News Portal

थुलुङ राई भाषाको पठनपाठन शुरु, समुदायको सहयोग नहुदा थप चुनौति

“भाषा कक्षा सञ्चालन गर्नुपर्छ भनेर व्यक्ति र संस्थाहरुले भने पनि व्यावहारिक रुपमा भने खासै सहयोगको भावना छैन” - निर्कुधन राई

हिमालीसंचार संवाददाता
४४४ पटक

काठमाडौ – प्रदेश नं. १ का जिल्ला सोलुखुम्बु र खोटाङमा थुलुङ भाषाको पठनपाठन भइरहेको छ । विस २०७५ सालमा शुरु गरिएको थुलुङ-भाषा प्रदेशका दुई जिल्लाका १५ वटा सामुदायिक विद्यालयहरुमा तीन कक्षासम्म पठनपाठन भइरहेको छ ।

प्रदेश नं. को सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोसी गाउँपालिकाको १० वटा सामुदायिक विद्यालय र खोटाङ जिल्लाका ५ वटा सामनदायिक विद्यालयहरुमा थुलुङ भाषाको पठनपाठन भइरहेको थुलुङ राई संस्कृति प्रतिष्ठानका अध्यक्ष निर्कुधन राई (थुलुङ) ले जानकारी दिए ।

अध्यक्ष राईका अनुसार आगामी शैक्षिक सत्र विस  २०७८–७९ सालमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको थप तीन वटा सामुदायिक विद्यालयहरुमा पनि थुलुङ भाषाको कक्षा सञ्चालन गर्ने योजना छ । 

स्थानीय भाषालाई संरक्षण गर्ने उद्देश्यले थुलुङ राई संस्कृति प्रतिष्ठानले थुलुङ भाषाको कक्षा सुरु गरेको हो। सामुदायिक विद्यालयको पाठ्यक्रममा स्थानीय भाषालाई समेट्न नेपाल सरकार तथा स्थानीय सरकारले बनाएको नीति तथा मापदण्ड अनुसार नै अभ्यास गरिएको अध्यक्ष राईको भनाइ छ । 

भाषालाई पाठ्यक्रमको रुपमा राखेर विद्यालयमा सञ्चालन गर्न सुरुआती अवस्थामा भने समस्या रहेको राई बताउँछन् । भाषा कक्षा सञ्चालन गर्नुपर्छ भनेर केही संस्था तथा व्यत्तिहरूले भने पनि व्यावहारिक रुपमा भने खासै सहयोगको भावना नदेखिएका कारण गाह्रो भएको राईले बताए । 

बजेट अभाव हुँदाहुँदै पनि चन्दाबाट रकम संकलन गरी पहिलो वर्ष कक्षा १ का लागि पाठ्यक्रम तयार पारी पठनपाठन सुरु गरिएको थियो । दोस्रो वर्ष कक्षा २ र कक्षा ३ को पाठ्यक्रम निर्माणका लागि थुलुङ दुधकोशी गाउँपालिकाबाट १५ लाख रुपैयाँ प्राप्त भयो । 

अध्यक्ष राई भन्छन्, ‘कक्षा २ को पाठ्यक्रम निर्माणका लागि १० लाख र ३ कक्षाका लागि ५ लाख रुपैयाँ पालिकाले आर्थिक सहयोग गरेको थियो ।’

कक्षा ५ सम्म भाषा पढाउने उद्देश्यअनुरुप अहिले कक्षा ४ र ५ को पाठयक्रम निर्माण तथा लेखन कार्य कसरी गर्ने भन्ने विषयमा अभ्यास भइरहेको छ। गाउँसभाबाट विनियोजित रकमले शिक्षकलाई तलबको व्यवस्था गरिएको राईको भनाइ छ । 

