राधा खनाल
काठमाडौं। २०५८ जेठ १९ गते बेलुकी नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनाश भएको थियो। उक्त दरबार हत्याकाण्ड भएको २० वर्ष पूरा भइसक्यो। तर, कसले हत्या गर्यो भन्ने अझै पत्ता लागेको छैन। यसबारेका आशंका र जिज्ञासाहरू मेटिएका छैनन्। बरु, अनेक अनुमान थपिँदै गएका छन्। यसको टुंगो नलाग्नुको कारण हो, अनुसन्धानलाई घटनाको जरोसम्म नपुर्याउनु।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले यसै वर्षको जेठ १९ गते ट्विटरमा मर्मस्पर्शी पंक्ति लेखेका थिए, ‘एक यस्तो हृदयका चोट जसलाई कहिल्यै भुल्न सकिन्न। साथ र सम्बन्धहरू चुँड्ने अधिकार नियतिलाई मात्र रहेछ। अनुत्तरित प्रश्नका उत्तरहरू पाउन अझै समयले कति कोल्टे फेर्नुपर्छ कसैलाई थाहा छैन।’ शाहको यस ट्विटबाट के स्पष्ट हुन्छ भने, उनी तत्कालीन अवस्थामा बनेको छानबिन समितिले गरेको छानबिनमा सन्तुष्ट छैनन्। अनुत्तरित प्रश्नका उत्तर पाउन अझै कति कुर्नुपर्ने हो भन्ने खालको संकेत दिएका छन्। तर, त्यतिबेला उनीसँग प्रशस्त समय हुँदा पनि उनले छानबिनको काम स्पष्ट ढंगले गर्न सकेनन्।
त्यसबेला प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको एउटा टोलीले थियो। सो टोलीले घटनास्थलको अवलोकन र प्रत्यक्षदर्शीहरूको बयान संकलनसमते गर्यो। तर, कुनै निचोड निकालेन। न त त्यसपछि कुनै खोजबिन गरियो। बिडम्बनाको कुरा, राष्ट्राध्यक्षको हत्यासहित त्यति ठूलो शाही संहार हुँदा पनि तत्कालीन संसद्मासमेत बहस भएन। राजनीतिक दलहरू घटनाको गहिराइमा पुग्नै चाहेनन्। प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नयाँ राजाका रूपमा ज्ञानेन्द्रलाई स्थापित गर्नेमै केन्द्रित भए। स्थापित गरेका राजाबाट उनले पछि धोका पाए। पदमुक्त भएपछि उनले त्यो हत्याकाण्डलाई आफूले भन्ने गरेको ‘ग्रान्ड डिजाइन’ को नाम दिए। तर, धेरै खुलेनन्। चाहेनन्।
राजदरबारमा पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो। दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोलीले उडाएको र पछि आफैंलाई गोली हानेको भनेर छानबिन प्रतिवेदन सार्वजनिक गरिए पनि नेपाली नागरिकले त्यसको विश्वास गरेका छैनन्। उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यको गर्भमै छ।
जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ। राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसक्यो। तर उक्त घटनाको नमीठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन। जेठ २२ मा युवराज दीपेन्द्रको पनि मृत्यु भएको घोषणा गरिएसँगै वीरेन्द्रका माइला भाइ ज्ञानेन्द्र राजा बनेका थिए। राजा ज्ञानेन्द्रले राजगद्दी सम्हालेका बेला उनको सरकार लोकप्रिय थिएन। सरकार र राज्यसंयन्त्रप्रति निराशा बढेका कारण राजा ज्ञानेन्द्र १९ माघको कदमसम्म पुगे।
