आज : २०२६-०६-०८, सोमबार

इसारामा सत्ता चलाउनेहरू

न भुइँ न भाँडाका टुप्पैबाट पलाउनेहरू हुन्छन्
सबैभन्दा कुरूप त विचार जलाउनेहरू हुन्छन् !

सत्ताको मत्ता चढेर देशै लुट्ने लुटेराभन्दा पनि
घृणाका लायक त विश्वास गलाउनेहरू हुन्छन् !

छाला ओढी रजगज गर्ने व्वाँसाहरूभन्दा पनि
जडौरी दूर्भक्षी त जनमत छलाउनेहरू हुन्छन् !

चितामाथि जल्दै गरेको एक शरीरभन्दा बढी
दूर्गन्धित लाश त आस्था ढलाउनेहरू हुन्छन् !

मुक्तिका कुरा गरी दासता पढाउनेभन्दा पनि
पाशविक बाबु त बुहारी दलाउनेहरू हुन्छन् !

भूगोल हडप्न साँध मिच्ने सँधियारभन्दा बढी
चुथ्थो त इसारामा सत्ता चलाउनेहरू हुन्छन् !

✍️ प्रथा