News Portal

किन बोल्दैनन् बोक्सी आरोपमा क्रूर यातना खेपेकी राधासँग गाउँले ?

हिमाली संचार संवाददाता
९६६ पटक

अर्जुन शाह/धनगढी — बोक्सी आरोपमा क्रूर यातना खेपेकी राधा चौधरी गाउँमा पुनर्स्थापना त भइन्, तर उनीप्रति गाउँलेको दृष्टि अझै सकारात्मक हुन सकेको छैन । गाउँले अहिले पनि उनलाई देखेपछि टाढिन्छन् । ‘मेरो गाउँवासी अहिले पनि मलाई देखेपछि टाढिएर हिंड्छन्,’ राधाले भनिन्, ‘विद्यालयमा पनि मेरो गाउँका कोही साथी म सँग बोल्दैनन् ।’ आफूलाई अझैं पनि गाउँमा बस्न सहज नभएको राधा बताउँछिन् ।

गाउँमा अझैं पनि आफूप्रति शंकाको व्यवहार गर्नेहरू देखेर राधाको आत्मबल बढेको छैन। प्रत्यक्ष रुपमा गाली गर्न त आउँदैनन्। तर परबाट औला तेस्याएर कुरा काट्छन्। पिठ्युपछाडि ‘बोक्सी’ भनेर गाली गर्ने गरेको सुन्दा नमिठो लाग्ने गरेको उनले सुनाइन्। आफ्नो अवस्थाबारे कुरा गर्दैगर्दा राधाले जबर्जस्ती मुस्कुराउन त खोजिन्, तर भित्रैदेखि उनको हाँसो फुटेन।

राधाकी आमा फूलकेशरीले पनि गाउँमा छोरीलाई सहज वातावरण नभएको बताइन्। ‘छोरीलाई गाउँ समाजका केही मानिसले यस्तो भन्यो, उस्तो भन्यो भनेर सुन्दा पीडाले पोल्छ,’ आमा फुलकेशरीले भनिन्, ‘जसले जे भने पनि चुपचाप सहेर बस्छौं। सुने पनि नसुनेझैं गर्छौ।’

गएको फागुन २४ गते २० वर्षीया राधा अरु दिन झै घर नजिकै रहेको गोठमा गोबर सोहोरेर फर्किदै थिइन्। त्यही बेला ६ जनाको समूह ‘यही हो बोक्सी, समात् समात् भन्दै चर्को स्वरमा कराउँदै ‘बाघले बाख्रो झम्टे झै’ गरी समाते।

उनलाई घिसार्दै २० मिनेटजति पर रहेको भोलेबाबा भनिने रामबहादुर चौधरीको घरमा पुर्‍याए। त्यही गाउँका भोलेबाबा भनिने रामबहादुर चौधरीको घरमा छरछिमेकीहरू चारैतिर घेरा बनाएर बसेका थिए। ‘त्यहीँ गाउँलेको माझमा राखेर भोलेबाबा र उनकी सहयोगी ‘पार्वती माता’ ले ६ घण्टासम्म निर्घात कुटपीट गरे’ राधाले घटना सम्झँदै मलिन स्वरमा भनिन्।

राधाको परिवारमा आमा, बुवा, दाजु, र दुई भाइबहिनी छन्। आर्थिक अवस्था कमजोर भएकाले राधाका बुवा, दाइ र भाइ अहिले भारतमा मजदरी गर्छन्। घरमा आमासँग उनी र कान्छी बहिनीमात्रै छिन्।

घटना सार्वजनिक भएपछि दुई सातासम्म खुबै चर्चापरिचर्चा भयो। प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले राधाको स्वास्थ्योपचार तथा शिक्षाको सबै जिम्मेवारी प्रदेश सरकारले ब्यहोर्ने घोषणा गरे। मन्त्रीहरूले पनि उनलाई भेटेर अनेक आश्वासन दिए। तर, घटनाको ५ महिना बित्दा पनि पीडितले आश्वासनका पोका बाढ्नेहरू कसैबाट केही पाएकी छैनन्।

‘अहिले त कोही सोधपुछ पनि गर्दैनन्,’ राधाले भनिन्। नगरपालिकाले उनलाई एक लाख दिने बताएको छ। तर हात परेको छैन। ‘खै मलाई केही थाहा छैन,’ उनले भनिन्। कक्षा ११ को सबै शुल्क उनले तिर्नुपरेको छ। ‘१२ को भर्ना शुल्क तिरेको छैन। सरहरूले शुल्क तिर्नु पर्दैन त भन्नु भएको छ,’ राधाले भनिन् ‘कक्षा ११ को सबै शुल्क आफैंले तिरेँ।’

उनी अध्ययनरत घोडाघोडी नगरपालिकाको सुखडस्थित राष्ट्रिय माविले भने राधाको शिक्षा नि:शुल्क गर्ने निर्णय गरेको बताएको छ। विद्यालयका प्रअ रामछविला चौधरीले भने, ‘विद्यार्थी तथा शिक्षकको दबाबमा व्यवस्थापन समितिले उनलाई कक्षा ११ र १२ सम्म नि:शुल्क पढाउने निर्णय गरेको छ।’ घटनाका बेला सरकारी तथा गैरसरकारी संघसंस्था थुप्रैले अनेक आश्वासन दिएको उनी सम्झिन्छिन्। काममा सहयोग गर्ने भनेर आश्वासन दिएका थिए। उनी भन्छिन्, ‘अहिले कसैसँग सम्पर्क छैन।’ नारी दिवसकै दिन २० वर्षीया राधामाथि देउकलियामा स्थानीय रामबहादुर चौधरी र पार्वती माता भनिने किस्मती चौधरीसहितले बोक्सी आरोप लगाउँदै ६ घन्टासम्म निर्घात कुटेका थिए।

निर्घात कुटाइबाट गम्भीर घाइते उनलाई उद्धार गरेर धनगढीमा उपचारका लागि ल्याइएको थियो। उनलाई केही दिन धनगढीस्थित महिला पुनस्र्थापना केन्द्रमा राखेपछि प्रमुख जिल्ला अधिकारीसहितको पहलमा गाउँमै पुनर्स्थापना गरिएको हो।

जिल्ला अदालत कैलालीले घटनामा संलग्न भोलेबाबासहित तीन जनालाई दोषी ठहर गर्दै कैद फैसला सुनाइसकेको छ। पीडक भोलेबाबालाई ५ वर्ष कैद सजाय र एक लाख जरिवाना भराउने फैसला भएको थियो। कुटाइमा संलग्न सोही ठाउँका किस्मतीलाई ५० हजार जरिवाना र एक वर्ष कैद तथा पार्वती चौधरी (स्मारिका) लाई ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना भराउने फैसला गरेको थियो।

भोलेबाबालाई सहयोग गरेको भन्दै नियन्त्रणमा लिइएका स्थानीय चनकलाल चौधरी, वेदप्रसाद चौधरी र सीतारानी चौधरीलाई भने सफाइ दिएको थियो। राधामाथि कुटपिट गरेको भन्दै ६ जनाविरुद्ध जिल्ला प्रहरी कैलालीले बोक्सी आरोपसम्बन्धी कसुर तथा सजाय ऐन र ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाएको थियो। (कान्तिपुर)

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...