News Portal

  • धरान उपमहानगर : एमालेलाई लालकिल्ला फर्काउने चुनौती गठबन्धनले कांग्रेसलाई सजिलो

    हिमालीसंचार संवाददाता
    ११२ पटक

    सन्जिब राई/धरान – स्थानीय चुनाव आउन अब ३५ दिन मात्र बाकी रहेको छ। आगामी बैशाख ३० गतेका लागि राजनैतिक दलका नेता कार्यकर्ता घर घर, टोल टोल र बस्तिहरुमा आफ्नो पक्षमा अभिमत पार्नका लागि सक्रिय रहेका छन्। 

    धरानको इतिहास हेर्दा विस २०१५ सालको आम निर्वाचन हुदासम्म त्यो बेला धरान मोरङ जिल्ला अन्तरगत पर्दथ्यो। तल्कालिन आम निर्वाचन हुदा मोरङ जिल्लामा ३ वटा निर्वाचन क्षेत्र रहेको विस २०१६ बैशाख २८ गते प्रकाशित नेपाल गजेट अनुसार पुष्टि हुन्छ। 

    धरान अन्तरगत पर्ने निर्वाचन क्षेत्रलाई ‘मोरङ– विराटनगर पश्चिम–उत्तर’ भनेर निर्वाचन क्षेत्र तोकिएको रहेछ । ‘मोरङ विराटनगर दक्षिण’ मा वीपी कोइराला निर्वाचित हुदा धरानसमेत पर्ने ‘मोरङ विराटनगर पश्चिम उत्तर’ मा नेपाली कांग्रेसका उम्मेदवार डिट्ठा ज्ञानचन्द्र सरदार निर्वाचित भएको थिए। 

    धरान – विस २०१५ सालको निर्वाचनपछि २०१७ सालमा धरान नगरपालिका घोषणा भयो । विस २०१७ साल मंसिर ६ गते राजपत्रमा सूचना प्रकाशित भएपछि धरान नगरपालिकामा परिणत भएको थियो। 

    धरानमा वामपन्थीको बर्चस्वः धरान नगरपालिका घोषणासँगै निर्वाचन भयो। निर्वाचनमा वामपन्थी उम्मेदवार केदारनाथ खनाल प्रमुख र कृष्णप्रसाद श्रेष्ठ उपप्रमुखमा निर्वाचित भए। स्थानीय निकायको पहिलो चुनावदेखि विस २०७४ सालको स्थानीय तहको निर्वाचनसम्म धरानमा वामपन्थी उमेदवारकै दबदबा थियो।

    धरानमा विस २०४८ र २०५४ सालको निर्वाचनमा समेत वामपन्थी उमेदवार नै मेयरमा निर्वाचित भएका थिए । विस २०४८ सालमा ध्यानबहादुर राई, विस २०५४ सालमा मनोज मेन्याङ्बोले वामपन्थी जितलाई निरन्तरता दिएका थिए। 

    पछिल्लो २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनी धरान उपमहानगरपालिका धरानमा नेकपा एमालेका उम्मेदवार तारा सुब्बा नगर प्रमुखको रुपमा निर्वाचित भए । आधुनिक निर्वाचन प्रणाली सुरु भएपछि पनी वामपन्थीहरूको लगातार जितलाई सुब्बाले विस २०७४ सालको निर्वाचनमा समेत निरन्तरता दिएका थिए। 

    नेपाली कांग्रेसका उम्मेदवार तिलक राईलाई सुब्बाले पराजित गरेका थिए । उनले २० हजार ९ सय ७५ मत ल्याउँदा तिलक राईले १६ हजार १ सय २ मत मात्र ल्याएका थिए। मेयरमा जितेको एक वर्ष अर्थात् २०७५ साउन १ गते सुब्बाको निधन भयो। 

    मेयर सुब्बाको निधनपछि मेयर पद खाली भयो । नेकपा एमालेबाटै निर्वाचित उपमेयर मञ्जु भण्डारी कार्यवाहक मेयरको रुपमा नगर प्रमुखको रुपमा रहेकी थिईन् । भण्डारीले करिब डेढ वर्ष कार्यबाहक प्रमुख बनेर धरानलाई चलाइन्। त्यसपछि सरकारले विस २०७६ मंसिर १४ गते उपनिर्वाचन ग¥यो।

