आज : २०२६-०६-१४, आइतबार

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

२०७७ भदौ २, मंगलबार
काठमाडौँ – राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। उनका छोरा राजीव घिमिरेकाअनुसार पछिल्लो समय बिरामी राष्ट्रकविको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको हो।

१ सय १ वर्षको उमेरमा उनको निधन भएको हो। घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो।

उनका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन्।

घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए।

उनले राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का साथै तारादेवीले गाएको ‘मनको बाँध’ चलचित्रको ‘फूलको थुङ्गा बगेर गयो’ तथा नारायण गोपालले गाएको ‘आजै र राति के देखेँ सपना’जस्ता गीत पनि रचेका थिए।

नेपाली साहित्यमा स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो।