
नेपालगन्ज – वसन्त मल्लको हत्यामा संलग्न एकजनालाई बाँके प्रहरीले पक्राउ गरेकोछ। वसन्त मल्ल हत्या भएको एक दशकपछि घटनामा संलग्न अभियुक्तलाई बाँके प्रहरीले पक्राउ गर्न सफल भएको हो।
बाँके प्रहरीले वसन्त मल्ल हत्यामा संलग्न बाँके डुडुवा गाउँपालिका वडा नम्बर–३ बस्ने ३१ वर्षका ‘धर्मा सिंह’ भन्ने राजेश यादवलाई मङ्गलबार विहान ३ बजे उनकै घरबाट नियन्त्रणमा लिएको छ।
मङ्गलबार विहान जिल्ला प्रहरी कार्यालय बाँकेमा गरिएको पत्रकार सम्मेलनमा बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले भने– ‘अभियुक्त राजेश यादव वसन्त मल्ल हत्यालगायत विभिन्न अपराधमा संलग्न रहेको पाइएको छ।
एसपी रानाले भने ‘आधादर्जन बढि अपराधमा संलग्न रही एक दशकदेखि फरार रहेका राजेशलाई पक्राउ गर्नु ठूलो सफलता हो। उनले थपे–‘यसअघि पटकपटक नेपाल–भारतमा लुकीछिपी बसिरहेका राजेशलाई उनकै घरबाट नियन्त्रणमा लिइएका हौं, उसका साथबाट तरवार र चक्कु १/१ थान समेत बरामद गरिएको छ।
बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जिल्लाको सुरक्षा व्यवस्थाका सम्बन्धमा १७ बुँदे प्राथमिकता सार्वजनिक गरेको भोलीपल्ट नै ‘मोस्ट वान्टेट’ राजेश पक्राउ परेका हुन्।
भारतबाट नेपाल आएको भन्ने सूचना पाएको बाँके प्रहरीले पछिल्लो समय अभियुक्त ‘धर्मा’ राजेशको विशेष निगरानी गर्दै आएको थियो।
बिगतमा शसस्त्र भूमिगत समुह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह)मा आबद्ध रही बाँके जिल्लामा हत्या, अपहरण, करणी, ज्यान मार्ने उद्योग, बम विस्फोट तथा फिरौती रकम माग गर्ने जस्ता आधा दर्जन बढी अपराधमा संलग्न राजेश संलग्न रहेको बाँके प्रहरी प्रमुख एसपी रानाले बताए।
पत्रकार सम्मेलनमा बोल्दै बाँके प्रहरी प्रमुखले पक्राउ परेका मोष्ट वान्टेड फरार सूचीमा रहेका ‘धर्मा’ भनिने राजेश यादवलाई ज्यान सम्बन्धी कसुर, अपहरण तथा शारीरिक बन्धक, हात हतियार खरखजाना, विस्फोटक पदार्थ ऐन अनुसार सजाय हुने बताए।
उनले भने–‘बाँके नेपालगन्ज– २१ पुरैना निवासी वसन्त मल्ल भनिने छन्द विक्रम मल्लको हत्यामा समेत संलग्न मुख्य दोषी रहेको राजेश र अन्य संलग्न अपराधीलाई कानूनी कटघेरामा जसरी पनि ल्याउने प्रतिबद्धता दिए।
वसन्त मल्ल हत्यामा संलग्न अपराधी पक्राउ गर्न यसअघि बाँके प्रहरीले उदासिनता देखाएपछि पीडीतले न्याय पाउन सकेका थिएनन्। दश वर्ष अघि भूमिगत सशस्त्र समूहबाट हत्या गरिएका नेपालगन्ज-२१ निवासी २२ वर्षीय छन्दविक्रम मल्लका परिवारले अभियुक्त राजेश पक्राउ परेसगैं यतिबेला न्याय पाउने आशा जागेको बताएका छन्।
