धरानका बुद्धिजीवी बिए कृष्ण प्रसाद श्रेष्ठको निधन, नगरमा शोक विदा

धरान – लामो समयदेखि दिर्घरोग मिर्गौला रोगबाट पिडित बिए कृष्ण प्रसाद श्रेष्ठको हिजो दिउसो १:२५ बजे आफ्नो निवासमै निधन भएको छ। धरानमा बुद्धिजीवीका रुपमा कहलिएका श्रेष्ठको निधनमा धरान उपमहानगरपालिकाले आज शोक विदा दिएर सम्मान व्याक्त गरेको छ।
श्रेष्ठ विस १९९२ सालमा जन्मिएका हुन्। विस २००६ सालमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना हुँदा धरानको संस्थापक कम्युनिस्ट नेता हुदै आफ्नो परिचय बनाएका वाम नेता हुन् ।राजनीतिक चिन्तक, धरानका अभिभावक, धरानको बाम आन्दोलनका संस्थापक कम्युनिस्ट नेता बिए कृष्ण प्रसाद श्रेष्ठको निधनले धरानलाई अपूरणीय क्षति पुगेको डा. राजेन्द्र शर्मा बताए।
जानकारहरुका अनुसार पुष्पलाल समूह अन्तर्गत कृष्णराज वर्माको समूहमा आबद्ध रहेका श्रेष्ठ विस २००६ सालमा धरानको पब्लिक माविको पहिलो एसएलसी व्याजमा फस्ट डिभिजन पास गर्ने कुशल विद्यार्थी थिए ।
धरानबाट बिए ल्याउने, राम्रो डिभिजन ल्याएका कारण उनले बिएको उपाधि स्वपरुप उपनाम दिइएको थियो । धरानमा पछिल्लो समय बिए कृष्णप्रसाद श्रेष्ठको नामबाट परिचित थिए श्रेष्ठ । विस २०१५ सालमा धरान नगर पञ्चायतको पहिलो कम्युनिस्ट वडा सदस्यमा रुपमा निर्वाचित जनप्रतिनिधि समेत हुन् ।


















