आज : २०२६-०६-०८, सोमबार

मुकेश मल्ललार्इ ललितकला पुरस्कार प्रदान गरिदै

काठमाडौं – ललितकला पुरस्कार कलाकार मुकेश मल्ललाई प्रदान गरिने भएको छ । वरिष्ठ कलाकार दुर्गा बरालद्वारा स्थापित र पोखरेली युवा सांस्कृतिक परिवारद्वारा सञ्चालित पुरस्कार कलाकार मल्ललाई प्रदान गर्ने निर्णय भएको हो ।

२०१० सालमा धनकुटामा जन्मेका मल्लले काठमाडौंलाई कर्मथलो बनाउँदै देश तथा विदेशमा कलाकारिता र कला समीक्षाको सुगन्ध पुर्‍याएका छन् ।

मल्ललाई भदौ २२ गते शुक्रबार १० हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्रले पुरस्कृत गरिने परिवारका अध्यक्ष दीपक समीपले जानकारी दिए । आफूले पाएको पुरस्कारमा रकम थपेर वरिष्ठ कलाकार दुर्गा बरालले अक्षयकोष स्थापना गरेका हुन् ।

कवि तीर्थ श्रेष्ठको संयोजकत्वमा पुरस्कारका संस्थापक दुर्गा बराल, कलाकार वुद्धि गुरुङ सदस्य र परिवारका अध्यक्ष समीप, सचिव अर्जुन अधिकारी पदेन सदस्य रहेको रहेको छनोट समितिले यसपटकको ललितकला पुरस्कार मल्ललाई दिने निर्णय गरेको हो ।

‘मल्लले नेपाली कलाकारिताको जगतमा अत्यन्त ठूलो योगदान पुर्‍याएका छन् । देशदेखि विदेशसम्म उनको कला र कलासँगै कलाको समीक्षात्मक धारणा पनि पुगेको,’ छनोट समिति संयोजक कवि तीर्थले भने, ‘मल्ल कलाकारितासँगै साहित्यसँग पनि अत्यन्त नजिक छन् ।’

मल्लले धरान, धनकुटा, पोखरा, काठमाडांै गरेर १४ पटक एकल कला प्रदर्शनी गरिसकेका छन् । संस्कृति, प्राचीन, मध्यकालिन कला, वस्तुकला, धर्म, लिपी जलरंग चित्रकलामा एमए गरेका मल्ल नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा पनि आवद्ध भएर काम गरेका छन् । स्कुले बेलादेखि नै कला क्षेत्रमा होमिएका मल्ल चित्रकला, कला प्रर्दशनी, हस्त लिखित पत्रिका नाटक, नाँच लगायतमा संलग्न रहेर काम गरिरहेका छन् ।

धनकुटादेखि २०४० सालमा एकल कला प्रदर्शनी गर्न काठमाडांै पुगेका मल्ल त्यसपछि उतै बसोबास गरेका थिए । कला क्षेत्रको विभिन्न संघसंस्थामा रहेका काम गरेका मल्ल स्तम्भककार पनि हुन् ।

उनले कलासँग सम्बन्धित झन्डै दर्जन पुस्तक प्रकाशित गरेका छन् । मल्ललाई तीन दशक कला सिर्जनामा लागेबापत नेपाल सरकारले २०६१ सालमा सम्मान गरेको थियो । यो सँगै उनले दर्जनौं क्षेत्रीय तथा राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गरेका छन् ।

यसअघि यो पुरस्कारबाट कलाकार कृष्णप्रसाद श्रेष्ठ, गोपाल श्रेष्ठ, क्षेत्रलाल कायस्थ, बुद्धि गुरुङ, हरेराम जोजिजु, यादवचन्ऽ भूर्तेल, सरोजा खड्गी र लोकप्रसाद गुरुङ र कलाकार राजन काˆले पुरस्कृत भइसकेका छन् ।