उदार राजाको छवि बनाएका वीरेन्द्रको वंश नाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन। ज्ञानेन्द्र प्रत्यक्ष शासनसत्ता हातमा लिएर तानाशाही बन्न खोजे। त्यसपछि विभिन्न राजनीतिक दलहरूले २०६२/६३ मा दोस्रो जनआन्दोलन चर्काएर नेपाललाई गणतान्त्रिक मुलुक घोषणा गरे। नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि अर्थात् २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र सकियो। र, गणतन्त्र स्थापना भयो। ज्ञानेन्द्र नै नेपालको इतिहासमा अन्तिम राजा बने।
गिरिजाले भनेको ‘ग्रान्ड डिजाइन’ के थियो ? हत्या कसले, किन गर्यो भन्ने यकिन तथ्य त्यो अहिलेसम्म बाहिर आउन सकेको छैन। तत्कालीन सभामुख रानाभाट तथा प्रधानन्यायाधीश उपाध्याय सम्मिलित उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रले नै गोली चलाएको बताए। तर, यथार्थ र सर्वसाधारणले चित्त बुझाउने खालको छानबिन अझै भएको छैन।
हत्याकाण्डलाई जोडेर विभिन्न पुस्तकसमेत सार्वजनिक भए। तर, ती पुस्तकले पनि सो घटनाको यथार्थ विवरण दिन सकेका छैनन्। घटना अझै रहस्यमय छ। पटक–पटक सरकारको नेतृत्व गर्नेहरूले हत्याकाण्ड भएको नारायणहीटी दरबारको प्रांगणमा उभिएर सत्य तथ्य बाहिर ल्याउने आश्वासनसमेत दिए। तर, कसैले पनि कदम चालेन। जसका कारण जेठ १९ नेपाली इतिहासको एक कहालीलाग्दो दिनका रूपमा चित्रित भएर रहिरहेको छ।
हरेक महिनाको तेस्रो शुक्रबार चल्ने भोजका समयमा भएको राजदरबार हत्याकाण्ड ‘अति सुरक्षित’ स्थलमा भएको थियो। यद्यपि, तत्कालीन राजा ज्ञानेन्द्रले जेठ २२ गते बेलुका एक शाही घोषणा गर्दै सो दुःखद घटनाको यथार्थ विवरण जनसमक्ष ल्याउने बताए। र, तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गरे। सो समितिमा तत्कालीन सभामुख तारानाथ रानाभाट र प्रतिनिधिसभाका प्रतिपक्षी दलका नेता माधवकुमार नेपाललाई समेत सदस्य तोकिएको थियो। तर, नेपाल सो समितिमा बसेनन्। उनले तत्काल राजीनामा दिएका थिए।
बाँकी २ सदस्यीय समितिले जेठ ३२ गते प्रतिवेदन बुझायो। २६ गतेदेखि काम सुरु गरेको समितिलाई सुरुमा काम सुरु गरेको मितिले ३ दिन समय दिइएको थियो। पछि फेरि ४ दिन थपिएको थियो। समितिले सम्पूर्ण प्रतिवेदनलाई ३ भागमा विभाजन गरेको थियो। पहिलो भागमा समितिको गठन तथा कार्यप्रक्रिया उल्लेख छ। दोस्रो भागमा घटनासँग सम्बन्धित तथ्य एवम् तथ्यांकहरूको प्रस्तुति र तेस्रो भागमा घटनाको यथार्थ विवरण उल्लेख छ। तर, समितिको प्रतिवेदनले आम स्वीकार्यता पाउन सकेन। अहिले पनि सो घटनालाई षड्यन्त्रको विभिन्न आयामको प्रतिफल मान्नेहरू प्रशस्तै छन्।
‘स्वतन्त्र अनुसन्धान भएको छैन’