    उपनिर्वाचन हुने समयमा धरानमा एमाले र माओवादी मिलेर नेकपा रुपान्तरित भइसकेका थिए । एमाले एक्लै हुँदासमेत धरानमा निर्वाचन जितिरहेको नेकपा भएपछि अझ चुनाव जित्नेमा आश्वस्त देखिन्थ्यो। तर, नतिजा फरक आयो ।

    इतिहासमा पहिलो पटक धरानको नेतृत्वमा नेपाली कांग्रेस पुग्यो । धरानमा कम्युनिस्ट पार्टीको लालकिल्ला ढल्यो। तारा सुब्बासँग पराजित तिलक राई नै धरान उपमहानगरपालिका धरानको नगर प्रमुख निर्वाचित भए। 

    विस २०७४ सालको निर्वाचनमा सुब्बा सँग झन्डै ५ हजार मतान्तरले पराजित तिलक राईले नेकपाका साझा उम्मेदवार प्रकाश राईलाई करिब ३ हजार मतले हराए । नेपाली कांग्रेसका तिलक राईले २६ हजार ७ सय ९ मत ल्याउँदा नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत मात्र ल्याएका थिए। 

    धरानमा नेपाली कांग्रसका तिलक राईले चुनाव जितेपछि कम्युनिष्ट पार्टीमा तरंग फैलिएको थियो । नफैलियोस् पनि कसरी विस २०१५ सालको आमनिर्वाचनमा डिट्ठा ज्ञानचन्द्र सरदारपछि रुख चिन्हमा तिलक राईले मात्रै चुनाव जितेका थिए। 

    धरानमा पञ्चायतकालमा समेत कम्युनिस्ट पार्टीनिकट जनपक्षीय उम्मेदवारहरूको दबदबा हुने धरानमा बहुदल आएपछि पहिलो पटक नेपाली कांग्रेसले चुनाव जितेको थियो।

    धरानमा यो पटक के होला? कम्युनिस्ट पार्टीको निरन्तरको सुनिश्चित क्षेत्रलाई तिलक राईले ब्रेक लगाएपछि राजनीतिक रूपमा धरानको स्थिति बदलिएको छ । राष्ट्रिय राजनीतिक गठजोडले स्थानीय निर्वाचन कस्तो होला? यतिबेला धरानमा चर्चाको विषय बनेको छ। 

    प्रदेश नं. १ का दुई उपमहानगरपालिका मध्ये धरान एउटा हो। प्रदेश नं. १ कै अर्को उपमहानगरपालिका इटहरी धरानको छिमेकी । इटहरी जस्तै धरानमा पनि मुख्य प्रतिस्पर्धा नेकपा कांग्रेस र नेकपा एमालेको हुने स्थिति रहेको छ। 

    तर, कम्युनिस्ट पार्टीको एउटा ठूलो घटक माओवादीको उपस्थिति इटहरीमा भन्दा धरानमा अलिक बढी रहेको छ। विस २०७४ सालको निर्वाचनमा माओवादी तत्कालीन आठ दलीय गठबन्धनसहित उठेकाले उसको मतको हिसाब एकीन छैन। तर, धरानको २० वडामध्ये एउटामा जित हासिल गरेकाले माओवादीको उपस्थितिलाई समेत निर्णायक मानिएको छ 

    केन्द्रीय राजनीतिमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीको गठबन्धन धरानमा पनी हुने सम्भावना रहेको छ । गठबन्धन भएमा नेकपा माओवादी केन्द्रलाई उपमेयर दिएर भएपनी नेपाली कांग्रेसले मेयर लिने तयारी भएको नेताहरूले बताउँदै आएका छन्।

    गठबन्धन गरेर भए पनि नेपाली कांग्रेस आफ्नो जितलाई धरानमा निरन्तरता दिन चाहन्छ। नेकपा एमाले जसरी पनि आफ्नो साख फिर्ता गराउन लाग्ने देखिएको छ । यदि गठबन्धन हुने भएमा वामपन्थीकै मत अर्थात् नेकपा माओवादी केन्द्रको मत नेपाली कांग्रेसमा जाने कारण अर्को वामपन्थी नेकपा एमाले हार्ने आँकलन भइरहेको छ। 

    नेकपा एमाले टुक्रिए धरानमा ठूलो असर भने देखिएको छैन । धरानमा भीम आचार्यको चुनावी क्षेत्र भएकाले पनि समाजवादीको उपस्थिति खासै गतिलो देखिएको छैन। गठबन्धनको अर्को दल जसपाको उपस्थिति धरानमा राम्रो रहेको छ। प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा अशोक राईले एक पटक लडिसकेकाले जसपाको उपस्थिति राम्रो रहेका अनुमान छ। 

