News Portal

भूमध्यरेखामा कित्ताकाट

हिमालीसंचार संवाददाता
४९४ पटक

✍ प्रथा

यो सिकिस्त आकाशबाट
समय लडेर
मनका साँगुरा कुलेसाहरूमा
आँसु बगिरहँदा
अपरिचित बादलका डिहीहरूबाट
किन रसाइरहन्छन्
तिम्रो बस्तीका बलेसीसम्म
यो धर्तीका सारा सिमान्त खुसीहरू ?

नुन अर्कैलाई बेचेर
गलिरहेको यो विलिनो पहाडमा
भोकले लोलाएका सानीकान्छीहरूको
जोवनका भीरफूलहरूमा
किन सलबलाउँछ— यो गवारो ?
र सुत्ले मकैका घोगाजस्तै उमङ्गहरू
किन पोटाइरहन्छन्
तिम्रो भूगोलका हरितगृहहरूमा ?

मनको मजेत्रो च्यातिएर
सपना सबै नाङ्गिएपछि
एक्लै आँखा छोपी रोइरहेको गाउँमा
किन चिसिन्छन्
देश-प्रेमका तीनमुखे चुलाहरू ?
किन फुट्छन्
विश्वासका पेटारी बयामहरू ?
र किन चुँडिन्छन्
मदानीका सारा आदिबाशी नेतीहरू ?

हरियो लग्गीको टुप्पामा
भीमदत्तको आलो टाउको उनेर
यी नीलगिरिका शिरहरूमा पहिरो नचाउँदै
किन आउँछ
यो रैथाने आतङ्क घरीघरी
र चर्काएर जान्छ— मेरो बाँसुरी मन ?

ए कटुवालदाइ !
खै किन तर्न सकेनौं हामीले
भीरजस्तै जिन्दगीका तुइनहरू ?
खै कुन खोरियामा धाँजा फाटिरहेछ
झोडेनी ठूलीले पिरती लाएको तन्नेरी मङ्सिर ?
खै कहाँ छन् आज
उत्तरघरे बाबैले जमरा सिउरिदिएका दशैँहरू ?

भन न ए डफेदारदाइ !
कुन केचनामा धमिलिरहेछ
डण्ड्रा मामुले बगाएको पसिनाको सुगन्ध ?
कुन खोरमा थुनिएको छ
जमदार काकाले तान्न नभ्याएको सपनाको बिँडी ?
र कुन झरनामा जमिरहेछ
दैया दिदीले आधा गाएको गीतको बाँकी भाग ?

इतिहासको कुर्कुच्चाले कुल्चिएको
हर्की नानाको किराँती अनुहारमा
यो देशको मानचित्र
यदि तिमी भेट्दैनौ भने
जरुरी छैन पारुहाङलाई
“श्रीमान् गम्भीर नेपाली…” लोरी गाइरहन !

पुटुर सँगसँगै दूध चुसाएर
आफैँले हुर्काएको
बङ्गुरको छक्कड बुच्चो
र भरत शर्माको हस्ताक्षर टाँसिएको
निरक्षर नागरिकता
गुदुनी चमारले बजारमा तौलिन् भने
मूल्यको घनत्व,
खोई कुनमा चाहिँ बढी हुँदो हो ?

ओ चौतारियाहरू हो !
यो भुइँमा अन्तिमपटक
बुदनासिंह थारुले,
मोहियानी हक दाबी गर्यो भने
यो पृथ्वीको भूमध्यरेखामा
खोई कहाँनेर कित्ताकाट गर्नुपर्ने हो ?

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...