आज : २०२६-०६-०८, सोमबार

एक से एक समसामयिक चोटिला मुक्तकहरू – प्रथा !

मुक्तक – १

सीमा कित्ता नछुट्याउने आली चाहिँदैन
कपट राखेर पर्ररर बज्ने ताली चाहिँदैन
अत्याचारी शासकजस्तै परपीडक बनी
फूलको गला रेटी हिँड्ने माली चाहिँदैन !

मुक्तक – २

श्रम गर्नेहरू भोकै मर्छन् पेट भर्ने अर्को
दुखियालाई के को पर्व वेथा हुन्छ चर्को
लुट्नेहरू मस्तिमा छन् देशै उनको पेवा
कसले देख्ने गरीबको भोकाएको लर्को ?

मुक्तक – ३

सुन्दरता त विचारमै छ नङमा के हुन्छ र
अन्तिम जित हारमै छ जङमा के हुन्छ र
छटा अनेक जगतकै तिमी कहिले बुझ्छौ
सिङ्गो खुसी मनभित्रै छ रङमा के हुन्छ र ?

मुक्तक – ४

तोडिएपछि मनको नाता कहाँ जुट्या छ र
जनताको शक्ति श्यामा कसले लुट्या छ र
तिमीले बोल्ने बोली पनि यसै आ’को छैन
चिताबाट त्यो लाश फेरि कहाँ उठ्या छ र ?

मुक्तक – ५

साँटेपछि घर र थर फन्दी बन्यो जिन्दगानी
बेचेपछि नुन र सुन मन्दी बन्यो जिन्दगानी
थाहा छैन कहाँ डुब्छ त्यो मुस्कुराउने घाम
दिएपछि तन र मन बन्दी बन्यो जिन्दगानी !

मुक्तक – ६

कानूनको पेशी चढाई तस्कर भेट्ने को हो
न्यायमाथि जनताको विश्वास मेट्ने को हो
रङ्क डङ्क किस्सा कथ्ने फुलन्दे हो भन
कालो कोटले गान्धारीकै गला रेट्ने को हो ?

मुक्तक – ७

नदी तारिदिने माझी दाइ आफैँ डुङ्गा बन्यो
बाटो मोडेपछि नेता पनि आफैँ बुङ्गा बन्यो
दया करूणा सबै मेटी ईश्वर शरण परेपछि
ढुङ्गा पुज्ने मानिस आज आफैँ ढुङ्गा बन्यो !

मुक्तक – ८

श्रम गरी मालिक पाल्ने लोभी हो कि दानी
जीवन छोडेर मूर्ति पुज्ने मूर्ख हो कि ज्ञानी
तथ्य के हो भ्रम के हो कहिले बुझ्छ मानव
ह्रदय फुटी उकालो बग्ने आँसु हो कि पानी ?

मुक्तक – ९

तरवार बोकी मिर्मिरेमा कसाई भेट्ने को हो
मुस्कुराउने ओठहरूबाट खुसी मेट्ने को हो
जाल ओढेर जल्लादझैँ कति बन्दछौ मानव
मूर्ति ढोगी यो जिन्दगीको गर्दन रेट्ने को हो ?

मुक्तक – १०

हिँड्दा हिँड्दै जीवनको नदी तरेर जान सकौँ
शब्दशब्दमा चैतन्य आवाज भरेर जान सकौँ
जिन्दगी छ र त मस्तिसँग जिउन पाएका छौँ
अस्ताए पनि विचारकै वीज छरेर जान सकौँ !

प्रथा।