    धरानमा एमाले जित्न सक्छ? विस २०७४ सालको निर्वाचनमा एमालेको उपस्थिति धरानमा बलियो देखिएको थियो। मेयर–उपमेयरसहित २० मध्ये बहुमत १४ वडा नेकपा एमालेले जितेको थियो। कांग्रेसले ४ र माओवादीले १ वडा मात्र जितेका थिए।

    एमाले जिल्ला कमिटी सदस्य नवराज राईका अनुसार; ‘धरान उपमहानगर कमिटीमा मात्रै होइन, सुनसरीको जिल्ला कमिटीभित्र पार्टी अन्तरसंघर्ष ठूलै थियो। गुटले पार्टी कमजोर भयो। कमिटीहरूले पूर्णता नपाएकाले पनि सङ्गठन चलायमान थिएनन्,‘अहिले स्थिति त्यस्तो छैन। पार्टी चलायमान छ। सङ्गठनहरू तल्लो तहसम्म छन् । त्यसले निर्वाचनमा ठूलो सहयोग गर्छ।’

    राईले भने जस्तै विस २०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई राम्रो मत खसेको धरान १७ बाट उपनिर्वाचनताका प्रकाश राईलाई मत खसेन। विस २०७४ सालको निर्वाचन नेकपा माओवादी केन्द्र र नेकपा एमालेको मत करिब ३२०० थियो । नेपाली कांग्रेसले १०३२ मत मात्र ल्याएको थियो।

    तर, उपनिर्वाचन उलटफेर भयो। उपनिर्वाचनमा वडा १७ मा नेकपाको पक्षमा २ हजार २ सय ६५ मत मात्र खस्यो भने कांग्रेसले त्यही वडामा आफ्नो करिब १ हजार मत बढाएर २ हजार २ सय २५ ल्याएको थियो।  

    एमालेबाट मजदुरदेखि पूर्व मेयरसम्मः निर्वाचनको नजिकिएसँगै एमालेमा उमेदवारहरूको चर्चा सुरु भएको छ। एमालेबाट मेयरको आकांक्षीका मजदुर नेतादेखि पूर्व मेयरसम्मको चर्चा रहेको  छ।

    मोतीराज सुनुवार: मजदुर नेताका रूपमा चिनिएका मोतीराज सुनुवार धरानको मेयरमा उठ्ने चर्चा चलिरहेको छ। मजदुर फाँटमा रहेर लामो समय काम गरेका सुनुवार नेकपा एमालेबाट मेयरको उम्मेदवारका रुपमा बलिया देखिएका छन्। 

    उनी सञ्चार उद्यमी समेत रहेका सुनुवार पछिल्लो समय नेकपाभित्र विवाद हुँदा केपी शर्मा ओली समूहबाट केन्द्रीय सदस्य बनेका थिए। एमाले जिल्ला सचिवसमेत रहेर काम गरेका सुनुवार धरानबाट प्रकाशित हुने औजार दैनिकका अध्यक्षसमेत हुन्। संसदीय फाँटमा पार्टीले काम गर्ने मौका दिनुपर्ने भन्दै यतिबेला सुनुवार मेयरको दाबेदारका रूपमा देखिएका छन्।

    धरानमा जातीय समीकरण चुनाव जित्ने मुख्य कारण बन्ने गरेको छ। सुनुवारलाई समेत त्यसले सहयोग गर्ने देखिन्छ। आदिवासी जनजातिको शहर धरानमा उम्मेदवार जनजाति उठाउँदा बढी मत पाउने सम्भावना हुन्छ। यसो हुँदा सुनुवार बलिया दाबेदार हुन्। 

    मञ्जु भण्डारी : नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी मञ्जु भण्डारीको चर्चा पनि मेयरको दाबेदारका रुपमा छ। धरानकी बहालवाला उपमेयर भण्डारीको दाबेदारी समेत पार्टीमा छलफलको विषय बनेको देखिन्छ। 

