
१२ चैत्र २०७६
काठमाण्डौ। नेपाल सरकारले नोवेल कोरोना भाइरस नियन्त्रण गर्न मंगलवारदेखि मुलुकभर साताव्यापी लकडाउन धोषणा गरेको छ। नेपाल सरकारले सम्भावित भाइरसको संक्रमण नियन्त्रण गर्न लकडाउन प्रभावकारी बनाउन नेपाल प्रहरी र सशस्त्र बल खटाएको छ।
लकडाउनको समयमा कति सर्वसाधारण खाँचो परेर त कति सडकमा रमिता हेर्न धरबहिर निस्केका छन्। मुलुकभर त्यसरी धरबाहिर निस्केका सर्वसाधारणहरुलाई सुरक्षाकर्मीले ठाउठाउमा दुर्व्यवहार गरिरहेको छ। कतिलाई लाठी बर्साएको छ, कतिलाई उठबस गराएको छ, कतिलाई झापट हानेको छ, कतिलाई उठबस गराएको छ भने कही नियन्त्रणमा समेत लिएको छ।
नेपाल सरकारले लकडाउनमा सर्वसाधारणलाई धरबाहिर नआउन, भनेर नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ। ट्राफिक प्रहरीले सडकमा सवारी साधन नियन्त्रणमा लिएर चालकलाई पैदल फर्काएको छ।
सुनसरीको धरानमा पैदल यात्रु, मोटरसाइकल, स्कुटी, टेम्पो र सफारी नियन्त्रणमा लिएको छ भने सुनसरीको इटहरी प्रहरी कार्यालयबाट खटिएका प्रहरीले खनारमा साइकल चालाउदै आएका व्यक्तिलाई चाकमा १/४ लाठ्ठी हानेर फिर्ता पठाइदिएका थिए। सुनसरीको खनारमा दुइ प्रहरी हवलदारले एक साइकल चालकलाई चाकमा लाठ्ठी हानेको भिडियो भाइरल भइरहेको छ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले लाठ्ठी हान्ने प्रहरीलाई विभागीय कार्यवाही हुने बताएका छन्। भैरहवामा प्रहरीले सर्वसाधारणलाई लकडाउन अवज्ञा गरेको भन्दै देवकोटा चौकदेखि पश्चिमपट्टीको सडकमा साइकल चलाउने १२ जनालाई सडकको जेब्राक्रसमा साइकल ठड्याएर धोप्टो पारेर यातना दिएको थियो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कसैलाई कसैलाई पनि सजाय नदिएको दाबी गरेका छन्।
त्यस्तै दाङमा एकजनाले लकडाउन अवज्ञा गरेको भनी उठबस गराएको छ। जिल्ला प्रहरी दाङका एसपी जनक भट्टराई उठबस गराउने प्रहरीलाई पनि कारवाही गर्ने बताएका छन्।
सुर्खेतमा पनि लकडाउन उलंधन गरेको भन्दै प्रहरीले केही व्यक्तिलाई केही समय सड्क बीचमा उभाएका थिए। भक्तपुरको मध्यपुर ठिमी बजारमा पनि लकडाउनको समयमा बाहिर निस्केको भन्दै सशस्त्र प्रहरीले बीच सडकमा तीन जनालाई धोप्टो पारेर लाठ्ठी हानेको छ।
