News Portal

  • नेकपाको अल्मलिएको पार्टी समायोजन : यी हुन् ४ जटिलता

    ५८८ पटक

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश, जिल्ला र जनवर्गीय संगठनको समायोजनले अझै पूर्णता पाएको छैन । केन्द्रीय सचिवालयले तोकेको समयसीमा दुई/दुईपटक गुज्रँदा पनि समायोजन प्रक्रिया झन झन पर सरिरहेछ । बिमस्टेकको सम्मेलन, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री एवं बरिष्ठ नेताहरुको व्यस्तता प्रमुख कारण बताइए पनि समायोजन ढिलाइ हुनुमा अन्य कारण पनि त्यत्तिकै बलशाली देखिन्छन् ।

    नेकपाभित्रका समस्याहरु मुख्यतः चार प्रकारका देखिएका छन् । ती समस्याहरु देहाय अनुसार छन्ः

    क) हज्जारौं नेता कार्यकर्ताको व्यवस्थापनको प्रश्न

    एकताको घोषणापछि आफ्नो केन्द्रीय कमिटी निर्माण गर्न तत्कालीन एकता संयोजन समितिले लामै समय गुजारेको थियो । ४ सय ४५ जनाको टुङ्गो लगाउन सकस ब्यहोरेको नेकपालाई अहिले एकैपटक करिब ४ हजार नेता कार्यकर्ताको व्यवस्थापन गर्नु पर्दा समय नलाग्ने कुरै भएन । पार्टी एकताको ऐतिहासिक अवसरमा सबैले आफ्नो पदीय हैसियतको खोजी गर्नु नितान्त स्वभाविक हुन जान्छ ।

    तत्कालीन एमाओवादीभित्र तत्कालीन एमालेमा जस्तो प्यानलको आधारमा चुनाब हुने प्रचलन नबसी सकेकोले जिल्ला वा प्रदेशका सिनियर नेता पदीय हैसियत विहीन कोही पनि थिएन । पछिल्लो समयमा तत्कालीन माओवादीले जम्बो केन्द्रीय कमिटिको अभ्यास गरेकोले पनि प्रायः सबैको पदीय हैसियत थियो ।

    तर, तत्कालीन एमालेमा प्यानलको आधारमा चुनाब गरिने हुँदा देशैभरि ठूलो संख्यामा नेता कार्यकर्ता पदीय हैसियतविहीन अवस्थामा थिए । दुई पार्टीमा फरक फरक सांगठानिक संरचना भएको कारण तत्कालीन माओवादी केन्द्रको धेरै नेताको पद घटुवा गरेर समायोजन गर्नुछ भने तत्कालीन एमालेमा पदविहीन थुप्रैलाई नयाँ जिम्मेवारी प्रदान गर्नु पर्नेछ । यो सँगसँगै एकता प्रक्रियामा आएका थुप्रै नेता- कार्यकर्तालाई पनि यही मेसोमा जिम्मेवारी प्रदान गर्नु पर्नेछ ।

    ख) जनवर्गीय संगठनको नाम जुराउने प्रश्न

    एकतामा सम्मिलित दुई कम्युनिष्ट पार्टीले विगतमा फरक-फरक नामका जनवर्गीय संगठन सञ्चालन गर्दै आएका थिए । तिनीहरुको नाम र नेतृत्वलाई अन्तिम रुप दिन मिनी पार्टी एकताको कसरत गर्नुपर्ने वाध्यता छ । नेतृत्वको भागबण्डा र उनीहरुले अब प्रयोग गर्ने झण्डा आदिको टुङ्गो लगाउने विषय रातारात टुङ्गिने विषय होइन । धेरै जनवर्गीय संगठन पार्टी निर्माणका “कारखाना” भएकाले पनि तिनीहरुमा नेताहरुको विशेष दिलचस्पी हुनु अस्वभाविक होइन ।

