News Portal

  • इतिहासलाई प्रश्न

    हिमालीसंचार संवाददाता
    ४२१ पटक

    म चिसा चुलाहरूमा
    अँध्याराका मझेरीसंग
    मन नलगाई – नलगाई
    महाराजपुरको चिरपट बालीरहेछु,
    दावा लागेका भोका पेटहरूमा
    एक मुठी चारो भर्ने सपनासंगै
    अशान्त मनको सरोवरमा
    उध्रेका डोबहरू टालीरहेछु …….

    कुरुक्षेत्र हो जिन्दगी, महाभारत हो जिन्दगी
    संघर्षका लागि पुर्पुराहरू फुटाउनै पर्छ
    परिश्रमका खातिर पसिनाका दानाहरू जुटाउनै पर्छ,
    कृष्णले त आफ्ना लागि नियम तोड्न भ्याउँछन् भने
    दोर्णाचार्यले एकलब्यको औंला छिनाउन सक्छन् भने,
    हामी त त्यही महाभारतका पछेवा हौ
    त्यही इतिहासका बचेरा हौ,
    उनीहरुले छोडेका बाटाहरूमा पाइला बढाउनै पर्छ
    त्यसैले नि:सन्देह पछ्याइरहेछु त्यही इतिहासलाई
    एउटा जवाफको खोजीमा
    एउटा पर्खाइको खोजीमा……..

    जहाँ साहिँली र माहिँलीहरु
    भान्टाङ- भुन्टुङको आङ्गको गरीबी मेटन
    पेटका दावाहरू मेटन
    समयसंगै परिश्रमको खोजीमा जिन्दगी दुखाइरहेछन्,
    गरीबी-दरिद्रताको पगरी गुथिएको मन बिझाउँदै
    निरस किलकिले सुकाइरहेछन्,
    जहाँ आफ्नो भोक मेटनलाई
    अरुको पेट निचोर्नु पर्ने विवशता छ,
    आफ्नो शानको लागि
    निहत्था छातीहरू ठटाउनु पर्ने जोखीमता छ,
    त्यसैले त्रासदी र रित्ता मनहरूबाट
    म इतिहासलाई प्रश्न गर्छु……..

    मान्छे म त, मान्छे नै भै बाँच्न चाहान्छु
    सुकोस् किलकिले, छाती ठोकेर हाँस्न चाहान्छु,
    किनकी काँडाको बगैंचामा सुत्दा-सुत्दा
    मैले धेरै च्वास्स चुस्सहरु खपीसकेको छु,
    जीन्दगी दुखेका वस्तीहरू नापीसकेको छु,
    त्यसैले एकलब्यका सिर्जनशील औंलाहरू
    कुनै दोर्णाचार्यहरूद्वारा नकाटिऊन्‍,
    साहिँली-माहिँलीका जीवन वेदनाहरु
    इतिहास बनेरै नलेखिऊन्,
    काँडाका बारलाई भत्काएर अघि बढ्ने साहस बोकि
    भोका- नाङगाहरूको आँशु र पीडा रोकि
    फेरि इतिहासलाइ प्रश्न गर्छु……..

    तिमी इतिहास मात्र हौ भने
    इतिहास बनेरै पखेटा फट्फटाइदेऊ,
    सिङ्गो वस्तीबाट म प्वाँख भएर उँडिदिने छु,
    वर्तमानका परिश्रमका थोपाहरु सँगाली
    रीत्ता अनि भोका पेटहरू उठाइदिने छु
    अनि, पक्कै पनि चिसा चुलाहरूमा
    महाराजपुरका चिरपटहरू निरन्तर बलीरहनेछन्,
    दावा लागेका पेटहरू भरिनेछन्,
    र किलकिलेहरु भिज्नेछन्,
    जहाँ, तिमि इतिहास मात्र भएर उड्नेछौ
    साथमा म तिम्रो बुँई चढेर
    उजाडीएका मानव वस्तीको वर्तमान नियाल्न
    उड्नेछु,लम्कनेछु निरन्तर
    एउटा परिवर्तनको लेखाजोखा गर्न……..

    रामकृष्ण देवकोटा
    – काठमाडौँ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेतमा विषाक्त मदिरा प्रकरण : १३ नेपालीसहित २३ जनाको मृत्यु

    काठमाडौं, भदौ ९ – कुवेतमा विषाक्त मदिरा सेवन गर्दा १३ जना नेपालीसहित २३ आप्रवासी श्रमिकको...

    लोकन्थलीमा सडक कुकुरको बहादुरी, चोरी रोक्दै ज्यान जोखिममा

    भक्तपुर, भदौ ९ – भक्तपुरको लोकन्थलीमा एक सडक कुकुरले चोरीको प्रयास रोक्दा आफ्नो ज्यान जोखिममा...

    विद्यालय शिक्षा विधेयकमा विरोध, शिक्षक महासङ्घको आन्दोलन सुरु

    काठमाडौं, भदौ ९ – नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक २०८० का सम्बन्धमा आफ्ना माग...

    रुबी हत्या प्रकरण : सुटकेसबाट फेला पर्‍यो महत्त्वपूर्ण प्रमाण, प्रहरी अनुसन्धान तीव्र

    रौतहट, भदौ ९ – रौतहटमा हत्या गरेर सुटकेसभित्र फ्यालिएकी २६ वर्षीया रुबीकुमारी साह सुडीको प्रकरणमा...

    भारत–चीन सम्झौताले सार्वभौमिकतामाथि आघात, सरकारलाई तत्काल पहल गर्न एमालेको माग

    दार्चुला, भदौ ९ – लिपुलेक–कालापानी हुँदै भारत र चीनबीच भएको भनिएको व्यापारिक सहमतिप्रति नेकपा (एमाले)...