स्थानीय भाषालाई संरक्षण गरी थुलुङ समुदायको पहिचानलाई कायम राख्दै पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले सामुदायिक विद्यालयहरूमा भाषा कक्षा सञ्चालन गरिएको वीरेन्द्रोदय माध्यमिक विद्यालय मुक्ली सोलुखुम्बुका प्रधानाध्यापक दिलकुमार राई (थुलुङ) ले बताए ।

उनले भाषा कक्षा सञ्चालन हुनु भनेको स्थानीय आवश्यकता र स्थानीय स्रोत सामग्रीलाई परिचालन गरी अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्नु पर्ने बताए । मौखिक रुपमा बोलिने भाषा हराएर जाने र लिखित भएमा भाषालाई जीवित राख्न सकिने  प्रधानाध्यापक राईको भनाइ छ । 

उनी भन्छन्, ‘विद्यार्थीहरू सानै उमेरका भएका कारण भाषाको महत्व थाहा नपाए पनि उनीहरूलाई भाषासम्बन्धी ज्ञान दिँदै जान सकेमा भविष्यमा उनीहरूले भाषाको महत्व बुझेर जगेर्ना गर्नतर्फ लाग्ने छन् ।’ आधुनिकताले सबै कुरालाई आकर्षण गरिरहेको समयमा भाषा पनि लोप हुँदै गएको थुलुङ राई संस्कृति प्रतिष्ठानका अध्यक्ष निर्कुधन राई बताउँछन् । 

आधुनिकतासँगै भाषा लोप भएर अबको २०–३० वर्षपछि ‘थुलुङ भाषा’ के हो भन्ने प्रश्न उठ्न सक्ने उनको भनाइ छ । मानव सभ्यतामा जब भाषा मर्छ, उक्त समुदायले विरासतको रुपमा आर्जन गरेका इतिहासका कुराहरू हरेक कुराको अस्तित्व हराएर जान्छ,’ अध्यक्ष राई भन्छन्, ‘पहिचान र अस्तित्व नै गुमेपछि मानिस अनि नाम मात्र रहेर के गर्ने ?’ 

पहिचान र इतिहासलाई संरक्षण गर्न पुर्खाहरूको सम्मान गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न आवश्यक रहेको अध्यक्ष राई बताउँछन् । आधुनिकताको नाममा संस्कार र संस्कृति बिर्संदै गएको युवापुस्तामा विदेशी भाषा जानेमा सबैथोक जानेको छु भन्ने अहम् थुलुङ समुदायमा पनि देखिएका कारण मातृभाषा जोगाउन चेतना कम पाइएको राईको गुनासो छ । 

राई भन्छन्, ‘अङ्ग्रेजी भाषा सिक्ने सिकाउने जमानामा स्थानीय भाषाको कक्षा किन सञ्चालन गर्ने ? भन्ने प्रश्न पनि नआएको होइन, तर बुझ्नेले बुझेका छन् ।’ ओखलढुङ्गा जिल्लाको कुइविरमा भाषाको पठनपाठन हुँदै आएको भए पनि विद्यार्थी सङ्ख्या कम भएपछि पठनपाठन स्थगित गर्नुपरेको अध्यक्ष राईले बताए । 

कक्षा ३ सम्म पठनपाठन भइरहे पनि खर्च कसरी व्यवस्थापन गर्ने र कक्षा ४ र ५ को पुस्तक कसरी प्रकाशन गर्ने समस्या रहेको उनले बताए । आफ्नै समुदायले पनि सकारात्मक रूपमा नलिइदिँदा चुनौती थपिएको अध्यक्ष राई बताउँछन् । 

अहिले सञ्चालन गरिएको भाषा कक्षाले भावी पुस्तालाई आफ्नो संस्कार, संस्कृति साथै इतिहास बुझ्न टेवा पुर्‍याउने बताउँदै भाषा संरक्षणका लागि व्यक्तिले मात्र सम्भव नहुने भएकाले समुदाय सचेत रहनुपर्ने उनले बताए । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...