आज : २०२६-०६-०५, शुक्रबार

धरानको वीपीमा जारी आन्दोलनको समर्थन गर्दै पाँच विद्यार्थी संगठनद्वारा प्रधानमन्त्रीलाई बुझाए ज्ञापन पत्र

धरान  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जारी आन्दोलन प्रति सत्तारुढ दल सम्बद्ध पाँच विद्यार्थी संगठनले उक्त वेथिति विरुद्धको आन्दोलनको समर्थन जनाउँदै प्रधानमन्त्री सेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् ।

सत्तारुढ दल सम्बद्ध विद्यार्थी संगठनहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै धरानको प्रतिष्ठानमा भईरहेको बेथिति र भ्रष्टाचार बढेकाले पदाधिकारीलाई पदमुक्त गर्न माग समेत गरेका छन् । प्रतिष्ठानको सुद्धिकरणको माग गर्दै चिकित्सक, कर्मचारी, विद्यार्थी र नर्सले गत असार १ गतेदेखि आन्दोलन जारी राखेका छन् ।

विद्यार्थी संगठनका नेताहरूले पदाधिकारीको गतिविधि, भ्रष्टाचार अनि बेथितिले पठनपाठनसँगै स्वास्थ्य उपचार प्रभावित भएको भन्दै तत्काल ठोस कदम चाल्न पनि उनीहरूले प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्री भेट्न पुगेका सत्तारुढ गठबन्धन निकट नेपाल विद्यार्थी संधका अध्यक्ष राजीव ढुङ्गाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ र अखिल छैठौंका अध्यक्ष विमल पोख्रेलले त्यस्तो माग राखेका हुन् ।

प्रधानमन्त्रीले आफू प्रतिष्ठानको विषयमा गम्भीर भएको बताएका थिए । देउवाले प्रधानमन्त्री कार्यालयका सचिव डा. वैकुण्ठ अर्यालको संयोजकमा आएको ९ जनाको टोलीले बुझाएको प्रतिवेदनबारे थप छलफल हुने समेत बताएको संगठनको टोलीले जनाएको छ ।