    पछिल्लो समय देशभरका उपमेयहरूले मेयरमा दाबी गरिरहेका छन्। जिल्ला निर्वाचन कार्यालय सुनसरीले प्रकाशन गरेको ‘स्थानीय तह झलक २०७४’ अनुसार भण्डारी ३५ वर्षको उमेरमा धरानको उपमेयर बनेकी थिइन। भण्डारीले मेयर तारा सुब्बाको निधनपछि डेढ वर्ष कार्यवाहक मेयरका रुपमा समेत काम गरिन्। त्यसैले पनि उनको नाम स्वाभाविक चर्चामा छ।

    मनोज मेन्याङ्बो : विस २०५४ सालमा धरान नगरपालिकाका मेयर मनोज मेन्याङ्बोको नाम पनि यो पटकको निर्वाचनमा चर्चामा छ। विस २०५४ सालका मेयरहरूमा मेन्याङ्वो चर्चित थिए । विस २०७९ सालको स्थानीय तहको चुनावमा समेत उनी दाबेदारका रुपमा चर्चामा छन्। 

    नारायण सुवेदी : नेकपाकालका धरान अध्यक्ष नारायण सुवेदीले आफ्नो दाबेदारी मेयरमा हुने बताएका छन्। १० बुँदे सहमतिका क्रममा तत्कालीन माधव नेपाल समूह छाडेर एमालेमै बसेका हुन् सुवेदी । पार्टी फाँटमा लामो समय काम गरेको भन्दै सुवेदीले मेयरको टिकट पाउनु पर्ने बताउँदै आएका छन् । सुवेदी अहिले एमाले धरान नगर इन्चार्ज छन्। 

    विजय राई : नेकपा एमालेबाट मेयरको दाबेदार अर्का नेता हुन् विजय राई। झलनाथ खनाल प्रधानमन्त्री भएका बेला सचिवालयमा काम गरेका राईको चर्चा मेयरमा छ। 

    एमाले छाडेर अशोक राईले खोलेको पार्टीमा गएका उनी पछि डा. विजय सुब्बा लगायतका नेता नेकपा एमालेमा फर्किँदा सँगै आएका थिए। उनी हाल एमालेको प्रदेश कमिटी सदस्य छन्।

    कांग्रेसमा गुट फ्याक्टरः पाँच दलीय गठबन्धनसहित चुनावमा जाने चर्चासँगै धरानमा नेपाली कांग्रेसभित्र मेयरको चर्चा सुरु भइसकेको छ। गठबन्धन भए पनि धरानको मेयर कांग्रेसले अरुलाई नछोड्ने स्थिति छ। 

    इतिहासमा पहिलो पटक उपनिर्वाचनमार्फत जितेको नेपाली कांग्रेसले आफ्नो नेतृत्वलाई यो पटक पनि निरन्तरता दिने सम्भावना छ। 

    धरानमा नेकपा एकीकृत समाजवादीको उपस्थिति धरानमा राम्रो छैन। त्यसैले नेपाली कांग्रेसले माओवादीलाई उपप्रमुख दिएर प्रमुख पद आफूले लिने आँकलन गरिएको छ। माओवादीलाई उपप्रमुख दिएर मेयर लिँदा समेत नेपाली कांग्रेसभित्र आन्तरिक प्रतिस्पर्धा कडा हुने देखिन्छ।

    उपनिर्वाचनका बेला नेपाली कांग्रेसमा अभूतपूर्व एकता देखिएको थियो। केन्द्रका सबै नेताको ध्यान त्यतिबेला धरानमा थियो। महेश आचार्यलाई नेपाली कांग्रेसले धरान नै बस्ने गरी चुनावी कमान्डर बनाएको थियो । गुटको विवाद उपनिर्वाचनमा देखिएको थिएन।

    तर, धरानमा नेपाली कांग्रेसमा त्यो दृश्य फेरिएको छ। संस्थापन र इतर समूहको ठूलै अन्तरसंघर्ष छ। नेपाली कांग्रेस महाधिवेशनको ‘गुट’ प्रवृत्ति अहिले पनि नेपाली कांग्रेस नेताहरूमा सतहमै देखिन्छ। 

    दोहोरिन खोज्दै तिलक राईः हाल मेयर रहेका तिलक राई फेरि मेयरमा दोहोरिन खोज्दै छन्। उपनिर्वाचनमार्फत आएकाले काम गर्न लामो समय नपाएको भन्दै पार्टीभित्र उनले लविङ सुरु गरिसकेका छन्। तर, गुटकै कारण टिकट नपाउने शंका उनमा छ।

