News Portal

रेडियो नेपालका तत्कालीन दैलेख संवाददाता डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ

हिमालीसंचार संवाददाता
५४४ पटक

भक्तबहादुर शाही,
दैलेख – दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पत्रकार थापाको हत्यामा संलग्न ठहर भएका दैलेखको नौमुले गाउँपालिका–३ द्वारीका ५८ वर्षीय हरीलाल पुनलाई प्रहरीले गएको सोमबार घरबाटै पक्राउ गरेको हो।

पत्रकार थापाको हत्यामा संलग्न ९ जनामध्ये पुनलाई पक्राउ गरेर मंगलवार जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले बताए।

जिल्ला अदालत दैलेखले २०७१ मंसिर २१ गते पत्रकार थापाको हत्यामा संलग्न रहेको भन्दै ९ जनालाई दोषी ठहर गरेको थियो। फैसलामा पुनलाई २ वर्ष कैद सजाय तोकिएको थियो। न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले तत्कालीन अवस्थामा पक्राउ परेका पुनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनी १ वर्ष ७ महिना १ दिन जिल्ला कारागारमा थुनामा रहेका थिए।

थुनामा रहेको अवस्थामा पुनले तत्कालिन पुनरावेदन अदालत सुर्खेतबाट बन्दी प्रत्यक्षीकरण अनुसार थुनामुक्त भएका थिए। पुनरावेदन अदालत सुर्खेतको आदेशमा थुनामुक्त भइसकेपछि जिल्ला न्यायाधीश श्रेष्ठकै इजलासले २ वर्ष कैद सजाय तोकेको थियो।त्यसयता उनी फरार रहेको खुलाएको र ४ महिना २९ दिन कैद भुक्तान बाँकी रहेकाले पक्राउ गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए।

(पत्रकार थापाकाे फाइल तस्विर)

पत्रकार थापाको श्रीमती लक्ष्मी थापाले जिल्ला प्रहरी कार्यालय दैलेखमा कर्तव्य ज्यान मुद्दामा ९ जना माओवादी कार्यकर्ताविरुद्ध किटानी जाहेरी दिएपछि तत्कालिन अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको थियो। जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपनि ५ जनासँगै पुन पनि पुर्पक्षका लागि थुनामा रहेका थिए।

अन्य ४ जना भने जिल्ला अदालतबाट भएको फैसला अनुसार कैद भुक्तानी गरी मुक्त भैसकेका छन् तर, पत्रकार थापाको हत्यामा संलग्न मुख्य व्यक्ति हालसम्म पक्राउ परेका छैनन्। पत्रकार थापाको हत्याका मुख्य अभियुक्त ठहरिएका अरुण भनिने बमबहादुर खड्का १ वर्षअघि पक्राउ गरी पुर्पक्षका लागि थुना रहेका छन् भने, अन्य ३ जना हालसम्म फरार रहेको प्रहरीले जनाएको छ।

जिउँदै खाल्डोमा गाडिएका थिए थापा !

२०६१ साउन २७ गते नौमुलेको द्धारीमा माओवादी कार्यकर्ताहरुले मरणासन्न हुने गरी कुटपिट गरि जिउँदै खाल्डोमा गाँडेको यस अघि सजाय भोगिसकेका थापा हत्या आरोपित लच्छीराम खत्रीले बताएका थिए। स्थानिय पत्रकारको लामो खोजी र संघर्षपछि वल्ल २०६५ को वर्षायाममा नौमुले गाउपालिकामा पर्ने साविकको द्धारी गाविस–१ मा रहेको नेरा निमावि नजिकको जंगलवाट पत्रकार थापाको कंकाल मात्रको शव उत्खनन्पछि फेला परेको थियो।

खानेपानी वार्ता गर्न बोलाएका तत्कालिन रेडियो नेपाल दैलेखका संवाददातालाई माओवादी कार्यकर्ताले ०६१ साउन २७ गते द्धारी गाविस-१ मा हत्या गरी पत्रकार थापाको ४ वर्षसम्म शव लुकाएका थिए।

द्धन्द्धको समयमा दैलेख सदरमुकाममा आउने खानेपानीको पाइप लाइन काटी दिएपछि २०६१ असार १२ गते नेकपा माओवादीले खोनपानीको विवाद मिलाउन भन्दै बोलाइएका रेडियो नेपालका संवाददाता थापालाई साउन २७ गते हत्या गरेका थिए।

अपहरणपछि हत्या गरिएका थापाको शवसमेत माओवादीले वेपत्ता पारेका थिए। नेपाल पत्रकार महासंघ शाखा कार्यालय दैलेखको पहल र मानवअधिकारवादीको सक्रियतामा ०६४ भदौंमा थापाको शव उत्खनन गरेर पिडित परिवारलाई दिइएको थियो।

थापाको दाहसंस्कारपछि पत्नी लक्ष्मीले तत्कालिन कट्टि गाविसका बमबहादुर खड्का (मुक्ति) छिउडीपुसाकोटका केशव बहादुर खड्का, बमबहादुर खड्का र द्धारी गाविसका लक्षीराम घर्ती मगर गरि ४ जना विरुद्ध १४ भदौं ०६४ मा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन्।

प्रतिकृया दिनुहोस्

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...