लोडसेडिङ मैले हटाएको हुँ, जस अर्कैले पायो : मन्त्री रायमाझी

काठमाण्डौ – उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले कुलमान घिसिङलाई आफूले नै नेपाल विद्युत प्राधिकरणमा ल्याएको दाबी गरेका छन् ।
उनले नेपालमा लोडसेडिङ हटाउने कार्ययोजना आफूले बनाएको र सोही अनुसार घिसिङलाई प्राधिकरणमा ल्याएको दाबी गरेका हुन् । शुक्रबार बुटवलमा पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले भने: “नेपालबाट लोडसेडिङ हटाएको जस आफूले नपाएको गुनासो गरे ।”
‘उर्जा संकट हटाउन ९९ बुँदे कार्ययोजना मैले तयार गरेको हुँ, कुलमान घिसिङलाई मैले नै राखेको हुँ,’ उनले भने, तर सरकार ढलेपछि लोडसेडिङ हटाएको जस अर्कैले लियो ।’ यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपालबाट आफुले लोडसेडिङ हटाएको दाबी गरेका थिए ।
उनले लोडसेडिङ हटाउने आफू रहेको तर आफ्नो भन्दा कुलमान घिसिङको चर्चा बढी भएपछि उनलाई विद्युत प्राधिकणमा पुनः नियुक्ती नगरिएको पनी बताएका थिए । पत्रकारहरुसँग मन्त्री रायमाझी एमसीसीबारे पनि तुरुन्तै निर्णय लिनुपर्ने बताएका छन्।
उनले भने, ‘एमसीसी लागू गरौ या खारेज गरौ । तर, अब अलमलको अवस्थामा बस्नु हुँदैन । म घनिभुत छलफल गरिरहेको छु, छिट्टै निर्णयमा पुग्छु ।’ प्रधानमन्त्रीले मुलुकको स्थिरताका लागि संसद भंग गरेर निर्वाचनको घोषणा गरेको भन्दै अब सबै दलहरुले चुनावमा होमिनुपर्ने पनी बताए ।


















