माथिल्लो तामाकोसीको उत्पादन दिउँसोभन्दा साँझ–बिहान बढी

दोलखा। दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा रहेको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उत्पादन दिनमा भन्दा साँझ-बिहानमा बढी हुने गरेको छ।
साँझ-बिहानमा विद्युत् माग बढी हुने भएकोले दिनमा भन्दा बढी साँझ, बिहानको समयमा विद्युत उत्पादन हुने गरेको आयोजनाका प्रशासन वरिष्ठ प्रमुख मित्रमणि पोखरेलले जानकारी दिए। उनका अनुसार बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ६ बजेदेखि १० बजेसम्म ३५० मेगावाटसम्म उत्पादन हुन्छ।
दिनमा ३० देखि ४० मेगावाट मात्र उत्पादन हुने गरेको छ। दिनमा भन्दा रातमा विद्युत् खपत हुने गरेकाले ६ वटै युनिटमा उत्पादित विद्युत मागअनुसार उत्पादन गरिएको प्रशासन वरिष्ठ प्रमुख पोखरेलले जानकारी दिए।
मङसिरदेखि जेठसम्म सुक्खा समयमा पानीको सतह घट्दै जाने हुँदा पिक आवरबाहेक उत्पादन घट्नु स्वाभाविक रहेको उनको स्पष्टोक्ति छ।
















