आज : २०२६-०९-१२, शनिबार

सद्भाव सहकारीद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोशाक सहयोग

रङ्गेली । आर्थिक अभावका कारण अध्ययनमा समस्या भोगिरहेका अति विपन्न परिवारका बालबालिकालाई लक्षित गर्दै रङ्गेली–७ मा रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शैक्षिक सामग्री तथा विद्यालय पोशाक सहयोग गरेको छ।
सहकारीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दुई विद्यालयका पाँच जना विपन्न विद्यार्थीलाई जनही ३ हजार ५ सय रुपैयाँ बराबरको शैक्षिक सामग्री तथा पोशाक सहयोग गरेको हो।
सहयोग प्राप्त गर्नेमा सुनवर्षी नगरपालिका–१, चपमारीस्थित रत्न आधारभूत विद्यालयमा अध्ययनरत कृष्णबहादुर बिक र राजेश पासवान तथा रङ्गेली नगरपालिका–९, दोहमनास्थित श्री वीरेन्द्र आधारभूत विद्यालयका सिवानी पासवान, जमुना टुडु र विक्रम हाँस्दा रहेका छन्।
प्रत्येक विद्यार्थीलाई एक सेट विद्यालय पोशाक, एक थान ब्याग, एक जोडी जुत्ता, १० थान कापी, एक प्याकेट कलम, दुई थान पेन्सिल, एक थान इरेजर र एक थान कटर प्रदान गरिएको थियो।
सहकारीले विद्यार्थीहरू नियमित रूपमा विद्यालय उपस्थित भई कक्षा उत्तीर्ण भएमा आगामी दिनमा समेत सहयोगलाई निरन्तरता दिने जनाएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा सद्भाव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इन्जिनियर कमलेश्वर ठाकुर, सचिव राजदेव श्रीप्रसाद ठाकुर, रङ्गेली–९ का वडा अध्यक्ष चुडामणि रेग्मी, सुनवर्षी–१ का वडा अध्यक्ष वीरेन्द्र राई, सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष इन्जिनियर ठाकुरले आर्थिक अभावकै कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको बताए। विपन्न विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउँदा उनीहरूको पढाइमा प्रत्यक्ष राहत पुग्नुका साथै विद्यालयमा नियमित उपस्थितिका लागि समेत प्रोत्साहन मिल्ने उनले बताए।
श्री वीरेन्द्र आधारभूत विद्यालयका प्रधानाध्यापक हरिचन्द्र अधिकारीले आर्थिक समस्याका कारण आवश्यक शैक्षिक सामग्री जुटाउन नसक्ने विद्यार्थीका लागि यस्तो सहयोग महत्वपूर्ण रहेको बताए। सहयोगले विपन्न विद्यार्थीमा पढाइप्रतिको उत्साह र मनोबल बढाउने विश्वास व्यक्त गरे।
त्यसैगरी रत्न आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर कार्कीले विपन्न परिवारका विद्यार्थीलाई लक्षित गरी गरिएको सहयोगले उनीहरूको अध्ययनमा प्रत्यक्ष सहयोग पुग्ने बताए।
रङ्गेली–९ का वडा अध्यक्ष चुडामणि रेग्मीले आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाको शिक्षामा सहकारी तथा निजी क्षेत्रले देखाएको चासो सकारात्मक रहेको बताए। बालबालिकाको शिक्षा विद्यालयको मात्र नभई समुदाय र सामाजिक संस्थाको समेत साझा दायित्व भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो।
सुनवर्षी–१ का वडा अध्यक्ष वीरेन्द्र राईले विपन्न परिवारका बालबालिकालाई गरिएको शैक्षिक सहयोगले उनीहरूको मनोबल बढाउने बताए। स्थानीय तह, विद्यालय, सहकारी तथा सामाजिक संस्थाबीच सहकार्य बढाउन सके आर्थिक अभावका कारण बालबालिका शिक्षाबाट बाहिरिने अवस्था न्यूनीकरण गर्न सकिने उनले बताए।
त्यस्तै गान्धी आश्रम कृषि सहकारी संस्थाका व्यवस्थापक सुभाष दुलालले सहकारी संस्थाहरूले वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए।
सद्भाव सहकारीले आर्थिक विपन्नताका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले विगतदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।