डा. प्रिन्स रौनियार/हुवे प्रान्तभरिबाट वुहानका वुवादामा जम्मा भएका १८१ जना भेला भएपछि इमिग्रेसनसम्मको ५ वटा स्वास्थ परीक्षण पार गरेर १ सय ७५ जना नेपालबाट आएको विमान चढ्न वेटिङ रुमसम्म पुग्दा थकित देखिन्थे । तर, यो थकाइका दृष्य तुरुन्तै हर्षमा परिणत भयो । कारण थियो, नेपाल वायुसेवाको विमान टर्मिनलमा हाम्रो प्रतीक्षा गरिरहेको दृष्य । आफनो देशको ध्वजावाहक विमानले आफ्ना नागरिकको उद्धार गर्न आएको देख्दा आँखा रसाउँदो रहेछ । पहिलोचोटि यस्तो अनुभव भयो ।
हामी सबै विमानमा विस्तारै प्रवेश गरेपछि सबैका लागि सिट तोकिएको थियो । सबैजना आआफ्नो सिटमा बसेपछि ती ६ जना साथीहरुको बारेमा थाहा पाइयो जसले विमान चढ्न पाएनन् । ४ जना स्वेच्छाले निर्णय लिएछन् र २ जनाको शरीरको तापक्रम बढी भएर चीन सरकारले नेपाल फर्किन रोक लगाइदियो । यो खबर सुन्दा दुख लाग्यो । विमानमा रहेका हाम्रो हेरचार गर्ने सबै चालक दलका सदस्य (क्रु) ले हामीलाई खुुसी साथ स्वागत गरी सबै निर्देशन बुझाए र केही बेरमा विमानले उडान भर्यो ।
त्यो क्षण विमानभित्रका कसैले आफ्नो जिन्दगीमा नबिर्सने क्षणको रुपमा लिनेछन् । जब विमान चक्काले वुहानको जमिन छोड्यो । १ सय ७५ जनाको तालीले पुरै विमान गुन्जियो । त्यहाँ रहेका धेरैले एकअर्कोलाई चिन्दैन थिए । तर यो ताली मनबाट राष्ट्रियताले ल्यायो । सबैको मनमा थियो नेपाल सरकारले गरेर देखायो । मनबाटै धन्यवाद । नेपालको त्रिभुवन विमानस्थलमा अवतरण गर्नासाथै त्यो ताली फेरि गुन्जियो । सबैको मुहारमा खुसी छाएको थियो । विमानको झ्यालबाट हेर्दा ५ वटा स्वास्थ परीक्षण त्यसपछि ५ वटा बस हाम्रो प्रतीक्षामा थिए ।
विमानबाट निस्कदा विमान क्रुले ‘वेलकम ब्याक टु नेपाल’ भन्दा शरीर नै खुसीले सिरिङ्ग भएर आयो । स्वास्थ परीक्षणपछि हामी बस चढेर खरिपाटीतिर लाग्यौं । हामी खरिपाटी पुग्दा विहानको साढे ६ बजेको थियो होला । हाम्रो बस्ने व्यवस्था ३ वटा भवनमा मिलाइएको थियो । सबैलाई आफ्नो विल्डिङ नम्बर, कोठा नम्बर, र बेड नम्बर तोकिएको थियो । एउटा कोठामा २ जनादेखि ३ जनासम्म राख्ने व्यवस्था रहेछ। हाम्रो सामान बोकेर हामी आफ्नो तोकिएको कोठामा लाग्यौ।
कोठाको दृष्य पनि नसोचेकै थियो । सबैको खाटमा मन्जन, ब्रस, साबुन, स्याम्पो, हयान्डवास, स्यानिटाइजर, टिस्युपेपर, बाल्टिन, मग, कोठा सफा गर्ने फिनेल, झाडु, डस्विनलगायतका सामाग्री थिए । वाथरुममा तातो पानीको पनि व्यवस्था थियो । हाम्रो लागि दिनको ४ चोटी खानाको व्यवस्था छ । हरेक क्रियाकलापको लागि समय तोकिएको छ । विहान ७ बजे बेक्रफास्ट, १० बजे फोहोर फाल्ने समय, १२ बजे लन्च, ४ बजे खाजा, ७ बजे बेलुकाको खाना ।
लन्च टाइमदेखि खाजा खाने समयसम्म कोही आफ्नो कोठाबाट निस्कन पाउँदैन । । यो वेला निसंक्रामक औषधी सबै ठाउँमा सफा गरिन्छ । हिँडडुल गर्नको लागि बेलुकाको समय उपयुक्त छ । हामी वरिपरि सानो परिसरमा घुम्छौं । हामीमध्ये कोही कोहीसँग मात्र सिमकार्ड थियो । सिमकार्ड भएकाहरुले घरमा फोन गर्न पाए । हामीसँग सिम थिएन । तर सिम भएका साथीहरुले सबैलाई सहयोग गरे । हाम्रो पनि घरमा कुरा भयो र यहाँको स्थितिको बारेमा सबै बुझायौं । यहाँ वाइफाई इन्टरनेटको सुविधा छ ।
तर, सबै ठाउँमा कनेक्सन पुग्दैन । कनेक्सन भेटियो भने फेसबुकमा म्यासेज गर्न पर्याप्त छ । त्यसैले साथीभाइ घरपरिवारसँग सम्पर्क भइराख्छ । हामी आएको दिन दिउँसो स्वास्थ्य परीक्षण भयो । हाम्रो थोरै स्वाब र नसल स्वाब सकंलन गरियो र परीक्षणको लागि पठाइएको छ । यो परीक्षणमा संक्रमण देखिएन भने हामी सक्रंमित छैनौं भनेर ढुक्क हुन्छौं । यसमा संक्रमण देखियो भने चाहिँ आइसोलेसनमा लगिन्छ ।
यो परीक्षणको नतिजा दुईदेखि तीन दिनमा आउँछ । हामी सबै त्यसैको प्रतीक्षामा छौं । यहाँको बसाइमा हामी सबै साव धानी अपनाइरहेका छौं । सकेसम्म भीड नगर्ने र हरेक समय माक्स लगाएर हिँड्ने गरेका छौं । यो सबै सुविधासम्पन्न प्रबन्ध देख्दा हाम्रो सरकारमाथि हामीलाई साह्रै गर्व महसुस भइरहेको छ ।
म कुनै राजनीतिलाई पछयाउने मान्छे त होइन तर आज आफ्नो सरकारले हाम्रो लागि गरिदिएको काम देख्दा साह्रै खुसी लागेको छ । उद्धारमा ढिलाइ हुँदा नेपाल आइन्छ कि आइदैन भन्ने द्विविधा थियो । तर, उद्धा र हुने निश्चित भइसकेपछि नेपाली हुनुमा गर्व महसुस भयो।
मेरो साथी डा. श्रवण श्रेष्ठ हाडजोर्नी विशेषज्ञ भन्छन्,‘ मेरो भोट अब केपी ओलीज्यू लाई नै जान्छ, जसले हाम्रो उद्धा र गरी हुवेको ड र लाग्दो स्थितिबाट सकु शल निकालेर नेपालको स्वच्छ हावामा सास फेर्ने मौका दिनुभयो ।’ हाम्रो प्रधानमन्त्री, स्वास्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, चीन सरकार, हाम्रा आमा बुबा र सम्पुर्ण आफन्तजनहरु जसले हामीलाई हुवेको भया वह स्थितिबाट निकाल्न कम्मर कस्नुभयो । सबैलाई हृदयदेखि नै धन्यवाद ।