीधै कुवेत जाँदा शंका हुने भएकाले उनीहरूलाई दुबई ट्रान्जिट बनाई भोलिपल्टै कुवेत लैजान लागिएको थियो।

    मानव बेचबिखनमा संलग्न समूहले यसरी सोझा महिलालाई विदेशमा आकर्षक जागिरको प्रलोभनमा मध्यपूर्वका विभिन्न देशमा लगेर बेचबिखन गर्ने प्रवृत्ति बढेको छ। यसरी त्यहाँ पुगेका धेरैजना समस्यामा परेको र पछिल्लो चार महिनामा ११ जनालाई उद्धार गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका निर्देशक एसएसपी अनुरागकुमार द्विवेदीले बताए।

    ‘हिजो हामीले विमानस्थलबाट फर्काइएका महिलासँग सोधपुछ गर्दा उनीहरूलाई कहाँ जानेसम्मको जानकारी थिएन,’ एसएसपी द्विवेदी भन्छन्, ‘यसरी सयौँ नेपाली चेलीबेटीलाई मध्यपूर्वका विभिन्न देशमा बेचिएपछि हामीले विमानस्थलमा विशेष टोली खटाएर रोक्न थालेका छौँ।’

    प्रहरीका अनुसार भिजिट भिसामा संयुक्त अरब इमिरेट्स, कुवेत, सिरिया, लिबिया, इराक, ओमानजस्ता देशमा पुगेका नेपाली महिला शारीरिक शोषणको सिकार हुने गरेका छन्। प्रहरीले कुवेतबाट सात, दुबईबाट दुई तथा इराक र लिबियाबाट एक–एकजनालाई उद्धार गरेको छ। थप केही उद्धारको प्रतीक्षामा छन्।

    ब्युरोले गरेको अनुसन्धानअनुसार जनावरजस्तै मूल्य नै तोकेर नेपाली महिलाको ती देशमा घरेलु कामदारका लागि बिक्री हुने गरेको छ। ‘उताको एजेन्टले महिला पठाउन भनेर सुरुमै नेपालमा पैसा पठाइदिन्छन्, यताबाट महिला खोजेर उनीहरूको फोटो र भिडियो पठाई मोलतोल हुँदो रहेछ,’ एसएसपी द्विवेदी भन्छन्, ‘यहाँबाट महिला प्लेन चढ्नुभन्दा अघि नै उनको विदेशमा बिक्री भइसकेको हुन्छ।’

    एजेन्टहरूले एक महिलाकै लागि लाखौँ लिने र उनीहरूलाई खरिद गरेको शैलीमा शोषण गर्दै आएको उद्धार गरिएका महिलाले बताउने गरेका छन्। लिबियाबाट फर्किएकी एक महिलाले आफ्नो अनुहार नै जलाएर यातना दिएको बताएकी छिन्। आफू राम्री भएको र आफ्नो श्रीमानसँग नजिकिन सक्ने भएकाले सुन्दरता बिगारिदिन त्यहाँको घरधनी महिलाले त्यसरी यातना दिएको उनले बताएकी छिन्।

    इराकबाट फर्किएकी एक महिलाले आफूमाथि पनि चरम शोषण भएकाले हारगुहार गरेर स्वदेश फर्किएको बताएकी छिन्। उनीहरू दुवैजना अध्यागमनको सेटिङमा त्यहाँ पुगेका थिए। फर्कन खोज्दा आफूहरूले लाखौँ रुपैयाँ तिरेर किनेकाले त्यो पैसा दिए मात्र जान दिने भन्दै उनीहरूले बन्धकसमेत बनाउने गरेका छन्।

    पछिल्लो तीन महिनामा यसरी फर्जी कागजपत्र प्रयोग गरी घुम्ने बहानामा खाडी देशहरूमा काम खोज्न जान लागेका ६ सय ४० जनालाई प्रहरीले विमानस्थलबाट फिर्ता गरेको छ। फिर्ता गरिएकामाथि सोधपुछ गर्दा धेरैले आफू जान लागेको ठाउँको नामसमेत बताउन नसकेको ब्युरोका एसपी दानबहादुर मल्ल बताउँछन्।

    शैक्षिक प्रमाणपत्र तथा बैंक स्टेटमेन्टलगायत कागजपत्र नक्कली बनाई गिरोहले उनीहरूलाई पठाउन लागेको थियो। तर, पीडितहरूले सहयोग नगर्दा प्रहरीले गिरोहका नाइकेलाई भने पक्राउ गर्न सकेको छैन। पीडितहरूले उजुरी नदिने प्रवृत्तिले समस्या भएको एसएसपी द्विवेदी बताउँछन्। मानव बेचबिखनसम्बन्धी मुद्दामा पीडितले उजुरी नदिएसम्म अनुसन्धान गर्न नमिल्ने प्रावधान छ।

