आज : २०२६-०६-२८, आइतबार

कविता “मैले किन सोच्ने ?”

कविता “मैले किन सोच्ने ?”

म समुन्द्रको माछा
मलाई के थाह
खडेरी कस्तो हुन्छ,
र मैले यसको बारे किन सोच्ने ?

म हिमालको डाँफे
मलाई के थाह
तराईको गर्मी कस्तो हुन्छ
र मैले यसको बारे किन सोच्ने ?

म टाकुराको पहरो
मलाई के थाह
फेदीको ढुंगोको नियित कस्तो हुन्छ?
र मैले यसको बारे किन सोच्ने ?

म निलो निलो आकाश
मलाई के थाह
महाप्रलयको धर्ती कस्तो हुन्छ
र मैले यसको बारे किन सोच्ने ?

म महलको सन्तान
मलाई के थाह
गरीबी र कुपोषण कस्तो हुन्छ
र मैले यसको बारे किन सोच्ने ?

म दरबारको राजकुमार
मलाई के थाह
झुपडीको जीवन कस्तो हुन्छ
र मैले यसको बारे किन सोच्ने ?

म यो देशको सरकार
मलाई के थाह
निरीह जनता कस्तो हुन्छ
र मैले यसको बारे किन सोच्ने ?

नरेन्द्र राना, रुकुम