आज : २०२६-०६-१०, बुधबार

कन्चनपुरमा अपहरित नौ महिने शिशु सात घण्टापछि खेतमा फेला

कञ्चनपुर – कञ्चनपुर पुनर्वास नगरपालिका–५ का बेलुदेवी बिष्टका नौ महिने छोरी सरस्वतीलाई चोरीएको सात घण्टापछि प्रहरीले फेला पारेको छ ।

सोहि नगरपालिका–८ ‘क’ गाँउमा तीज मनाउन माईती आएका बेला आमासँंगै राति सुतेकी सरस्वतीलाई अज्ञात महिलाले मध्यराति १ बजेको समयमा चोरेर लगेका हुन् ।

शिशु चोरी भएको खबर पाउनासाथ स्थानीय बासिन्दाले तत्काल प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीय बासिन्दाले खोजतलास गर्दा आज बिहान ७ बजे माईती घरभन्दा डेढ किलोमिटर टाढा धान खेतमा रुँदै गरेको अवस्थामा बालिका फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।

‘नगरपालिकाका नगर प्रमुख जीवन थापासहितको उपस्थितिमा शिशुलाई उहाँका आफन्तकोमा जिम्मा लगाएका छौं,’ उनले भने ।

शिशुको शरीरमा स–साना फोका देखा परेपछि उपचारका लागि उनलाई सेती अञ्चल अस्पतालमा पठाइएको र त्यहाँबाट शिशुलाई बाल कान्ती अस्पताल काठमाडौँमा लग्ने कुरा बुझिएको प्रहरी उपरीक्षक कडायतले बताए ।

शिशु चोरी गर्नेको खोजतलास जारी रहेको पनि उनले बताए ।