आज : २०२६-०६-०८, सोमबार

=== गजल ===

– लोकेन्द्र बोहरा परिवर्तन

जिन्दगी बिग्रेको दाउ हो थाहा छ कि छैन
बच्चा भोलिको बाउ हो थाहा छ कि छैन

राजधानीले सधै बझाङलाई हेप्ने गरेपनि
जयपृथ्वी जन्मेको ठाउ हो थाहा छ कि छैन

घाइते बाघले कुनैबेला पनि झम्टिन सक्छ
मेरो त केवल सुझाउ हो थाहा छ कि छैन

तितो अतित भुल्ने कोसिस नगरेको होइन
बेला बेला दुखि रहने घाउ हो थाहा छ कि छ‌ैन

पापी समय परिवर्तनको नजिक पुगेको छ
त्यो सहर हिजोको गाउँ हो थाहा छ कि छैन

बित्थड चिर गाउँपालिका 3
बझाङ