मोरङ : गाउँघरका चियाखाजा पसलले हरेक दिन बिहान–साँझ फरक जाति, समुदाय, धर्म र संस्कृतिका स्थानीयलाई जोडिरहेको हुन्छ । यस्ता पसल सुख–दु:ख बाँड्ने थलो पनि बन्छन् । वर्षभरि खेतीपातीदेखि चाडबाडसम्मको सेरोफेरोमा स्थानीयमाझ गफगाफ हुन्छ ।
‘नयाँ कपडा किन्ने र वरिपरि लाग्ने मेलामा घुमफिर गर्न गइने हुनाले दशमीमा सबैभन्दा बढी रमाइलो लाग्छ,’ ६२ वर्षीय शेख मन्ना मियाँले भने । उनी दक्षिणपूर्वी मोरङको धनपालथान गाउँपालिका–४, कदमाहा चोकस्थित पसलमा हिन्दु मित्रहरूसँग चिया पिइरहेका थिए ।
‘आ–आफ्नो धर्मअनुरूपको महत्त्वपूर्ण पर्वमा एक अर्कालाई खानपीनको निम्तो दिन्छौं,’ उनले भने, ‘दसैं, तिहार र छठमा मित्रहरूले दिएको प्रसादले मेरो घर भरिभराउ हुन्छ ।’ उनी स्थानीय ज्यालादारी श्रमिकका नाइके हुन् । हरेक दिन बिहान काम गर्न शहरबजार जान्छन्, साँझ फर्कन्छन् । अरू बेला यहाँ उखु र धान उत्पादन सम्बद्ध खेतीपातीकै कुरा बढी हुने गरेको मियाँका साथी ५७ वर्षीय भुइँबहादुर राजवंशीले बताए ।
‘दसैं, तिहार र छठको आ–आफनै महत्त्व र रमाइलो पक्ष छ,’ उनले भने, ‘दशमी मेला, तिहारको रमझम र छठमा पूजा, नृत्य तथा मेला मन पर्छ ।’ बिहान साढे पाँच बजेदेखि यो चोकका चिया पसल खुलिसकेका हुन्छन् । स्थानीयहरू चिया नास्ता खाने बहानामा यहाँ भेला हुन्छन् । ‘घरव्यवहार देखि राजनीति र मुलुकको स्थितिबारे पनि गफ गर्छन्,’ चियाखाजा व्यवसायी ३५ वर्षीय मुकेशप्रसाद गुप्ताले भने, ‘पर्व आउन लागेकाले कसरी मनाउने र कहाँकहाँ घुम्न जाने बारे कुरा गर्छन् ।’
दसैंमा उक्त गाउँपालिकाको कर्सिया बजार, पश्चिमपट्टिको जहदा गाउँपालिकाको रामचोकको दुर्गा मन्दिर र कटहरी गाउँपालिकाको नयाँ बजारमा ठूलो मेला लाग्छ । यहाँ दुर्गाको पण्डाल र द्वारहरूको निर्माण सुरु भइसकेको छ । ‘भिन्न विशेषता भएको महापर्व छठ त भव्य हुन्छ नै तर दशमी पनि मजाले मनाउँछौं,’ उनले भने, ‘घटस्थापनादेखि चहलपहल सुरु हुन्छ ।’ साताभरि लाग्ने दसैं मेला यहाँ नवमीदेखि उत्कर्षमा पुग्ने गरेको गुप्ताले बताए । यो गाउँपालिका–६ मा पर्ने पश्चिमपट्टिको लोहन्द्रा घाटको चिया पसलमा पनि स्थानीय चियाको स्वाद लिँदै संवादमा लिन रहेको भेटिए ।
‘बढी खेती र गृहस्थी जीवनकै कुरा हुन्छ,’ पसले ७० वर्षीय रामाशिष साहले भने, ‘कसले र कति धान, गहुँ वा उखु उत्पादन गरे ?, कसको सबैभन्दा बढी भयो ? यस्तैयस्तै खाले गफ हुन्छ ।’ विपन्न किसान र श्रमिकको बसोबास भएको यो बस्तीमा अधिकांशले सहकारी संस्थाबाट ऋण लिएर खेती र व्यवसाय गरेका छन् । ‘विजया दशमीपछि लहरै पर्वहरू आउँछ, जति नै साधारण गरौं भने पनि खर्च बढी हाल्छ,’ स्थानीय ३४ वर्षीय विश्वनाथ सहनीले भने, ‘सहकारी र बैंकबाट लिएको रकमको किस्ता कसरी तिर्ने चिन्ता झनै बढ्छ ।’
उनी एक निजी संस्थाका सुरक्षागार्ड हुन् । ‘तर धर्मभन्दा बढी परम्परा बनिसकेको दसैं, तिहार र छठ मनाउन मन लागिहाल्छ, जस्तोसुकै समस्या भए पनि गच्छेअनुरूप पर्वहरूको स्वागत गर्छौं,’ उनले भने । चिया पिउँदै पुरुषहरूको संवाद सुनिरहेकी ५० वर्षीया किसनी सहनीले आयस्तरअनुरूप मनाउने गरेको बताइन् ।
‘हुन त सबथोक आम्दानीमा भरपर्छ तर उहिलेदेखि मनाउँदै आएको चाडबाडलाई भोक र गरिबीले पनि रोक्दैन,’ उनले भनिन्, ‘मन्दिर वा पण्डालमा ढोगेर दुई टुक्रा प्रसाद खाएर पनि हाँसीखुसी मनाइन्छ ।’ सहनी कृषि मजदुर हुन् । ‘जस्तोसुकै संकट र अभाव होस्, माता दुर्गाको नामको रातो टीका निधारमा लगाउँछौं, पुजारीसँग मागेर भए पनि कान एवं शीरमा जमरा भिर्छौं,’ सहनीले भनिन् ।
‘यो हाम्रो र यो उनीहरूको पर्व भन्ने यहाँ कहिल्यै विवाद भएन, जुनसुकै धर्मावलम्बीका पर्वलाई पनि आनन्दले मनाउँछौं,’ समाजसेवी ५२ वर्षीय तेजविक्रम भट्टराईले भने । चियापसल, हाटबजार, चोक र भेलामा साँझबिहान हुने भेटघाट तथा संवादले पनि दुरी घटाएर आत्मीयता बढाउने गरेको उनले बताए । ‘एक अर्काको धर्मसंस्कृतिको सम्मान गर्दा ज्ञानसँगै माया पनि बढ्छ,’ भट्टराईले भने, ‘सबैका धर्मले पनि यही भन्छ । कान्तिपुर