News Portal

स्वास्थ्य संकटमा बढ्दो सामाजिक असमानता

जनार्दन थापा
३९८ पटक
जेष्ठ ४, २०७७ आईतबार

काठमाडौं – कोरोना महामारीले ठूलो-सानो, धनी-गरिब, गोरो-कालो हेर्दैन भनिँदै आएको छ । तर यसमा आंशिक मात्र सत्यता छ । संक्रमणको जोखिम सबैमा समान हुँदैन।

चिकित्सक तथा मानवशास्त्री पउल फार्मरको सन् १९९९ मा प्रकाशित ‘इन्फेक्सन एन्ड इनइक्वालिटी : द मोडर्न प्लेग’ अध्ययनले संक्रामक रोग र महामारीसम्बन्धी नयाँ दृष्टि दिएको थियो ।

चिकित्सकका रूपमा हाइटीमा एचआईभी/एड्ससँग र पेरूमा टीबीसँग लड्दा गरेको अनुभव र अध्ययनका आधारमा उनले आधुनिक प्लेगको वितरण र परिणाममा गहिरो सामाजिक असमानता रहेको प्रामाणिक निष्कर्ष निकालेका थिए।

कोरोना-संकटले पनि संसारकै सामाजिक असमानता र विभेदका विभिन्न पाटालाई उदांगो बनाएको छ।नेपालका सन्दर्भमा उमेर समूह, आर्थिक-लैंगिक हैसियत, पेसा, शक्ति र पहुँचका आधारमा फरकफरक समूहले संक्रमण र लकडाउनको कहर कसरी भिन्नभिन्न रूपमा भोग्नुपर्छ भन्ने विश्लेषण यहाँ गरिएको छ ।

उमेर समूह प्रभाव !

कोरोना महामारीबाट सबै उमेर समूहका मानिस कुनै न कुनै रूपमा प्रभावित छन् । यद्यपि वृद्ध र बाल समूहमा पर्ने प्रभावहरू विशेष महत्त्वका छन् ।

हामीकहाँ महामारी र लकडाउनको बहसमा यी समूह ओझलमा परेका छन् । अहिलेसम्म गम्भीर रूपमा संक्रमित बालबालिकाको संख्या निकै कम छ, तर महामारीले यो समूहलाई फरक तरिकाले प्रभाव पारिरहेको छ ।

नेपालमा धेरै बालबालिकालाई मृत्युको मुखमा पुर्‍याउने निमोनिया, झाडा-पखाला, मलेरिया, कुपोषण र दादुराजस्ता स्वास्थ्य समस्याबाट बच्ने सेवाहरू अहिले नियमित छैनन् । स्वास्थ्य प्रणाली संक्रमण रोकथाममा केन्द्रित रहँदा खोप लगायतका सेवाहरू प्रभावित भएका छन् ।

निकट भविष्यमा तल्लो सामाजिक तप्काका धेरै बालबालिकाले रोकथाम गर्न सकिने रोगहरूबाट जीवन गुमाउनुपर्ने विकराल अवस्था आउन सक्छ । लकडाउनले बालबालिकाको सिकाइ र शिक्षामा पनि ठूलो प्रभाव पारेको छ ।

धेरै बालबालिकाका लागि उपल्लो सामाजिक समूहमा जस्तो घरमै पढ्नका लागि कम्प्युटर, ब्रोडब्यान्ड र सीपसहितका अभिभावक छैनन् । यसले पहिले नै गहिरो रहेको शैक्षिक असमानताको खाडल झन् गहिर्‍याउने निश्चित छ ।

मानवशास्त्री लुइसा कर्टेसीले इटालीमा यो महामारीले ल्याएको अवस्थाको हृदयविदारक वर्णन गरेकी छन् । प्रकोपको इपिसेन्टर रहेको लोम्बर्डियाको बर्गामोमा मृत्यु हुनेमध्ये ९० प्रतिशतले घरमा एम्बुलेन्स पर्खिंदापर्खिंदै इहलीला समाप्त गरेका थिए । यीमध्ये अधिकांश वृद्धवृद्धा थिए ।

भेन्टिलेटरको अभावका कारण निको हुने सम्भावना (प्रोग्नोसिस) राम्रो भएकालाई प्राथमिकता दिने कठोर निर्णय गर्न चिकित्साकर्मीहरू बाध्य भएका थिए । यस्तो परिस्थितिमा वृद्धवृद्धाले जीवनरक्षक उपचार पाउने सम्भावना अत्यन्त न्यून हुने नै भयो (स्यापिएन्स, अप्रिल ९) । नेपालमा पनि उमेरका आधारमा हुने यस्तो असमानताको निकै ठूलो अर्थ छ ।

गाउँमा मात्र होइन, सहरमा पनि ठूलो संख्यामा पाका उमेरका आमा-बाबुहरूका साथमा सन्तान छैनन् । नियमित स्वास्थ्यसेवा आवश्यक भएका, दीर्घरोगबाट प्रभावित र एकाकी जीवन बाँचिरहेका यीमध्ये धेरै ज्येष्ठ नागरिकको सुरक्षाजालो (सेफ्टी नेट) निकै कमजोर अवस्थामा छ ।

रोगले बढी जोखिममा रहेको उमेर समूह ७० वर्षमाथिको छ तर तल्लो आर्थिक-सामाजिक समूहमा भने यसको ‘थ्रेसहोल्ड’ ५५ वर्ष मात्रै छ । संक्रमणको स्थानीय प्रसार सुरु भएसँगै निकै कमजोर सामाजिक सुरक्षा र स्वास्थ्य संरचना भएको हाम्रो देशको यो जनसंख्यालाई निकै कठिनाइ पर्ने निश्चितै छ ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...