News Portal

श्रम स्वीकृति लिएकालाई अब विभिन्न बाहानामा विमानस्थलबाट नफर्काईने

७४० पटक

शम्भु कट्टेल
काठमाडौँ – श्रम स्वीकृति लिएका कामदार अब वैदेशिक रोजगारीमा बिनाझन्झट जान पाउने भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले श्रम स्वीकृति लिइसकेका कामदारलाई अनावश्यक कागजपत्र मागेर झन्झट समेत दिने छैनन्।

अध्यागमन र वैदेशिक रोजगार विभागका अधिकारीबीच भएको पटकपटकको छलफलले व्यक्तिगत वा संस्थागत जुन प्रकारको श्रम स्वीकृति लिएको भए पनि त्यस्ता कामदारलाई बिनारोकावट वैदेशिक रोजगारीमा जान पाउने निर्णय गरेको हो। उक्त निर्णय कार्यान्वयन गराउनेबारे अध्यागमन विभागले त्रिवि विमानस्थलस्थित अध्यागमन कार्यालयलाई समेत पत्राचार गरिसकेको छ।

वैदेशिक रोजगार विभागबाट जारी श्रम स्वीकृति लिएका कामदार अब अध्यागमन कार्यालयबाट फर्कनु नपर्ने अध्यागमन विभागका निर्देशक विष्णुहरि उपाध्यायले बताए। अध्यागमन विभागले अध्यागमनका कर्मचारीलाई अन्तिम श्रम स्वीकृति लिएका कसैलाई पनि नरोक्न निर्देशन समेत दिएको छ। विभागले श्रम स्वीकृति लिएका बेला पेस गरेका कागजपत्रको आधिकारिकताको विषयमा श्रम स्वीकृति दिने निकायको जवाफदेहिता हुने भएकाले श्रम स्वीकृतिबाहेक अन्य कागजपत्र नखोज्न त्रिवि अध्यागमन कार्यालयलाई निर्देशन दिएको हो।

विभागको लिखित निर्देशन बमोजिम नै अध्यागमनका कर्मचारीले श्रमको स्टिकर मात्र परीक्षण गर्ने गरेको त्रिवि अध्यागमन कार्यालयका निमित्त प्रमुख लक्ष्मण विक्रम थापाले बताए। ‘अन्तिम श्रम स्वीकृति लिएका कामदार रोकिएका छैनन्’, उनले भने।

भदौ ९ गते व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक माल्टा हिँडेका कामदारलाई विमानस्थलस्थित अध्यागमनले हचुवामा फिर्ता (अफ लोड) गरेपछि अध्यागमन र श्रम विभागले अब श्रम स्वीकृति लिएका कामदारलाई फिर्ता नगर्ने निर्णय गरेको थियो। १९ जना कामदारले श्रम स्वीकृति हुँदाहुँदै पनि बिनाकारण आफूहरूलाई फर्काएको गुनासो गरेपछि अध्यागमन विभागले उक्त निर्णय गरेको हो। विभागको नयाँ निर्णय सँगै फर्किएका सबै माल्टा गइसकेका छन्।

विभागले श्रम स्वीकृतिबारे केही शंका उत्पन्न भए वैदेशिक रोजगार विभागको आधिकारिक वेबसाइटबाट प्रमाणीकरण गर्नसमेत भनेको छ। वैदेशिक रोजगार विभागको वेबसाइटबाट प्रमाणीकरण गर्दा श्रम स्वीकृति लिएको प्रमाणित नभएको खण्डमा मात्र कामदार फिर्ता गर्न सकिने अध्यागमन विभागले त्रिवि अध्यागमन कार्यालयलाई पठाएको पत्रमा उल्लेख छ।

श्रम स्वीकृति लिएका व्यक्तिलाई समेत विभिन्न बहानामा फर्काउन थालेपछि विभागले त्यसो नगर्न विमानस्थल अध्यागमन कार्यालयलाई भदौ १२ गते लिखित निर्देशन दिएको हो।

प्रतिकृया दिनुहोस्

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...