News Portal

खोटाङ प्रवेश गर्ने झोलुङ्गे पुलमा ताला

हिमाली संचार संवाददाता
४३३ पटक
२०७७ बैशाख २३, मंगलवार

खोटाङ। कोरोना भाइरसको कारण उदयपुर खोटाङ सिमानामा पर्ने कम्पुघाटस्थित सुनकोशी नदीमा सञ्चालित झोलुङ्गे पुलमा रातको समयमा ताला लगाउने व्यवस्था गरिएको छ ।

उदयपुरमा कोरोना भाइरसको सङ्क्रमित भेटिएसँगै त्यहाँ बसोबास गर्दै आएका खोटाङे सर्वसाधारण भागेर जिल्ला भित्रिने क्रम नरोकिएपछि बराहपोखरी गाउँपालिका–४ फाक्टाङको कम्पुघाटमा सञ्चालित झोलुङ्गे पुलमा तार जालीको अग्लो बार लगाउने व्यवस्था गरिएको हो ।

रातको समयमा भित्रिने खोटाङे स्थानीय बासिन्दासँगै कोरोना भाइरसको सङ्क्रमणसमेत भित्रिने खतरा भएकाले हरेक राति झोलुङ्गे पुलमा फलामे तारजालीको छेकाबार लगाउन थालिएको फाक्टाङका वडाध्यक्ष भुबलराज राईले बताए । “दिनमा भित्रिने स्थानीय बासिन्दाको कम्पुघाटमा स्थापना गरिएको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरेर स्वास्थ्य रहेका व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्ने गरी छाड्ने गरिएको छ”, उनले भने, “दिउँसो आउँदा प्रहरीले रोक्ने डरले रातको समयमा प्रहरीलाई छलेर स्थानीय बासिन्दा जिल्ला भित्रिने क्रम नरोकिएपछि पुलमै ताला लगाइएको हो ।”

फाक्टाङमा निर्माण गरिएको क्वारेन्टाइनमा उदयपुरबाट घर फर्किएका २३ स्थानीय बासिन्दालाई राखिएको जनाइएको छ । कम्पुघाटमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएका प्रहरी र अहेवसहितको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरेपछि मात्र स्थानीय बासिन्दालाई गाउँपालिका प्रवेश गर्न दिने गरिएको छ ।

उदयपुरमा ठूलो संख्यामा कोरोना संक्रमित व्यक्ति भेटिएसँगै आफ्नो क्षेत्रमा फैलन नदिन उच्च सतर्कता अपनाइएको गाउँपालिका उपप्रमुख गोमा मगरले बताए । “उदयपुरसँग हाम्रो गाउँपालिकाका स्थानीय बासिन्दाको नाता सम्बन्धसमेत जोडिएको छ”, उनले भने, “विभिन्न बहानामा हुने आवतजावतले फैलिन सक्ने संक्रमणलाई रोक्न सिमानाको झोलुङ्गे पुलमा बेलुका ५ देखि बिहान ७ बजेसम्म मान्छेले नाघ्नै नसक्ने गरी फलामे तारजाली प्रयोग गरेर ताला लगाउने गरिएको छ ।”

गाउँपालिकासँगै जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने स्थानीय तहका स्थानीय बासिन्दाको छिमेकी जिल्ला उदयपुरमा व्यवसायसमेत रहेको छ । उदयपुरमा अध्यायन तथा व्यवसाय गर्दै आएका खोटाङेहरु अहिले धमाधम घर फर्कने क्रम जारी छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले उदयपुरबाट जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका बन्द गर्ने निर्णय गरे पनि कार्यान्वयन भएको छैन । जिल्लामा अवश्यक अधिकांश दैनिक उपभोग्य वस्तु उदयपुरबाटै भित्रिने गरेकाले उदयपुरमा कोरोना संक्रमित भेटिएसँगै खोटाङ पनि उच्च जोखिममा रहेको भन्दै वैशाख ७ गते बसेको समितिको बैठकले नाका बन्द गर्ने निर्णय गरेको थियो ।

दश स्थानीय तह रहेको खोटाङमा विदेशबाट घर फर्किएका १ सय १५ जना स्थानीय बासिन्दाको आरडिटी तथा १५ व्यक्तिमा गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । वैदेशिक रोजगारीको सिलसिलामा गत चैत्रयता विभिन्न देशबाट घर फर्किएका १० वटै स्थानीय तहका १ सय १५ व्यक्ति आरडिटी तथा १५ व्यक्तिमा पिसिआर परीक्षण गरिएको थियो ।

जिल्लाका १० वटै स्थानीय तहमा गरी ३ सय ४ जना क्वारेन्टाइन र १३ आइसोलेसन वार्ड निर्माण गरिएको छ । सबै स्थानीय तहमा क्वारेन्टाइन निर्माण गरिए पनि विदेशबाट फर्किएर क्वारेन्टाइन बस्नेको संख्या भने न्यून रहेको छ। 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...