News Portal

प्रधानमन्त्री भन्छन्, ‘अपराधी पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्छ’

हिमाली संचार संवाददाता
७०६ पटक

निर्मला पन्तको हत्या प्रकरणमा संलग्नलाई दुई महिनासम्म पक्राउ गर्न नसकेपछि चौतर्फी आलोचना खेपेका प्रधानमन्त्री केपी ओलीले दोषी पत्ता लगाउन १२ वर्ष पनि लाग्न सक्ने प्रतिक्रिया दिएका छन् ।

पन्त प्रकरणले सरकारको मात्रै नभई पार्टीकै छवि धूमिल बनाएको भन्दै आफ्नै पार्टीका शीर्ष नेताहरूबाट आलोचना सुरु भएपछि नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ रहँदा पत्रकार सूर्य थापासँगको टीभी अन्तर्वार्तामा १२ वर्षअघिका अपराधमा संलग्नहरू अहिले पत्ता लागिरहेको प्रसंग जोड्दै पन्त प्रकरणमा पनि त्यस्तै हुन सक्ने बताएका हुन्।

कञ्चनपुरकी १३ वर्षीया पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो। अनुसन्धानका लागि सरकारले थुप्रै तहमा टोली खटाए पनि परिणाम निस्कन सकेको छैन।

ओलीले भनेका छन्, ‘मुसाले चामलको बोरामा प्वाल पार्‍यो रे भन्यो भने ल यस्तो सरकार, मुसाले चामलको बोरामा प्वाल पारून्जेल के हेरेर बस्यो? नालायक सरकार भनेर कराउने? यो खालको राजनीतिक संस्कृति जुन छ, यो एकछिनका लागि हो। दयालाग्दो संस्कृति हो। यसलाई संस्कृतिका रूपमा उठाउन खोजेका छन्। केही अर्थ छैन।’

‘कसैको संलग्नता ढाकछोप गर्ने प्रयासस्वरूप अपराधी पत्ता लगाउन अलमलिएको हुन सक्छ तर सबै ठाउँमा पत्ता नलागेको छैन,’ प्रधानमन्त्री ओलीले निर्मलाको बलात्कार र हत्या प्रकरणबारे सोधिएको प्रश्नमा भनेका छन्, ‘अपराधी पत्ता लगाउने कुरामा नेपाल प्रहरी अगाडि नै छ। १२ वर्षअगाडिका अपराध अहिले पत्ता लागिरहेका छन्। यस्ता घटना पत्ता लाग्न कहिले–कहिले १२ वर्ष पनि लागन रहेछ।

अपराधी जोगाउन र ढाकछोप गर्न सरकार नलागेको उल्लेख गर्दै ओलीले कुनै पनि संगठनमा, संस्थामा, राज्यमा, निकायमा शतप्रतिशत मान्छे ठीकै छ भन्न नसकिने बताए। ‘त्यस्तो मान्छेको पनि घुसपैठ हुन सक्छ,’ ओलीले भने, ‘तर राज्यका तर्फबाट त्यस्तो भइराखेको हैन र राज्य त्यस कुरामा गम्भीर छ।’

ओलीले यस्ता घटनालाई राजनीतिक हतकण्डाको विषय बनाइएको भन्दै असन्तुष्टि प्रकट गरे। ‘यस्ता घटना राजनीतिक हतकण्डाका कुरा वा राजनीतिक विषय बनाउने कुरा वा भनौं राजनीतिक दाउपेच, उछिनपाछिनका कुरा होइनन्,’ ओलीले भनेका छन्, ‘हरेक व्यक्तिका पछाडि प्रहरी हुँदैन।

अपराधकर्मको मनोवृत्तिलाई कम गर्न सकिएन र त्यस्ता मनोवृत्तिलाई हौस्याउने खालका काम भयो भने त्यो दु:खद कुरा हुन्छ। सरकारले पत्ता लगाउन सकेन होला किनभने अपराध गर्नेले सूचना त दिएको हुँदैन। दसी छोडेको हुँदैन।’

यसअघि गृहमन्त्री रामबहादुर थापाले पनि विभिन्न अनुसन्धानबाट दोषी पत्ता लाग्ने संकेत नमिलेपछि बलात्कारको घटना बढ्नुको मुख्य कारण ‘पुँजीवाद’ लाई औल्याउँदै राज्य संयन्त्रको कमजोरी ढाकछोप गर्न खाजेका थिए।

प्रधानमन्त्री ओलीले अनुसन्धानका अनेक कदम चालिए पनि दोषी पत्ता लगाउन नसकिएको घुमाउरो शैलीमा स्विकारेका छन्। ‘आलोचना आफ्नो ठाउँमा होला, घटनाको राम्ररी अनुसन्धान गरेर खोज्न र पत्ता लगाउन सरकार क्रियाशील छ,’ उनले भनेका छन्, ‘त्यसका निम्ति अनेकौं स्टेप पनि चालिएका छन्।

त्यहाँका मान्छेहरू (तत्कालीन प्रहरी–प्रशासनका अधिकारी) बोलाउने र अरू थप पठाउने, थप खोज–अनुसन्धान गर्ने, बाहिरी र भित्री रूपमा अनुसन्धान गर्ने काम भएका छन्। तर त्यसमा सरकार ठ्याक्कै सफल भयो भन्न म सक्दिनँ। किनभने दोषी यकिन भइसकेको छैन।’

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...