आज : २०२६-०६-०८, सोमबार

‘बहिनी सम्झिने ती दाइहरू कहाँ छन् ?’

मखमली फुले सयपत्री फुले जाईहरू कहाँ छन्
तिहार लाग्यो सेलरोटी पोल्ने ताइहरू कहाँ छन् ?

चाड पर्वले निमन्त्रण गरी बाटो कुरेको यो बेला
मुग्लानबाट फर्की आउने ती भाइहरू कहाँ छन् ?

बाल्यकालकै याद ओढी शरद खुलेको यो बेला
माइतीघराँ गोठालो लाग्ने ती गाईहरू कहाँ छन् ?

उसबेला सम्झि मनमा ढुकढुकी बढेको यो बेला
भैलेनी गाउँदै भेल पारेका ती पाईहरू कहाँ छन् ?

धपक्कै पानस झझल्को बोकी जलेको यो बेला
टीका लगाई पँधेरी धाउने ती साइहरू कहाँ छन् ?

रित्तो निधारमै परदेशीहरू टोलाईरहेको यो बेला
खाडीबाटै बहिनी सम्झिने ती दाइहरू कहाँ छन् ?

– प्रथा
काठमाडौँ, नेपाल।