एउटा प्रश्नले मन सधै अमिलो भइरहन्छ। आङ सिरिङ्ग हुन्छ। छुवाछुत कहिलेसम्म ? समय फेरियो, मान्छेहरु पनि नयाँ र आधुनिक भए, कानुन पनि आयो तर छुवाछुत हटेन। छुवाछुतमुक्त गर्ने भाषण मञ्चमा गर्छ मान्छे, फेरि आमा र बाबालाई देखाएर घरमा छुवाछुत गर्छ त्यही मान्छे।
अन्तरघुलनका परिभाषा र महत्वको बारेमा निबन्ध लेख्छ मान्छे, आफ्नो छोरी तथाकथित तल्लो जातको मान्छेले भगाइदियो भनेर प्रहरी प्रशासनमा पुग्छ त्यही मान्छे।
बिभेदमुक्त समाजको अभियन्ता बन्न रहर गर्छ मान्छे, सँगै बसेर चिया पिउने पर्ने अवस्था आयो भने बहाना बनाउछ त्यही मान्छे। आम मान्छेको कुरा गर्नुको खासै अर्थ छैन। यो लीला ? देखेर मनमा बिद्रोहको राँको सल्कन्छ। आखिर छुवाछुत कहिलेसम्म ?
के छुवाछुत कानुनले हटाउँछ त ? अहँ मलाई कत्ति पनि बिश्वास छैन छुवाछुत कानुनले हटाउँछ भनेर। कानुनले त छुवाछुतको अपराध गर्नेलाई कानुनअनुसार दण्ड सजाय गराउदछ।
मान्छे मारे आजिवन जेल सजायको व्यवस्था भएको कत्ति भयो तर, अझै मान्छे मार्न छाडेका छैनन्। कुनै कुनै देशमा त मान्छे मारे फासी हुन्छ, तर मान्छे फाँसी रोजेर पनि मान्छे मार्छ।
त्यसैले गैरदलित समुदायका सचेत मानिसहरुले साँचो अर्थमा छुवाछुत विरोधी अभियान चलाउन सक्नुपर्दछ। दलित, गैरदलितहरुको फराकिलो बृहत् मोर्चा बनाएर जान जरुरी छ।
बृहत् मोर्चाले मात्र पूर्ण रुपमा जातीय छुवाछुतमुक्त परिवेश र समाज निर्माण गर्न सक्छ तर,गाँउगाँउमा यस्ता अभियानको नेतृत्व गरिदिने कसले ? छुवाछुत हट्ने कहिलेसम्म ?
हो, त्यो भनेको अपराधिक मानसिकताले हुने हो। अपराधिक मानसिकता हुने मान्छेलाई कानुनले दण्डित गर्छ नै तर, यहाँ त आम रूपमा छुवाछुतलाई अपराध मानिँदै। आजको मितिमा पनि छुवाछुतलाई प्रथा र परम्पराको रूपमा मानिएको अवस्था छ।
समाज विकासको क्रमिकतामा छुवाछुत ‘प्रथा’ हट्दै जान्छ आत्तिनु पर्दैन भन्ने भनाइ विद्धान मित्रहरुबाट नै आउदा यो मन चसक्क बिझाउछ। आखिर समाज परिवर्तन हुने कहिलेसम्म ?
बितेको एक महिनाभित्र दर्जन बढी जातीय छुवाछुत र बिभेदका घटना सञ्चार माध्यममा छाएका छन्। घटेका घटनाहरुमध्ये प्रतिनिधिमूलक तीन घटना यस्ता छन्।
१. पोखरा १६ का मोहन सुनारको भाइको मृत्यु बिदेशमा भयो। मोहन सुनारले लकडाउनका कारणले गर्दा नजिकै भएको सार्वजनिक क्रियापुत्री भवन प्रयोग गर्न मागे तर, जातीय कारणले प्रयोग गर्न दिइएन। उल्टै गाली गलौजमा उत्रिए जनक थापा र देव बहादुर थापा।
हामी समान हुन खोज्ने भनी मार्ने धम्की दिएपछि घटनाले कानुनी बाटो समात्यो। सम्मानित कास्की जिल्ला अदालतले घटनामा संग्लग्न जनक थापा, देव बहादुर थापा र रामु जीसीलाई जनही एक लाख सत्तरी हजार धरौटी लिएको छ।
२. पाल्पामा श्यामबहादुर परियार पानी परेकाले नजिकै घरमा ओत बस्छन्। गाँउलेहरुले घर अशुद्ध भयो भनेर घर चोख्याउन भन्दै श्यामबहादुर परियारलाई आठ हजार जरिवाना गर्छन् तर, श्यामसँग पैसा नभएपछि पन्ध्र सय मात्र जरिवाना गर्छन्। अहिले यो जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ।
३. जाजरकोटका नबराज बिश्वकर्माले पश्चिम रुकुममा प्रेम विवाह गर्र्न खोज्छन्। उनकी प्रेमिका मल्ल भएको कारण उनी, टिकाराम सुनार र गणेश बुढाको हत्या हुन्छ। बाँकी ३ जना बेपत्ता छन्।
गाँउले सबै मिली सामुहिक हत्या गरेको यो प्रकरण बिभत्स छ। जातीय छुवाछुत र भेदभावजन्य अपराधिक मानसिकता हत्यारा जल्लादको रुपमा प्रकट भएको छ।
यी प्रतिनिधि घटनाले हाम्रो समाजलाई लज्जित बनाएको छ। अझैपनि हामीकहाँ कोही अछुत र कोही गैर अछुत भन्ने यस्तो डरलाग्दो खतरनाक मानसिकता छ। यो मानसिकताले नेपालको आजको आधुनिकीकरण हुदै गएको समाजको दानवीय स्वरुप बेला बेलामा प्रकट भइरहेको छ। यो मानसिकता परिवर्तन हुन्छ कहिलेसम्म ?
भारतमा १९६० दशकमा दलित प्यान्थर्स भन्ने एक लडाकु दस्ता थियो। जहाँ छुवाछुतजन्य घटना घट्थ्यो, दलित प्यान्थर्स पुग्थ्यो। ठाँउका ठाँउ कारबाही गर्थ्यो। आजको नेपाली परिबेशले नेपाली दलित समुदायलाई त्यो ठाँउमा पुर्याएमा कसले जिम्मेवारी लिन्छ ? विषय दिनानुदिन जटिल बन्दैछ। लगातार घटिरहेका यस्ता घटनाहरुको न्यूनीकरण र निर्मुलीकरणको लागि ठोस कदम चाल्नुपर्दैन ?
नेपाली समाजमा रहेको छुवाछुतजन्य विभेदलाई अन्त्य गर्न गैर दलितहरुको भूमिका महत्वपूर्ण हुन्छ। छुवाछुत गर्ने समुदायले नै छुवाछुत नगरेमा त छुवाछुतजन्य अपराध त समाजले ब्योहर्न पर्दैन नि त।
त्यसैले गैह्र दलित समुदायका सचेत मानिसहरुले साँचो अर्थमा छुवाछुत बिरोधी अभियान चलाउन सक्नुपर्दछ। दलित गैह्र दलितहरुको फराकिलो बृहद मोर्चा बनाएर जान जरुरी छ।
बृहद मोर्चाले मात्र पूर्णरुपमा जातीय छुवाछुतमुक्त परिवेश र समाज निर्माण गर्न सक्छ तर,गाँउगाँउमा यस्ता अभियानको नेतृत्व गरिदिने कसले ? छुवाछुत हट्ने कहिलेसम्म ?