News Portal

ग्रिस छिर्न खोज्दा ज्यान गुमाउँदै नेपाली

हिमालीसंचार संवाददाता
३९६ पटक

ग्रिस। टर्कीबाट अवैध रूपमा ग्रिस छिरेपछि फकाईएका मध्ये १९ जनाको शव सीमाछेउमा भेटिएको एक साता भइसक्दा पनि सनाखत हुन सकेको छैन। सीएनएनको वेबसाइटमा गत बिहीबार प्रकाशित समाचारका अनुसार व्यापक हिमपात भएकाबेला ग्रिसबाट फर्काइएकाहरूको अत्यधिक चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो।

गैरआवासीय नेपाली संघ टर्कीका अध्यक्ष उज्ज्वल कुमार घिसिङका अनुसार उक्त घटनामा नेपाली पनि परेको आशंका गरिएको छ। संगठित मानव तस्करको फन्दामा परेर टर्की पुग्ने र त्यहाँबाट जटिल भौगोलिक अवस्था भएको स्थलमार्ग छिचोल्दै ग्रिस छिर्न खोज्नेहरूमा दर्जनौं नेपाली हुने गरेका छन्।

बंगलादेशी प्रवासी फोरम नामक फेसबुक पेजमा रियाज नामका बंगलादेशीले आफूसहित नेपाली, पाकिस्तानी र केही अफ्रिकीलगायत करिब ५० जना टर्कीबाट अवैध रूपमा ग्रिस प्रवेश गरेलगत्तै सीमा सुरक्षा अधिकारीले पक्राउ गरेको उल्लेख गरेका छन्। उनले भिडियोमा भनेका छन्, ‘सबैलाई प्रहरीले थुनामा राख्यो। खान पनि दिएन। जुत्ता र बाक्लो कपडा खोलेर चड्डी र बनियानसहित सीमावर्ती नहर कटाएर छोडिदियो।’ उनले टर्की फर्किने क्रममा १९ को मृत्यु भएको जनाएका छन्।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले गत बिहीबार घटनाबारे सार्वजनिक अभिव्यक्ति दिँदै प्रत्येक पल्ट ग्रिसले आप्रवासीलाई गैरकानुनी तरिकाले बलपूर्वक फिर्ता पठाउने गरेको वासिङ्टन पोस्टले उल्लेख गरेको छ। टर्कीका आन्तरिक मामिलामन्त्रीका अनुसार सीमावर्ती क्षेत्रमा भेटिएकाहरू जुत्ताविहीन र कपडाविहीन अवस्थामा भेटिएका छन्। एकजनालाई जीवितै उद्धार गरिएपनि तिनको अस्पतालमा मृत्यु भएको र मृतकहरू कुन देशका हुन् भन्ने नखुलेको ती मन्त्रीको भनाइ छ।

गैरआवासीय नेपाली संघ टर्कीका अध्यक्ष घिसिङले ४२ जना डिपोर्ट भएकामा ८ जना नेपाली रहेको सूचना आफूहरूले पाएको बताए। ‘आठमध्ये ७ नेपाली टर्की फर्केको जानकारी छ। एक जना नेपालीको अवस्था अझैसम्म थाहा हुन सकेको छैन,’ उनले भने। ज्यान बचाएकाहरूले दिएको जानकारीअनुसार फर्कने क्रममा बाटामा हिउँ जमेकाले अत्यन्त चिसो थियो। ग्रिस प्रहरीले धेरैको जुत्ता र ज्याकेटसमेत खोसिदिएको थियो।

‘बिरामी दुईमध्ये एक जनालाई बोकेर ल्याइएपनि एक जना बाटोमै छुटेको भनिएको छ। तिनको अवस्था अज्ञात छ,’ घिसिङले भने। बाटैमा छुटेका नेपाली कैलालीका दिव्यदेव अवस्थी रहेको जनाइएको छ। अवस्थीका भिनाजु वीरेन्द्रराज जोशीले ७ जना हिमपात र चिसो छल्दै टर्कीको इस्तानबुल आइपुगेकामा र आफ्नो सालो बाटोमै छुटेर बेपत्ता भएको जानकारी आएको बताए।

जोशीका अनुसार अवस्थी गत दसैंअघि सिनामंगलको मिट्टा इन्टरनेसनल मेनपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएर टर्की पुगेका थिए। परिवारका सदस्यहरूका अनुसार मिट्टाले त्यति बेला ८ जनालाई टर्की पठाउने तारतम्य मिलाएको थियो। उनीहरूले जनही ७ देखि ८ लाख रुपैयाँसम्म खर्च गरेको पाइएको छ। उनीहरूले ग्रिस छिर्न जनही तीन लाख रुपैयाँ संगठित मानव तस्करका सदस्यहरूलाई बुझाएको देखिन्छ।

गत कात्तिक २५ मा पनि ग्रिसको राजधानी एथेन्सबाट ५ सय २ किलोमिटर पूर्वको सीमावर्ती क्षेत्रमा भएको कार दुर्घटनामा ४ नेपालीसहित ७ आप्रवासीको ज्यान गएको थियो। मानव तस्करको सहयोगमा टर्कीबाट ग्रिस छिर्न खोज्ने क्रममा सीमा सुरक्षाकर्मीलाई छल्न तीव्र गतिमा गाडी कुदाएका बेला भएको उक्त दुर्घटनामा भएको थियो। दुर्घटनामा मृत्यु भएका नेपालीको शव नेपाल पठाएको भोलिपल्ट १९ जना आप्रवासीको शव भेटिएको हो।

गैरआवासीय नेपाली संघ टर्कीका अध्यक्ष घिसिङले पछिल्ला वर्षमा टर्कीबाट मानव तस्करको सहयोगमा जोखिमपूर्ण तरिकाले ग्रिस छिर्न खोज्ने नेपालीको संख्या बढ्दै गएको बताए। उनका अनुसार गत साताको घटनाबारे अस्ट्रियाको भियनामा रहेको नेपाली कन्सुलेट र पाकिस्तानस्थित नेपाली दूतावासमा अनौपचारिक जानकारी गराएको छ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी प्रमुख टेकप्रसाद राईले उक्त घटनाबारे आफूहरूले थाहा नपाएको र घटनामा नेपाली परेको विषयमा कोही पनि सम्पर्कमा नआएको कान्तिपुरमा समाचार छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...