दीपेन्द्रलाई दोषी देखाएको उच्चस्तरीय छानबिन समितिको समिति सार्वजनिक भएपछि कुनै स्वतन्त्र अनुसन्धान भएको छैन। तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको दोस्रो मन्त्रिपरिषद्मा गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका विमलेन्द्र निधिले दरबार हत्याकाण्डको छानबिन गर्नुपर्ने कुरा उठाएका थिए। राजगद्दीबाट फालिएपछि पनि ज्ञानेन्द्रले राजनीतिक वक्तव्य दिन नछाडेको प्रतिशोधमा निधिले छानबिनको कुरा उठाए। तर, त्यो कुरा अगाडि बढेको छैन। निधिले भने, ‘मैले यस विषय संसद्मा पनि एकपटक कुरा उठाएको थिएँ। त्यतिबेला मैले यस विषय उठाउँदा राजावादी जस्तो पनि आरोप लगाइयो। यो त घट्ना घटाउने व्यक्ति सार्वजनिक नगरिँदासम्म छानबिन गर्न सकिने विषय हो।’
त्यस्तै, पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले हत्याकाण्ड भएको २० वर्ष पुग्दाको दिनमा सामाजिक सञ्जालमा टिवट् गर्दै राजदरबार हत्याकाण्ड अझै रहस्यमै रहनु लाजमर्दो भएको टिप्पणी गरेका थिए। ‘राजा वीरेन्द्रको वंश नाश भएको नारायणहिटी हत्याकाण्डको २० वर्ष भइसक्दा पनि त्यसबारे सत्यतथ्य स्थापित हुन नसक्नु र आरोप प्रत्यारोपको शृंखला चलिरहनु हाम्रो लोकतान्त्रिक गणतन्त्रका निम्ति शोभनीय हैन,’ डा. भट्टराईले भन्छन्, ‘राष्ट्रिय सहमतिले उच्चस्तरीय र निष्पक्ष छानबिन आयोग गठन गरी यो रहस्य सदाको निम्ति अन्त्य गरौं।’
तत्कालीन राजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणि पाठकले छानबिनको बाहानामा राजनीति गर्ने दलहरूले दरबार हत्याकाण्डको विषयलाई मसला बनाएको बताए। ‘दीपेन्द्रले वीरेन्द्रलाई मारेर आफू राजा हुन खोज्या हो। त्यो एउटा दरबारको परिवारभित्रकै परिस्थितिले निर्माण गरेको कुरा हो। जुन सारा नेपाली र विश्वलाई पनि प्रष्ट थाहा भइसकेको छ,’ पाठकले भने, ‘छानबिन समितिले गरेको प्रतिवेदन पनि सार्वजनिक भइसकेको छ।’ दरबारभित्रका जिउँदा मान्छेले बोलेको कुरा मान्य नहुने ? भन्दै उल्टै प्रश्न गर्छन्। भन्छन्, ‘राजनीतिक दलहरूले राजनीति गर्नका लागि छानबिनको प्रयास गर्न खोजिरहेका छन्। यद्यपि, छानबिन गर्न कसले रोकेको छ ? छानबिन गरेर तपाईंहरूको हिसाबले सत्यतथ्य बाहिर ल्याउनुहोस्।’
छानबिन आयोगका सदस्य तारानाथ रानाभाटले भने उक्त हत्याकाण्डको विषयमा कुनै प्रतिक्रिया दिन आवश्यक नरहेको बताए। ‘जो जुन हिसाबले सत्तामा पुगे के बनाउन खोजे भन्ने बोल्नै सकिँदैन। यसका विषयमा हाम्रो समूहले छानबिनको प्रतिवेदन बुझाएको जनतालाई थाहा छ,’ उनले भने, ‘के भएको थियो भन्ने कुरा विभिन्न पुस्तकमा पनि छरपष्ट छ। अहिले दरबार जस्तो ऐतिहासिक विषयलाई भद्दा मजाक बनाएर होटल रेस्टुरेन्ट खोल्न लागिएको भन्ने सुनेको छु। यति नै देख्न बाँकी थियो। अरू बिषयमा मेरो बोल्नु केही छैन।’
