दोषीलाई कारबाही हुन्छ: प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्ग

२०७७ असार १४ आइतबार
नेपालगन्ज – बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले वसन्त मल्ल हत्या प्रकरणका दोषीलाई कानूनी दायरामा ल्याएर कडा कारबाही गर्ने बताएका छन्।
वसन्त मल्ल हत्याकाण्डमा एक दशकपछि पक्राउ परेका बाँके डुडुवा गाउँपालिका–३ का धर्मा सिंह भनिने राजेश यादवमाथि थप अनुसन्धान गरि अन्य दोषीलाई पहिचान गरि कानूनी कारबाही गर्ने उनले बताए।
तत्कालिन तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला) समुहको आडमा जिल्लामा दर्जन बढि अपराध गरेका राजेश बाँके प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेको थिए। बाँके प्रहरीको मोस्ट वान्टेड रहेका राजेशलाई बाँके प्रहरीले असार ९ गते उनकै निवास बनकट्टिबाट पक्राउ गर्न सफल भएको हो।
२०६५ साल माघ ११ गते बाँके राधापुर सैनिकका प्रकाश शाही तथा २०६६ भदौ २१ गते नेपालगन्ज-२१ पुरैनाका वसन्त भनिने छन्द विक्रम मल्लको हत्यामा संलग्न पाइएका राजेशलाई प्रहरीले पक्राउ गरेको थियो।
प्रहरीले पक्राउ परेका राजेशमाथि थप अनुसन्धान तथा कडा कारबाहीको माग गर्दै ठकुरी सहयोग सञ्जाल र ठकुरी पत्रकार समाजले आईतबार प्रमुख जिल्ला अधिकारीलाई भेटी संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका छन्।
संयुक्तरुपमा ज्ञापनपत्र बुझ्दै बाँके प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले भने–‘जिल्लाको अपराध न्यूनिकरण र पीडितलाई न्याय दिलाउन कुनै कसर बाँकी राखिने छैन। दोषीलाई कारबाहीका लागि आवश्यक पहल गर्नेछु।
यो पनि पढ्नुहोस।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले भने –‘पीडितलाई न्याय र पीडकलाई कारबाहीका लागि प्रहरीसहितको प्रशासन कटिबद्ध छ। पीडित परिवारलाई शान्ति सुरक्षा प्राप्त हुन्छ।
बाँके प्रशासनबाट हुने काम यहाँबाट हुन्छ, त्यस्का अलावा सम्बन्धित कार्यालयमा सिफारिस गर्ने प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले प्रतिबद्धता दिए।
दोषीलाई कडा कारबाही, हत्यामा सलंग्नको पहिचान, हत्या गरिनुको कारणको माग गर्दै ठकुरी सहयोग सञ्जाल बाँकेका अध्यक्ष दीपक बहादुर शाही र ठकुरी पत्रकार समाजका अध्यक्ष करुणा शाहले संयुक्तरुपमा उक्त ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाएका हुन्।
संयुक्त रूपमा बुझाइएको बिज्ञप्तिमा भनिएको छ, वसन्त मल्ल तथा प्रकाश शाहीलाई सरकारले तत्काल कुनै दुविधामा नपरि शहिद घोषणा गरि शहिदले पाउनुपर्ने सेवासुविधा उपलब्ध गराउनुपर्ने, मल्ल र शाहीको हत्यामा संलग्न थप दोषीलाई पहिचान गरि उनीहरुलाई कानूनी कठघेरामा ल्याउनुपर्ने, मल्ल र शाहीको हत्यामा संलग्न धर्मा सिहं भनिने राजेश यादवसहित अन्य फरार अभियुक्त, हत्या गरिनुको कारण, हत्या गराउन लगाउने सबैलाई पहिचान गरि कडा भन्दा कडा कानूनी कारबाही गरिनुपर्ने तथा पीडित परिवारको सदस्यहरुको जीउधनको सुरक्षा प्रत्याभुतीका लागि आवश्यक वातावरण निमार्ण गरि शान्तिसुरक्षा प्रदान गर्नुपर्ने माग गरिएको छ।


















