News Portal

यमनको विमानस्थलमा आक्रमण, २२ जनाको मृत्यु

हिमालीसंचार संवाददाता
६१९ पटक

साना – यमनको दक्षिणी सहर एडनस्थित विमानस्थलमा गरिएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार ५० जनाभन्दा बढी घाइते भएका छन्। युद्धका कारण विभाजित यमनको हालसालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरबबाट आएर अवतरण गरेको केही बेरमै विस्फोट गराइएको हो।

घटनामा हताहत हुने सहायतामा जुटेका मानिसका साथै अधिकारीहरू पनि रहेको बताइएको छ तर, यमनका प्रधानमन्त्रीले आफू र मन्त्रिपरिषद् सदस्यहरू सकुशल रहेको बताएका छन्। यमनी सूचनामन्त्रीले हुथी विद्रोहीहरूले कायरतापूर्ण आतंकवादी कार्य गरेको बताएका बीबीसीले उल्लेख गरेको छ। यमन करिब ५ वर्षदेखि द्वन्द्वको चपेटामा परेको छ।

साउदी अरबले नेतृत्व गरेको अरब राष्ट्रहरूको समूहले हुथी विद्रोहीहरूलाई परास्त गर्न र राष्ट्रपति अब्दराबा मन्सुर हादीको शासन पुनः स्थापित गर्नका लागि सैन्य कारबाही सुरु गरेसँगै यमन द्वन्द्व चर्केको हो। यमनमा करिब ५ वर्षदेखि जारी द्वन्द्वका कारण १ लाख १० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। द्वन्द्व चर्कंदै गएका कारण लाखौं मानिस भोकमरीको सिकार भएका छन्। कोरोना भाइरसको महामारीका कारण झन् यमनको अवस्था कमजोर बन्दै गएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा विमानबाट यात्रीहरू ओर्लिंदै गरेका बेला ठूलो विस्फोट भएको देखिएको छ। मन्त्रीहरूको स्वागतका लागि पुगेको भीड एयरपोर्ट टर्मिनलबाट बाक्लो धूवाँ निस्किएको देखेपछि भागेका थिए। त्यसको केही समयमै गोली चलेको आवाज सुनिएको थियो।

समाचार संस्था एएफपीका संवाददाताले आफूले कम्तीमा दुइटा विस्फोट सुनेको बताएका बीबीसीले उल्लेख गरेको छ। अन्तर्राष्ट्रिय समन्वयसम्बन्धी मामिला हेर्ने एक मन्त्रीले पनि दुईपटक विस्फोटन भएको सुनेका बताए। घटनाको कारण स्पष्ट हुन सकेको छैन।

साउदी अरबको एक टेलिभिजनले प्रसारण गरेको भिडियोमा धावनमार्गमा क्षेप्यास्त्र आक्रमण गरिएसँगै विस्फोट भएको देखिएको छ। अन्तर्राष्ट्रिय रेडक्रसले घटनामा आफ्ना एक कर्मचारीको पनि मृत्यु भएको जनाएको छ। यमनी समाचार वेबसाइट अल–मस्दरले श्रम मन्त्रालयका उपसचिवको मृत्यु भएको जनाएको छ। वेबसाइटका अनुसार घटनामा दुई जना उपमन्त्री घाइते छन्। प्रधानमन्त्री मीन अब्दुल मलिक सइदसहित मन्त्रिपरिषद् सदस्यलाई आक्रमणलगत्तै सुरक्षित स्थलमा लगिएको थियो।

सन् २०१९ को अगस्टमा सैन्य परेड भइरहेका बेला हुथी विद्रोहीहरूले गरेको आक्रमणमा ३६ जनाको मृत्यु भएको थियो। यसैबीच, हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेको यमनको राजधानी सानामा बुधबार राति हवाई आक्रमणहरू भएका छन्। सरकारको नियन्त्रणमा रहेको एडेन सहरमा भएको आक्रमणको केही घण्टामा नै सानामा आक्रमण भएको हो।

प्रत्यक्षदर्शीहरूका अनुसार सानाको आकाशमा लडाकु विमानको आवाज सुनिएलगत्तै विभिन्न विस्फोटहरू भएका थिए। यमन सरकारको समर्थन गर्दै आएको साउदी नेतृत्वको गठबन्धनले ती हवाई आक्रमण गरिएको बताइएको छ। (एजेन्सी)

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...