आज : २०२६-०६-०८, सोमबार

म लडेको देखेर, दुश्मन पनि खुब रमायो!

गजल

म लडेको देखेर दुश्मन पनि खुब रमायो,
हाँस्न पो पायो, भन्नुस् त, अरु त के पायो?

डाक्टर संग उधारो मागेर लिएको थिएँ,
सिरानीमा ओखती थियो कसले खायो?

आउछु नभनि आयो, सुस्तरी चालमारेर,
गाजा-बाजा नबजाई दशा डौडेर आयो।

इमर्जेन्सी वार्डमा म छट्पटीरहेकै बेला,
मलाई कुर्ने साथी हस्पिटल भित्रै निदायो।

चोटले प्रतियोगिता राख्थ्यो बेलाबेलामा,
दुःख पाउनु रै’छ यो कालले पनि बचायो।

इन्द्र कुमार राई “कोयी”
सुङदेल -७, केपिलासगढी पालिका, खोटाङ