२०६६ भदौ २१ गते सम्साझै घरबाट अपहरणमा परेका मल्लको भोलीपल्ट बिहान साविक उदयपुरस्थित धानखेतमा शव भेटिएको थियो। उनलाई गोली हानेर हत्या गरिएको हो।
स्थानीय युवा क्लबमा आबद्ध महेन्द्र बहुमुखी क्याम्पसमा आइए दोस्रो वर्षमा अध्ययनरत मल्ललाई सोबखत तराई मधेश मुक्ति टाइगर ज्वाला समूहले हत्या गरेको जिम्मा लिएको थियो।
हत्या भएको दश वर्ष वितिसक्दा पनि मल्ल परिवारले अहिलेसम्म हत्याको कारण थाहा पाउन सकेको छैन। दाईको हत्या कुन कारणले भयो, अझैं थाहा पाएका छैनौ, मृतकका भाई विजय मल्लले भने–‘यसअघि किटानी जाहेरी दिएका ब्यक्तिलाई प्रहरीले पक्राउ गरेपनि ती व्यक्ति छुटिसके, तर, हामीले न्याय पाएनौं।
उनले अघि थपे–‘हालै सरुवा भइ बाँके आएका बाँके प्रहरी प्रमुख रानाको सक्रियताले एउटा सफलता प्राप्त भएकोछ। हत्यारा राजेश यादवसहित दाईको हत्यामा संलग्न सबै अपराधीलाई कानूनी कारबाही होस्।
हत्यापछि मृकका बुवा रेशमदेव मल्ल र भाई विजयले घटनाका प्रत्यक्षदर्शीका नामबाट प्रहरी समक्ष जाहेरी दिएका थिए। फत्तेपुर स्थायी घर भई तत्कालिन समय पुरैना–२, निवासी २९ वर्षिय दिपु पाण्डे, २४ वर्षीय उपेन्द्र पाण्डे र पुरैनी–९ लोनियनपुर्वा निवासी राकेश लोनिया पक्राउ परे पनि कारबाहीका लागि प्रहरीको असहयोगले अदालती दायरामा नपरेको मल्ल परिवारको गुनासो छ।
‘वसन्तको हत्या भएको बेला नेपालगन्ज स्थित भेरी प्राविधिक शिक्षालयमा सुरक्षा निकायको राष्ट्रिय सम्मेलन समेत भइरहेको थियो। देशभरका सबै सुरक्षा निकायका विशिष्ट व्यक्तिहरुको नेपालगन्जमै उपस्थिती हुदाँसम्म पनि चासो नलिनु सरकार र सुरक्षा निकायको गैरजिम्मेवारी हो।
मृतकका भाई विजयले हिमालीसंचारसंग भने–‘हामीले सवुत, प्रमाण र किटानी जाहेरी दिँदासम्म पनि त्यो वेला दोषीलाई कारबाही गर्नुको साटो घटना साम्य पार्ने काम प्रहरीले गर्यो।
अहिले दाईको हत्यामा संलग्न मुख्य ब्यक्ति पक्राउ परेकाछन्। बाँके प्रहरीसंग मेरो अनुरोध छ बाँकी अपराधीलाई पनि कानूनी दायरामा ल्याइयोस्’ विजयले थपे।
मृतक वसन्तको परिवारले सो बखत दिएको किटानी जाहेरीमा दिपु र उपेन्द्र भूमिगत समूहका कार्यकर्ता भएको आरोपमा पक्राउ परेका थिए। तत्कालिन बाँकेका निमित्त प्रहरी प्रमुख (डिएसपी) राजकुमार बैदावारले हत्या जस्तो अपराधमा चासो नदिँदा दोषी उम्किएको मृतक मल्लका आमा धनसरा मल्लले बताईन्।
‘घटनापछी हामी शोकमा थियौं, पक्राउ परेकाले जमिन बेचेर पैसा बुझाएको भन्ने सुनियो, उनीहरुलाई प्रहरीले त्यसै छाड्यो’–उनले भनिन्।
जिल्ला प्रहरी प्रमुख फेरिदाँ मल्ल परिवार हरेक पटक वसन्त हत्या घटनाको प्रभावकारी अनुसन्धान र दोषीलाई कारबाहीका लागि झकझकाउन पुग्छन्। तर, प्रहरीबाट कुनै सहयोग नमिलेको आमा धनसराले बताईन्।