    ग) पार्टीभित्रका नेता प्रधान समूहको प्रश्न

    नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालले “कम्युनिष्ट पार्टी नेता प्रधान होइन, नीति प्रधान हो” भनेका थिए । विडम्वना नै मान्नु पर्दछ, नेपालको कम्युनिष्ट आन्दोलनमा यो भनाई लागू भएन । पार्टीभित्रका अमूक नेतालाई धुरी बनाएर अन्तरसंघर्ष सञ्चालन हुने परम्परा चलेर आयो । तत्कालीन एमाले र माओवादी केन्द्रमा यो चलन सतहमै देखिदै आएको थियो । पार्टी एकतापछि निःसन्देह नयाँ परिस्थिति त उत्पन्न भएको छ । तर, भुँसको आगो फैलिएझैं “नेता प्रधान समूह” बन्ने प्रक्रिया चलिरहेको अनुभूत गर्न सकिन्छ । पार्टी एकताले विगतको समूहबन्दी नष्ट भएको छैन, बरु रुपान्तरणको तीब्र प्रक्रियामा गुज्रेको देखिन्छ । मातहत कमिटिको एकता हुँदै गर्दा शीर्षनेताले आफ्नो प्रभावको लेखाजोखा सहित फुकी फुकी पाईला चाल्ने कार्यले समायोजन प्रक्रियालाई थप लम्ब्याईदिएको छ ।

    घ) भावनात्मक एकताको प्रश्न

    वैचारिक र सांगठानिक एकतामात्र पार्टी एकताको लागि पर्याप्त छैनन् । पार्टी एकताको लागि भावनात्मक एकता अर्को महत्वपूर्ण आयाम हो । तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रका नेता कार्यकर्ताविच अझै निकै ठूला भावनात्मक खाडलहरु पुरिएका छैनन् । एक अर्कावीच थुप्रै शंका उपशंका बाँकी छन् । तेरो पक्ष र मेरो पक्ष भन्ने घाषित अघोषित अवस्था रहेसम्म साँचो अर्थमा पार्टी एकता भएको मान्न सकिँदैन ।

    वैचारिक र भावनात्मक एकतालाई नजरअन्दाज गरियो भने पूर्वपञ्चहरुको तत्काल पार्टी एकता र तत्काल पार्टी विभाजनको नियति नेकपाले भोग्नुपर्दैन भन्ने ठाउँ छैन । तलदेखि माथिसम्म देखिएको प्रतिशत र नेतृत्वको टकरावले भावनात्मक एकताको प्रश्नलाई ओझेलमा पारिदिएको छ । सबै मिलेर फिल्डमा खट्ने अवस्था सिर्जना नभई भावनात्मक एकता बन्नै सक्दैन ।

    र, अन्त्यमा

    यावत् जटिलताका विच शीघ्रातिशीघ्र तृणमूल तहसम्म पार्टी एकतालाई पुर्याउनुको विकल्प नेकपालाई छैन । पार्टीका सबै तहमा संस्थागत क्रियाकलाप नहुँदा नेकपाले नेतृत्व गरेका तीनै तहका सरकार अपेक्षित प्रभावकारी बन्न सकेका छैनन् । पार्टीले अविलम्ब नियन्त्रण र सन्तुलनको परिपाटी नथाले सरकारहरुमा तदारुकता नआउने मात्र होइन, अराजकता मौलाउने अवस्था समेत विद्यमान छ ।

    “कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले कुकुर हल्लाउने” भन्ने समस्याबाट पार्टी र सरकारलाई चाँडै मुक्त गरिनु आवश्यक छ । (अनलाइनखबर)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विराटनगरको भाटभटेनीमा शव फेला

    विराटनगर, भदौ ३० – जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगर–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार जलेको...

    भाग्य न्यौपानेले सामाजिक सञ्जालबाट विवादास्पद भिडिओ हटाए

    काठमाडौं, भदौ ३० – युट्युबर भाग्य न्यौपानेमाथि जेनजी प्रदर्शनको क्रममा भ्रामक र उत्तेजक सूचना फैलाएको...

    एनसेलको कार्यालयमा तोडफोड र आगजनी, कम्पनीले प्रहरीमा उजुरी दर्ता

    काठमाडौं, भदौ ३० – काठमाडौंको लैनचौरस्थित एनसेलको मुख्य कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनापछि...

    नवनियुक्त तीन मन्त्रीले लिए शपथ

    काठमाडौं, भदौ ३० – सोमबार तीन नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...

    मकवानपुरमा सुत्केरीमाथि बलात्कार, एक जना पक्राउ

    मकवानपुरको राक्सिराङ गाउँपालिका–१ इन्दुङमा दुई महिनाकी सुत्केरी महिलामाथि बलात्कार भएको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा...