काठमाण्डौ – मैले एमाले र माओवादी केन्द्रबीच एकता हुँदा नै भनेको थिएँ, त्यो एकता होइन, सत्तामा जाने सिँढीमात्र हो। आखिरमा त्यही साबित भयो। केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको त्यो घनिष्टता यो बिन्दुमा आएर टुङ्गियो।
अहिले ओली र माधवकुमार नेपालबीच घनिष्टता बनेको चर्चा भइरहेको छ । वास्तवमा एमालेभित्र एकता भइदिए त त्यो सबैभन्दा राम्रो कुरा हो । तर, ओली र प्रचण्डबीच एकता हुँदा नै मैले भनेजस्तै अहिले ओली र माधवकुमार नेपालबीच सम्बन्ध सुधारको विषयलाई मैले पार्टी एकताको पक्षमा देखिरहेको छैन । यसमा पनि म दाउपेच नै देखिरहेको छु ।
ओलीको डिजाइनमा राजनीतिक रुपमा सबैभन्दा धेरै कोही चिप्लिएको छ भने त्यो माधवकुमार नेपाल पक्ष नै हो । सायद अब उहाँहरुसामु यति ठूलो मौका अब आउने छैन ।
माधव नेपाल पक्षमा हिम्मत भएका कोही पनि छैनन् भन्ने कुरा ओलीले पहिलादेखि नै राम्ररी बुझिसकेका थिए । त्यसैले ओलीले आफ्नो उद्देश्यअनुसार माधवकुमार नेपालहरुलाई सजिलै प्रयोग गरे । त्यो कुरालाई माधवजीहरुले बुझ्न सकेनन् । मौका पाउनासाथ ओलीजीले उहाँहरुलाई बिस्तारै खुर्किएर फाल्न थाल्नेछन् र पार्टीमा ओलीजी चम्किनेछन् । तर, ओलीजी चम्किएर यो देश र कम्युनिस्ट आन्दोलनको हित हुन्छ भन्ने मलाई लाग्दैन ।
ओलीजी यतिबेला क्राइसिसमा हुनुहुन्थ्यो । यो क्राइसिस समाधान गर्नका निम्ति मात्र माधव पक्षसँग उहाँले एकताको कुरा ल्याएको हो भन्ने मलाई लाग्छ । ओलीजी साँच्चै नै पार्टी एकताको पक्षमा हो भने उहाँ यति संकटमा आइपुग्नुपर्ने नै थिएन । योभन्दा पहिला नै यसरी एकताका लागि पहल गर्दा योभन्दा बढी उपलब्धि हुन्थ्यो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदा खेरि नै ओलीले चालेका कदमले पार्टी एकता संकटमा परेको हो भनेर धेरैले भनेकै हुन् । त्यसयता, सर्वोच्चको आदेशअनुसार एमाले र माओवादी पूर्ववत् अवस्थामा आइपुगेपछि पनि ओलीकै कदमका कारण एमालेभित्र विवाद बढेको भनेर भनिएकै हो ।
अहिले ओली नेतृत्वको सरकारले विश्वासको मत गुमाएको अवस्था एकातिर थियो भने अर्कोतिर अल्पमतको सरकार गठन गर्ने अवसर पाए पनि ३० दिनभित्र विश्वासको मत हासिल गर्नुपर्ने चुनौती ओलीसामु छ । त्यसैले ओलीजीले पार्टी एकताका लागि पहल गरेजस्तो गर्दै माधवकुमार नेपाल पक्षलाई थामथुम पारेका हुन् ।
हिजो प्रचण्डजी चिप्लिएजस्तै आज माधवकुमार नेपाल चिप्लिएका छन् । हिजोका दिनमा प्रचण्डजी ‘साँच्चै नै पार्टी एकता हुने भयो’ भन्ने ठानेर एमालेसँग एकता गर्न आए, तर ओलीजीले प्रचण्डजीलाई प्रयोग गरेर सरकारमा जाने योजनामात्र बनाएका थिए, पार्टी एकता ओलीको चाहना नै थिएन । अहिले पनि ओलीजीले माधवकुमार नेपाललाई त्यसैगरी प्रयोग गरेका हुन् ।
