News Portal

बिचौलियाको हातमा संस्थानको सस्तो चामल

५८३ पटक

कलेन्द्र सेजुवाल/सुर्खेत : सोमबार दिउँसो करिब पौने ४ बजे भे१ह २३०० नम्बरको टेम्पो वीरेन्द्रनगर स्थित खाद्य संस्थानको डिपोमा प्रवेश गर्‍यो। त्यहाँ रहेका केही व्यक्तिले फटाफट टेम्पोमा चामलका प्याक लोड गरे। कान्तिपुरले उक्त टेम्पोको पिछा गर्दै गयो।

करिब तीन मिनेट दूरीमा पर्ने हटियालाइनस्थित एक पसलमा पुगेर टेम्पो रोकियो। ‘दसैं, तिहार, छठको शुभकामना’ लेखिएको ठूलो ब्यानरले रेस्टुरेन्टको नाम छपक्कै ढाकिएको थियो, जहाँ संस्थानको चामल भरिभराउ देखिन्थ्यो।

‘यो चामल कहाँ लग्ने हो ?’ कान्तिपुरको प्रश्नमा त्यहाँ उभिएका व्यक्ति एक छिन अकमकाए । नरबहादुर थापामगर नाम बताउने ती व्यक्तिले केही बेरमा भने, ‘धरमपोखरा (दैलेख) लैजाने हो।’

ती व्यक्तिले उक्त रेस्टुरेन्टभित्र खाद्य संस्थानको चामल गोदाममै बनाएर राखेका थिए, जहाँ करिब ५० बोरा चामल देखिन्थ्यो । उनले ‘गाउँका मान्छेलाई बाँड्ने’ भने पनि नजिकै रहेका अर्का एक व्यक्तिले बिक्रीका लागि संस्थानको चामल भण्डार गरी राखिएको बताए ।

नेपाल खाद्य संस्थानले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको ‘सुपथ मूल्य पसल’ बाट सस्तोमा लगेर महँगोमा बजारमा बिक्री गर्ने ती व्यक्ति एक्लो होइनन् । हरेक व्यक्तिले चाहे जति लिन सक्ने प्रावधानले सर्वसाधारणभन्दा व्यापारीले लाभ लिइरहेका छन् । संस्थानका सुर्खेत शाखा प्रमुख भीम थापासमेत उक्त तथ्य स्विकार्छन् । ‘अनुहार चिनेको आधारमा मान्छे दोहोरिएर आयो भने मात्र रोक्न सकिन्छ, नत्र कसले कति चामल लिएर बिक्री गर्छ वा आफैं उपभोग गर्छ भन्न सकिने अवस्था छैन,’ उनले भने, ‘यदाकता कसैले बिक्री गरेका पनि हुन सक्छन् ।’

संस्थानले एक व्यक्तिलाई एक प्याक (३० केजी) चामल दिन्छ । चामल लिनेको कुनै डकुमेन्ट आवश्यक नपर्ने भएकाले एउटैले जति पटक पनि लिन सक्छ । यही कमजोरीको फाइदा उठाउँदै व्यापारीले संस्थानको चामल आफ्नो पसलमा लगेर बिक्री गर्ने गरेका छन् । संस्थानबाट सस्तोमा लगिएको चामल अर्को बोरामा भरेर बिक्री गर्ने गरिएको उपभोक्ता बताउँछन् ।

जिरा मसिनो चामललाई संस्थानमा ५१ रुपैयाँ पर्छ । यही चामल बजारमा ७० रुपैयाँमा बिक्री हुने गरेको छ । ‘एक क्विन्टलबाट हजारदेखि दुई हजार रुपैयाँँसम्म फाइदा हुने भएपछि कसले मौकाको फाइदा नउठाउला ?’ वीरेन्द्रनगर, खजुराका एक किराना पसलेले भने, ‘सबैले ल्याएर बचेको थाहा पाएपछि मैले पनि अलिकति राखेको छु ।’ खाद्य संस्थान लेखिएको बोरामा राखेर बेच्दा डर हुने भएकाले अर्को बोरामा खन्याएर वा अरू चामलमा मिसाएर बेच्ने गरिएको उनले बताए । संस्थानको सुपथ मूल्य पसलमा व्यक्तिभन्दा बढी टेम्पोको भीड देखिन्छ । उपभोक्ताको भेषमा आउने व्यक्तिले तिनै टेम्पोमा लाड गरेर चामल लैजान्छन् ।

खाद्य संस्थानले असोज ९ देखि कात्तिक २७ सम्म सुपथ मूल्य पसल राखेको छ । हालसम्म पाँच सय ९ क्विन्टल चामल बिक्री भएको संस्थानका शाखा प्रमुख थापा बताउँछन् । उनका अनुसार अहिले गोदाममा करिब १९ हजार क्विन्टल चामल स्टक रहेको छ । ‘हामीसँग पर्याप्त खाद्यान्न स्टक रहेकोले चाडबाडको बेला सहजै दिने गरेका छौं,’ उनले भने, ‘यो अवसरलाई कसैले गलत रूपमा प्रयोग गरेका छन् भने कारबाहीको भागीदार हुन्छन् ।’

सुर्खेतका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव संस्थानले नै सुपथ मूल्यको चामल दुरुपयोग भए/नभएको निगरानी गर्नुपर्ने बताउँछन् । ‘सर्वसाधारणको लागि सुपथ मूल्यमा दिइएको चामल व्यापारीले खरिद गरी महँगोमा बेच्नु कालोबजारी हो,’ उनले भने, ‘यसलाई स्थानीय प्रशासनले कडाईका साथ अनुगमन गर्छ । कान्तिपुर

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...