दिल्ली – चार दिने भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई फेरि सक्रिय बनाउन चाहेको बताएका छन् ।
शुक्रबार नयाँ दिल्लीमा आयोजित कार्यक्रममा उनले अध्यक्ष देशको हैसियतमा नेपाल सार्कलाई ब्यूँताउने पक्षमा रहेको बताएका हुन् ।
‘एउटा अर्को महत्वपूर्ण क्षेत्रीय संगठन सार्कको वर्तमान अध्यक्षको हैसियतले नेपलको यसलाई पुुन सक्रिय बनाउन चाहन्छ र पूर्वनिर्धारित शिखर सम्मेलन आयोजनाको वातावरणको प्रतीक्षामा छ’ उनले भने । प्रचण्डले सार्क र बिमस्टेकलाई एक अर्काको प्रतिस्थापक नभई परिपूरक रुपमा अघि बढाउने आफूहरुको चाहना रहेको उनले बताए ।
सार्कलाई ओझेलमा पार्न बिमस्टेकलाई सक्रिय बनाउन लागेको आरोप लागिरहेका बेला प्रचण्डले यस्तो धारणा राखेका हुन । काठमाडौंमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनले शान्त, समृद्धि र दिगो विकासका लागि कनेक्टिभिटी लगायत महत्वपूर्ण निर्णय गरेको पनि कार्यक्रममा बताए ।
साना छिमेकीको संवेदनशीलता बुझिदिनुपर्यो
कार्यक्रममा प्रचण्डले भारतले सानो छिमेकी नेपालको संवेदनशीलता बुझिदिनुपर्ने पनि बताए । ‘म प्रष्टसँग भन्छु, साना छिमेकीसँग केही संवेदनशीलता हुन्छन्, त्यसलाई बुझ्नु र सम्मान गर्नु आवश्यक छ’ उनले भने ।
प्रचण्डले सार्वभौमसत्ताको सम्मान, क्षेत्रीय अखण्डता, आन्तरिक मामिलामा अहस्तक्षेप, आपसी हित र एक अर्काप्रतिको विश्वासले मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउने बताए ।
भारतसँग विकास ठूलो विकास साझेदारी रहेको भन्दै प्रचण्डले त्यसलाई अझ गहिरो गरी अगाडि बढाउने दुबै देश प्रतिवद्ध रहेको बताए ।
अहिले दुबै देश दुई पक्षीय समझदारी र योजनाहरु समयमा कार्यान्वयन गर्नेमा केन्द्रित भएको भन्दै उनले यसको सकारात्मक नतिजा देखिन थालेको पनि बताए । ‘म प्रधानमन्त्री मोदीसँग खुशी छु, उहाँले केही वर्षमा चार पटक नेपाल भ्रमणमा आइसक्नुभएको छ, यो घटना नेपाल भारत सम्बन्धमा ऐतिहासिक घटनाको रुपमा सम्झिइनेछ’ प्रचण्डले भनेको अनलाइनखबरले समाचार लेखेको छ।