ओलीजीले ३० दिनपछि प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने हुन्छ । त्यही हिसाब–किताव गरेर विश्वासको मत नपाउन्जेलसम्म माधवकुमार नेपाल पक्षलाई थामथुम पार्ने काम भएको छ । मेरो विचारमा ओलीले सकेसम्म माधवकुमार नेपाललाई राजनीतिक धर्तीमा उभिन दिन चाहेकै छैनन् । ओलीको स्वभाव नै भनौं, कसैसँग वैरभाव भइसकेपछि फेरि एकता गर्ने खालको छँदै छैन । ओलीले भोलिका दिनमा माधवकुमार नेपाललाई कति नामेट बनाउँछन्, त्यसबाट कम्युनिस्ट आन्दोलनलाई कति घाटा हुन्छ भन्ने कुरा आफ्नो ठाउँमा होला, तर ओलीले अब माधवकुमार नेपालप्रति सद्भाव राख्छन् भन्ने कसैले सोचेको छ भने त्यो भ्रम हो ।
हिजो प्रचण्डसँग मिल्दा नै झण्डै दुईतिहाइ बहुमतको प्रधानमन्त्री भएका ओली अहिले ९३ सांसदको समर्थनमा सीमित हुने अवस्थामा पुगे । जेनतेन माधवकुमार नेपालीहरुलाई थामथुम पार्दै एकपटक विश्वासको मत लिने अनि, चुनावसम्म आफ्नो नेतृत्वको सरकारलाई सुरक्षित तुल्याउने नै ओलीको ध्येय हो । यो क्रममा आफू कति सिद्धिन्छु भन्ने कुरा ओलीले ख्याल गर्दैनन् ।
एमालेभित्रको अहिलेको एकता आन्तरिकरुपमा पार्टीलाई एक बनाएर लैजानेभन्दा पनि मौका खोजेर ओलीजीले माधवकुमार नेपाललाई सिध्याउने नै हो । यसमा माधवजीहरु कति सचेत हुनुहुन्छ, कति चलाख हुनुहुन्छ भन्ने उहाँहरुकै कुरा हो । तर, अहिलेको बाटो पार्टी एकताकै दिशातर्फ गइरहेको छ भन्ने मलाई लाग्दैन ।
यो ३० दिनसम्म ओलीले थामथुम पार्नेछन्, केही निर्णय सच्याउलान् पनि । अहिले सच्याएका निर्णय भोलि नउल्ट्याउलान् र ? अधिकार नै नभएको अवस्थामा निर्णय गर्न सक्ने मान्छेले भोलि फेरि त्यसैगरी निर्णय नगर्ला भन्ने छ र ?
ओलीजीलाई भोलि आफ्नै नेतृत्वमा चुनावमा जानु छ । चुनावमा जानेबेलामा यी कसैलाई पनि टिकट नदिएर सिध्याउने र पार्टी एकछत्र रुपमा आफ्नो बनाएर माधवजीहरुलाई हेरेको हेर्यै बनाउने ओलीको भित्री योजना छ ।
चुनावको कोर्समा पुगिसकेपछि ओलीजीले संविधान संशोधनका कुरा उठाउँछन् र जनमत आफ्नो पक्षमा पार्ने प्रयास गर्नेछन् । मलाई लाग्छ, संघीयता र धर्मनिरपेक्षताको विरोधमा यिनले आफूलाई उभ्याउँछन् । मैले दुईतिहाई पाएको खण्डमा संविधान संशोधन गरेर संघीयता र धर्मनिरपेक्षता खारेज गर्छु भनेर उनी चुनावमा जान सक्छन् । यसले गर्दा राजावादीदेखि लिएर हिन्दु धार्मिक मतसमेत आफूतिर तान्न सकिन्छ भन्ने उनलाई राम्रो हेक्का छ ।
पार्टी एकता कमजोर हुँदाको क्षतिलाई उनले त्यताबाट पूर्ति गर्न खोज्नेछन्। त्यहाँसम्म पुग्नका लागि नै ओलीले अहिले माधवकुमार नेपाललाई प्रयोग गरेका छन् । किनकि चुनावी सरकारको नेतृत्व ओलीले आफैं गर्न चाहन्छन् । अहिले सरकार गुम्यो भने चुनावसम्म आफ्नो पुनरागमन नहुन सक्छ भनेर नै माधवकुमार नेपालसँग केही नरम भएजसरी मिलापको बाटो लिएको देखिन्छ ।
तर, यो बाटो पार्टी एकता र कम्युनिस्ट आन्दोलनको पक्षमा छैन । किनकि पार्टी फुटाउने बेलामा पनि उनी निकै हँसिलो र जोसिलो देखिन्थे । चुनाव हार्छु भन्ने उनमा अलिकति पनि महसुस छैन । यो अवस्थामा चुनाव जित्ने स्टन्ट भनेकै संघीयता खारेजी र धर्मनिरपेक्षता खारेजी नै हो भन्ने उनलाई लागेको छ ।