    उनी कोइराला समूहका तिलक राई महाधिवेशनको पूर्वसन्ध्यामा देउवा गुटबाट सुनसरी प्रतिनिधिसभा एक नम्बर क्षेत्रको सभापति उठ्ने हल्ला चल्यो। देउवा समूहले पनि तिलक राईलाई आफ्नो गुटमा भित्र्याएकोमा खुसी नै थियो। तर, तिलक राईलाई देउवा समूहकै किशोर राई पक्षले सहयोग नगर्ने भए। लगत्तै देउवा समूहबाट ब्याक भए।

    त्यसपछि कोइराला समूहबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार भए। जिते पनि। तर, जित पछि भने तिलक राईलाई ढुलमुले चरित्रको भन्ने आरोप पार्टीमा लाग्न थालेको छ।

    किशोर राईः ६ असोज २०५९ असोजमा नेपाली कांग्रेसभित्र विभाजन आयो। गिरिजाप्रसाद कोइरालाले कारबाही गरेपछि शेरबहादुर देउवाले नेपाली कांग्रेस(प्रजातान्त्रिक) गठन गरे। त्यही प्रजातान्त्रिक कांग्रेसको धरान सभापति थिए किशोर राई।

    प्रजातान्त्रिक नेपाली कांग्रेस पृष्ठभूमिबाट आएका किशोर अहिले कांग्रेसभित्रको देउवा समूहमा छन्। उनी मेयरका अर्का सशक्त दाबेदार हुन्। अखिल नेपाल फुटबल संघ (एन्फा) मा लगातार ४ कार्यकाल उपाध्यक्ष भएका राईको दावेदारी मेयरमा बलियो छ।

    विस २०७६ सालमा भएको धरान उपमहानगरको उपनिर्वाचनमा तिलक राईसँगै किशोर राईको समेत चर्चा थियो। तर, २०७४ सालको निर्वाचनमा हारेकाले तिलकलाई नै मेयरको टिकट कांग्रेसले दियो।

    तिलक राईले टिकट पाउँदै गर्दा किशोर राईको पक्षले अन्तर्घात गर्ने डर नेपाली कांग्रेसमा थियो। तर, स्थिति त्यस्तो भएन। धरानमा नेपाली कांग्रेस भित्र असाधारण एकता देखियो। केन्द्रीय नेताहरूको प्रत्यक्ष निगरानीबीच नेपाली कांग्रेसले धरानमा चुनाव जित्यो।

    त्यही चुनाव जिताएको लाभ यो पटक किशोर राईले लिन चाहेका देखिन्छन्। तिलक राईलाई पार्टीले मेयरको लागि २ पटक टिकट दियो। त्यसैले यो पटक आफूले पाउनु पर्ने दाबी किशोर राईको छ।

    नेपाली कांग्रेसको संस्थापन समूहमा रहेका किशोर राईले देउवाको ग्रिन सिग्नल दिएमा टिकट पाउन सक्ने बताईन्छ। उनी भन्छन् ‘मैले धेरै पटक साथीहरूलाई सहयोग गरेको छु। तपाईँहरूले पनि त्यो बुझ्नु नै भएको छ,’ उनले भने, ‘पटक–पटक अरूलाई अघि सारियो, यो पटक मैले पाउनु पर्छ भन्ने माग साथीहरूको पनि छ। मेरो पनि त्यही हो।’

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-२१ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २१ गते शुक्रबार इश्वी सन २०२४ मे ३...

    प्रमुख प्रशासकीय अधिकृत एक सातामै सरुवा भएपछि निसीखोलामा एमालेको तालाबन्दी

    बागलुङ। नेकपा एमालेले बागलुङको पश्चिम निसीखोला गाउँपालिकामा तालबन्दी गरेको छ। एमाले निसीखोला गाउँ कमिटीले गाउँपालिकाका...

    आज बैशाख-२० गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २० गते बिहीबार इश्वी सन २०२४ मे २...

    मोरङ रतुवामाइ कोरोना कहरको राहत सामग्रीको विषय उच्च अदालत पुऱ्यो

    बैशाख-१९, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको डम्पिङ साईडमा कोरोना महामारीको समयमा गरिव...

    साग पसल खोल्दै छुः मिलन लिम्बु

    बैशाख-१८, बुधबार/इलाम – इलाम-२ उपनिर्वाचनका रास्वपाका युवा उमेम्द्वार मिलन लिम्बुले निर्वाचनका समयमा आफुले बोलेका साग...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal