नुवाकोटका एक क्रसर उद्योगविरुद्ध उजुरी परेको छ

नुवाकोट । नुवाकोट जिल्लाका नदीमा बालुवा झिक्न गएका स्थानीयमाथि आक्रमण गरेको भन्दै लिखु गाउँपालिका ४ गणखारमा सञ्चालित क्षेत्रपाल क्रसर उद्योगविरुद्ध उजुरी दर्ता भएको छ।
अवैध रुपमा उद्योग सञ्चालन गरेको र स्थानीयमाथि आक्रमण गरेकोले कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले उजुरी दर्ता गराएका हुन्।
बालुवा झिक्न गएका स्थानीय र क्रसर सञ्चालक पक्षबीच बिहीबार झडप हुँदा स्थानीय २२ वर्षीय सन्तोष राई र २८ वर्षीय अनिश राई घाइते भएका छन्। स्थानीय बासु राईका अनुसार उनीहरुको काठमाडौंको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ।
उद्योग सञ्चचालक शैलेश श्रेष्ठले खुँडा प्रहार गरी घाइते बनाएको भन्दै उजुरी दिएका हुन्। ‘ज्यान मार्न पाइँदैन,’ स्थानीय राईले भने, ‘ज्यान मार्न खोज्नेलाई कडा कारबाही हुन पर्यो।’
क्रसरले मेसिन प्रयोग गरी बालुवा झिकिरहेकोले स्थानीयले पनि बालुवा निकाल्नुपर्छ भन्नेमा विवाद चर्केपछि झडप भएको एक स्थानीयले बताए।
‘क्रसरवालाले रातको समयमा तादीखोलाबाट एक्स्काभेटर प्रयोग गरेर बालुवा झिके। स्थानीयले पनि सोही ठाउँमा हातेऔजार हालेर बालुवा झिक्न थाले।
क्रसरवालाले स्थानीयलाई बालुवा झिक्न नदिएपछि विवाद हुँदा झडपमा भएको हो,’ स्थानीयले भने। क्रसर सञ्चालकले भने ज्यान जोगाउन प्रतिकारमा उत्रेको जनाएको छ। प्रहरीका अनुसार झडपमा एउटा गाडी, टिपर, एक्स्काभेटर लगायत उपकरणमा क्षति पुगेको छ।
अवैध क्रसर उद्योगलाई बालुवा झिक्न प्रहरीले सघाउँदै आएको स्थानीयको आरोप छ। स्थानीय प्रशासन, प्रहरी र स्थानीय तह, जिससलाई आफ्नो पहुँचमा लिएर नदी दोहन गरिरहँदा पनि जिल्ला प्रहरी कार्यालयले रोक्न नसकेको स्थानीयले गुनासो गरेका छन्।
संघीय कानुनअनुसार क्रसर उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई सञ्चालन गर्नुपर्ने प्रावधान छ तर उक्त क्रसर उद्योगले लिखु गाउँपालिकाबाट अनुमति लिएर ढुंगा, गिटी र बालुवा निकालिएको बताएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा एसपी अविनारायण काफ्लेले कुनै अवैध क्रसर उद्योग चल्न नदिएको दाबी गरे। उनले भने, ‘प्रहरीले कानुनको पालना गरेको छ।’
प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले विभिन्न बहानामा नदी उत्खनन् गर्ने र ज्यान मार्नेलाई कारबाही हुने बताएका छन्। जिल्ला समन्वय समितिले हालै असार, साउन र भदौ मसान्तसम्म कुनै नदीजन्य पदार्थ झिक्न रोक लगाए पनि उक्त कार्य रोकिएको छैन।
यसैबीच कांग्रेस, नेकपालगायत जिल्लामा सक्रिय पार्टीहरुले उक्त घटनाको विरोध जनाउँदै दोषीलाई कारबाहीको माग गरेका छन्।


