मल्लका आमा धनसराले भनिन्–‘त्यतिबेला मिङ्मार लामा बाँकेका प्रहरी प्रमुख थिए, पछि आएका महेश विक्रम शाह, दिनेश अमात्यासँग पनि धेरै धायौं। तर, हाम्रो आवाज कसैले पनि सुनेन्, चासो दिएनन्।
उनले भनिन्–‘केही वर्ष पहिले बाँके प्रहरी प्रमुख विक्रमसिंह थापाबाट हामीले ठूलो आशा लिएका थियौं तर, उहाँबाट पनि सहयोग पाएनौं। अब त न्याय पाउने आशा नै मरिसकेको थियो।
बाँके प्रहरी प्रमुखमा सरुवा भइ आएका ओमबहादुर रानाले जिल्लाको शान्ति, सुरक्षा र अपराध न्यूनिकरणका लागि आफ्नो आगामी कार्ययोजना सार्वजनिक गरेको एक दिन वित्न नपाउँदै छोराको हत्यामा संलग्न अपराधी राजेशलाई पक्राउ गरेकोछ।
अब न्याय पाइन्छ, मल्लकी आमा धनसराले भनिन्–‘कुनै पनि बहानामा अपराधीलाई उन्मुक्ति नदिइयोस्। प्रहरीले आफ्नो शाख जोगाएकोछ। छोराको हत्यामा संलग्न सबै अपराधिलाई कानूनी कारबाही होस्।
यो पनि पढ्नुहोस।
मृतक मल्ल परिवारले छोराको हत्यारालाई कानूनी कारबाही र न्याय माग्दै राष्ट्रपति, प्रधानमन्त्री तथा गृहमन्त्रीलाई पटकपटक ज्ञापनपत्र बुझाउँदै अपराधीलाई हदैसम्मको कारबाहीको माग समेत गरेका थिए।
सबै तह र तप्कामा आधिकारिक निवेदन दिई दोषीलाई कारबाहीको माग गर्दा गर्दै दश वर्ष वित्यो तर, सोबखत प्रहरीले हत्या गरिएका वसन्तका भाई विजय मल्लले दिएको किटानी जाहेरीलाई समेत लत्याएको थियो।
मृतक मल्ललाई सहिद घोषणा, पीडित परिवारलाई शान्ति सुरक्षा, दोषीलाई कारबाहीको माग समेत राखेका थिए। हाम्रा माग सम्बोधन भएन, मृतकका बुवा रेशमदेव मल्लले भने –‘म आफै नेपाल प्रहरीको ३२ वर्ष सेवा गरेर अवकास प्राप्त गरेको ब्यक्ति, प्रहरीले मेरो छोराका हत्यारालाई पक्राउ गरि कारबाही गर्नुको साटो उल्टै घटनाको प्रकृति र सबुद मेटाउने काम गर्यो।
मल्लका बुवा रेशमले थपे–‘प्रहरीको अनुसन्धान यति फितलो हुनुको पछि उनीहरुको स्वार्थ थियो। जसका कारण उनीहरु जिम्मेवारीबाट पन्छिरहेका थिए।
अपराध अनुसन्धानमा ढिलो चाँडो हुन्छ तर, पीडित परिवारले किटानी जाहेरी दिए पनि घटनाको दोषी उपर कुनै कारबाही नभएको अवस्थामा अहिले आएका बाँके प्रहरी प्रमुखले न्याय पाउने बाटो खोलिदिएको मल्लका बुवा रेशम देव मल्लले बताए।
घटना घटे लगत्तै राज्यले हामीलाई किरिया खर्च वापत रकम उपलब्ध गराएर स्वयम सरकार पनि जिम्मेवारीबाट पन्छिने काम मात्र गर्यो।
मल्लका वुवा रेशमदेवले भने–‘प्रहरीले चाह्यो भने अनुसन्धानका दायरालाई फराकिलो बनाउदै दोषीसामु पुग्नसक्छ। तर, हाम्रा आवाज कसैले पनि सुनिदिएनन्।
घटना भएको केही समयपछि साविक पुरैना गाविस र स्थानीयबासीको पहलमा उनको वस्ती नजिकै वसन्त मल्ल चोक नामाकरण गरिएको छ।