    प्रहरीले पाएको सूचनामा मेनपावर र ट्राभल एजेन्सीले नै यसरी भिजिट भिसामा विभिन्न देशमा पठाउँदै आएका छन्। विगतमा अध्यागमन कार्यालयमा समेत उनीहरूको सेटिङ रहेकोमा प्रहरीको कडाइले पछिल्लो समय यस्तो प्रवृत्तिमा कमी आएको छ। भिजिट भिसाको नाममा मानव तस्करी बढेको सूचनापछि प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नै यसमा चासो राखी विमानस्थलमा कडाइ गर्न मातहतका प्रहरीलाई निर्देशन दिएका हुन्। प्रहरीले कडाइ गरेपछि केही व्यक्ति मानव अधिकारको प्रश्न उठाएर भिजिट भिसाको सेटिङलाई खुलाउन लबिङ गरिरहेका छन्।

    मानव बेचबिखनमा एयरलाइन्सका कर्मचारीदेखि अध्यागमनसम्मको मिलेमतो हुने गरेको प्रहरी अधिकारी बताउँछन्। एयरलाइन्स कम्पनीहरूले पर्याप्त कागजपत्र नभई बोर्डिङ पास दिन मिल्दैन। तर, बिहीबार हिमालय एयरलाइन्सका कर्मचारीले जस्तै सेटिङमा बोर्डिङ पास जारी हुने र अध्यागमनले पनि सहजै प्रस्थान अनुमति दिने गरेको छ। मानव बेचबिखन रोक्नका लागि सबै सरोकारवालाबीच समन्वय आवश्यक रहेको एसएसपी द्विवेदी बताउँछन्। एयरलाइन्स कम्पनीबाट हुने कमजोरीबारे प्रहरीले नागरिक उड्डयन कार्यालयलाईसमेत ध्यानाकर्षण गराएको छ।

    भिजिट भिसामा नयाँ मापदण्डपछि पनि उस्तै समस्या !

    भिजिट भिसालाई खुकुलो गर्दा धेरै बेचबिखनमा पर्ने र कडाइ गर्दा व्यक्तिगत अधिकारमाथि हनन भएको आरोप लाग्ने गरेको छ। यही विवादपछि गृह मन्त्रालयले हालै नयाँ मादपण्ड बनाई लागू गर्न लागेको छ। जसमा वार्षिक न्यूनतम चार लाख कर प्रणालीमा आबद्ध आय हुनुपर्ने र दुई लाख मौज्दात हुनुपर्ने प्रावधानसहितको नयाँ कार्यविधि बनाई लागू गर्न लागेको छ।

    यसो गर्दा पनि नक्कली बैंक स्टेटमेन्ट बन्ने र भिजिट भिसाकै लागि बिचौलिया समूहले खातामा पैसा राखेर निकाल्ने नाममा झन् ठगी गर्ने समस्या बढ्ने जोखिम छ। गृहले अनलाइन प्रणालीमार्फत पूर्वस्वीकृति दिएर भिजिट भिसाको समस्यालाई हल गर्ने प्रयास गरे पनि अनलाइन प्रणालीमा आउने कागजपत्र प्रमाणीकरणको पूर्वाधार भने बनिसकेको छैन।

    भिजिट भिसामा हुने मानव तस्करी नेपालको पुरानै समस्या हो। गरिबी र बेरोजगारीका कारण वैदेशिक रोजगारीको प्रलोभनमा यसरी मानव बेचबिखन फस्टाएको छ। कोभिड महामारीपछि झनै यस्तो समस्या बढेको नवराज मैनालीले आजको नयाँपत्रिका दैनिकमा खबर लेखेका छन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    डिजिटल युगमा ढिलाइ गर्न नहुने देउवाको चेतावनी : एआई अबको आवश्यकता हो

    काठमाडौं, साउन ११ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल अब डिजिटल युगको ढोकामा उभिएको...

    कोशीका वनमन्त्री मण्डलको स्पष्टोक्ति : ‘खाँदै नखाएको विषले जिउँदै मार्‍यो’, घुस प्रकरणको खण्डन गर्दै प्रमाण ल्याउन चुनौती

    विराटनगर, साउन ११ – कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले घुस मागेको आरोपलाई...

    अधिनायकवादको कुरा गर्नेहरूले इतिहास बिर्सिएजस्तो लाग्छ : प्रधानमन्त्री ओली

    काठमाडौं, साउन ११ – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको राजनीतिक परिवेशलाई अधिनायकवादको संज्ञा दिनेलाई विगतका...

    विद्या भण्डारीको सक्रियता र अध्यक्ष पदप्रतिको आकांक्षापछि एमालेको निर्णयः अध्यक्ष ओलीको प्रष्ट भनाइ

    काठमाडौं, साउन ११ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको अध्यक्ष पदमा चासो देखाएपछि पार्टीभित्र हलचल...

    एमाले ललितपुर अध्यक्ष आचार्य मानव तस्करी प्रकरणमा मुछिए, सिआईबीको अनुसन्धान सुरु

    काठमाडौं, साउन ११ – नेकपा एमाले ललितपुर जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्य गम्भीर मानव तस्करीको...