आज : २०२६-०६-०८, सोमबार

जगाई धर्ती सलल बग्छ नदीझैँ जिन्दगी…

दिलभित्र ठाउँ नभएसम्म मागेर के हुन्छ
मूल फुटी वैँस रसाएपछि भागेर के हुन्छ ?

उठ न उठ निदाएको मान्छे लाशझैँ नबन
भयले जीवन मूर्छाएपछि झाँगेर के हुन्छ ?

लक्ष्‍य छ पर जिएर हेर भेटिन्छ कुनै दिन
निशाना जति चुकाएपछि दागेर के हुन्छ ?

चढाई हेर जिउने मात जिन्दगी रङ्गिन छ
अस्मिता सबै लुटिएपछि लागेर के हुन्छ ?

हातैमा लटाई चङ्गाझैँ मन रहरको सार्वरी
प्रेमको धागो मक्किएपछि टाँगेर के हुन्छ ?

जगाई धर्ती सलल बग्छ नदीझैँ जिन्दगी
सहर्ष सपना जलाएपछि जागेर के हुन्छ ?

– प्रथा