
बागलुङ — बागलुङको बल्देधुरीमा दुई जनको मृत्यु हुने गरी भएको झडपमा संलग्न भएको आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
शुक्रबार पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालयले घटनाका आरोपी सार्वजनिक गरेका हुन् । होली खेल्ने क्रममा भएको विवाद र झडपपछि भीरबाट खसालेर ‘हत्या’ भएको प्रारम्भिक अनुसन्धानले खुलेको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए । घटनाको अनुसन्धानका लागि जिल्ला अदालतले एक साताको म्याद थप गरेको छ ।
होली खेल्ने क्रममा निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक परियारको मृत्यु भएको थियो । उनीहरुको शव घटनास्थलदेखि ४ सय मिटर तल भेटिएको थियो ।
कुटपिट गर्ने र भीरबाट खसाल्ने काममा संलग्न भएको आरोपमा प्रहरीले बडिगाड गाउँपालिका वडा नं. १० का २८ वर्षीय रेशम बुढामगर, ४६ वर्षीय ढालबहादुर बुढा, ३१ वर्षीय सूर्य बुढा, ३३ वर्षीय झनबहादुर बुढा र उमेर नखुलेको तीर्थलाल बुढालाई गाउँबाटै पक्राउ गरेको हो ।
त्यस्तै २३ वर्षीय मिलन बुढा र २४ वर्षीय रेशम भनिने भेषराज बुढालाई गुल्मीको मदाने गाउँपालिका, र त्यस्तै २३ वर्षीय कुमार छन्त्याललाई रुपन्देहीको भैरहवाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक पल्लीमगरले बताए । तीमध्ये ६ जनालाई प्रहरीले पक्राउ गरेको हो भने दुई जना आत्मसर्मपण गरेर प्रहरीमा आएका हुन् ।