‘कुनै फौजदारी अभियोगको अनुसन्धान गर्ने, मुद्दा चलाउने र फैसला गर्ने अधिकार त हाम्रो होइन। त्यो आयोग, घटनास्थलको प्रकृति, विवरण र त्यहाँ रहेका मानिसको के भनाइ छ भन्ने कुरा बुझ्न प्रतिवेदन बनेको थियो। हामीलाई त्योभन्दा बढी अनुसन्धान गर्ने अधिकार दिइएको थिएन,’ छानबिन समितिसँगै काम गरेका एक व्यक्तिले भने, ‘फौजदारी अभियोग कसले गर्यो, किन गर्यो, के उद्देश्यले गर्यो भनेर मुद्दा चलाउने जिम्मेवारी राज्यको हो। त्यतिबेला पनि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नै हुनुहुन्थ्यो। सरकारले किन गरेन, के कारणले गरेन, उसले जवाफ दिने कुरा हो।’
त्यतिबेलाको संविधानमा राजा र प्रधानमन्त्रीमा अधिकार थियो। राजा नभएपछि पूरै अधिकार प्रधानमन्त्रीमा थियो। त्यतिबेला पनि आफूले प्रधानमन्त्रीलाई ‘तपाईं नै हो अब, संसद्को बैठक बोलाउनुहोस्’ भनेर साथीहरूबीच भनेको बताए। उनले भने, ‘प्रधानमन्त्री गिरिजाले ‘होइन, यो झन्झटतिर नलागौँ’ भनेर भनेका थिए।’
‘अल्झनमा यो विषय’
नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङ यस विषयमा बोल्न केही कुरा नै नरहेको बताए। ‘यो विषयमा बोल्ने कुरा नै केही छैन। नेपालमा दरबार हत्याकाण्ड मात्र हैन, धेरै विषय यस्ता छन्, जुन पार्टीहरूको नजर अन्दाजमा परेका छन्,’ उनी भन्छन्, ‘प्रष्ट भन्दा यो दलहरूको प्राथमिकतामा नपरेकै हो।’
त्यस्तै, नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले दरबार हत्याकाण्डको छानबिन अँध्यारोमा तीर खेलाउने खालको मात्र भएको बताए। ‘विश्वकै परिदृश्य हेर्दा पनि ठूल्ठूला हत्याकाण्डहरू सयौं वर्षपछि पनि हत्यारा पत्ता लागेका छन्। दरबार हत्याकाण्ड, दासढुंगालगायतका यस्ता ठूला घटनामा आग्रह पूर्वाग्रह छाडेर जनताले खोजेको यर्थाथता खोज्न दलहरू लाग्नुपर्छ,’ केसीले भने, ‘अझै पनि केही ढिला भएको छैन। दुर्घटना भएकै हो। उच्चस्तरीय छानबिन समिति बनाएर घटनाको छानबिन गर्न तर्फ दलहरू लाग्नैपर्छ।’
घटना भएको यतिका समयसम्म यस विषयमा चासो नदेखाउनुले दलहरूकै कमजोरी भएको बताउँछन्, नेकपा माओवादीका नेता देव गुरूङ। ‘सरकारले गर्न चाह्यो भने आयोग बनाएर छानबिन गर्न सक्छ। राजनीतिक दलहरूले गर्नैपर्ने विषयअन्र्तगत यो विषय पनि हो। अबको नयाँ पुस्ताले पनि प्रश्न उठाउने ठाउँको अवस्थामा यो घटना छ।’
संग्राहलय बन्यो राजदरबार
हत्याकाण्ड लगत्तै तत्कालीन राजा ज्ञानेन्द्रको निर्देशनमा घटनास्थल त्रिभुवन सदनलाई भत्काउन लगाइएको थियो। हत्याकाण्डको खास रहस्य पत्ता लगाउन नसकिए पनि नारायणहिटी संग्रहालयले त्रिभुवन सदनको पुनर्निर्माण गरेको छ।
उक्त घटनास्थलको स्मरण गराउन सो सदन निर्माण गरिएको हो। र, संग्रहालयका रूपमा संरक्षण गरिएको छ। अहिले सिंगो नारायणहिटी दरबारलाई संग्राहलय बनाइएको छ। गत वर्षदेखि राजाले लगाउने गरेको श्रीपेचका साथै सुनको राजदण्डसमेत सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको छ।