News Portal

अनलाइनका नाममा सास्ती

हिमाली संचार संवाददाता
४९८ पटक

पोखरा : सरकारको सेवाप्रवाह सेवा छिटोछरितो र सर्वसुलभ साथै प्रविधिमैत्री बनाउने उद्देश्यले ल्याइएको डिजिटल अनलाइन प्रविधिले सेवाग्राहीलाई झनै सास्ती भएको छ। यातायात व्यवस्था कार्यालय गण्डकीमा सेवा लिन पुग्ने सेवाग्राहीले कहिले सर्भर नचल्दा त कहिले अनलाइन नखुल्दा हैरानी बेहोर्नु परेको छ।

पोखरा महानगरपालिका–१७, बिरौटाका नवीन हमाल मङ्गलबार सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को काम लिएर कार्यालयको सवारीचालक अनुमतिपत्र शाखामा जानुभयो । सर्भर नचलेका कारण सो दिन उहाँ त्यसै फर्किनुभयो । त्यसको दुई दिनपछि बिहीबार बिहान ९ बजे पुनः कार्यालय पुग्नुभएका उहाँले लाममा दुई घण्टा पालो कुर्नुभयो । पछि सर्भर नचलेको भन्दै कर्मचारीले उहाँलाई फर्काइदिए ।

हमाल मात्र हैन, लाइसेन्सको काम लिएर कार्यालय आउने धेरै सेवाग्राहीले सर्भरका कारण यस्तै सास्ती भोग्ने गरेका छन् । प्रायः दैनिकजसो सर्भरले काम नगर्दा लाइसेन्सको काम लिएर आउने सेवाग्राहीको काम नहँुदा पनि समाधानको लागि केही पहल भएको छैन ।

कार्यालयका निमित्त प्रमुख हरिप्रसाद गौतम कर्मचारीले सेवाग्राहीको काम छिटोछरितो गर्न चाहे पनि सर्भरका कारण समस्या हुने गरेको बताउनुहुन्छ । केन्द्रीय प्रणाली अर्थात् यातायात विभागमार्फत कार्यालयको सर्भरले काम गर्ने हँुदा समस्या परेको उहाँको भनाइ छ । सर्भर जुनसुकै बेला पनि डाउन हुने गरेको र त्यसको समाधान कर्मचारीको हातमा नरहेकाले समस्या परेको हो ।

पटक पटक कार्यालय पुगेका सेवाग्राही सर्भर नचल्दा हैरान छन् भने अनलाइन सेवाका लागि प्रवेश गर्ने सेवाग्राहीले जतिसुकै प्रयास गर्दा पनि एक्सेस नपाएको गुनासो छ । यातायात गण्डकी कार्यालयले दैनिक सानो ठूलो सवारी गरी झन्डै चार सयवटा फर्म अनलाइनमार्फत लिने गर्छ । अनलाइनको साइटमा सीमित व्यक्तिको बाहेक पहुँच नै पुग्दैन, कतिखेर पुग्छ, कतिखेर बन्द हुन्छ थाहा नै हुँदैन ।

चौबीसै घण्टा प्रयास गर्दा पनि बिचौलियाकै सहयोग लिनुपर्ने बाध्यता छ । एउटा फर्म भर्दा कति पैसा लाग्छ, यातायात कार्यालयले तोकेको छैन । तर, एक हजारदेखि पाँच हजार रुपियाँसम्म असुल्ने गरेको सेवाग्राही प्रवेश गुरुङले बताउनुभयो ।

यसबारेमा कार्यालय प्रमुख गौतम ह्याकरहरूले नै कब्जा गरेको स्वीकार गर्नुहुन्छ । उहाँ थप्नुहुन्छ, “त्यो हाम्रो क्षमताभन्दा बाहिरको हो । त्यो विभागले हेर्नुपर्छ । सेवाग्राहीको खप्की हामीले खान्छौँ । सेवाग्राही देख्दा हामी पनि खिन्न हुन्छौँ । ” कार्यालयबाट वार्षिक एक लाखभन्दा बढी सेवाग्राहीले नयाँ लाइसेन्स बनाउने र पुरानाको नवीकरण गर्छन् । तर कार्यालयको संरचना भने उस्तै छ ।

कार्यालयका सूचना अधिकारी भरतराज काफ्ले भौतिक संरचनाको लेआउट नमिलेका कारण पनि काममा समस्या परेको बताउनुहुन्छ । कार्यालय अब छिटै नयाँ भवनमा सर्न लागेको र त्यसपछि काममा केही सहज हुने भनाइ उहाँको छ । चालक अनुमतिपत्रका लागि आवेदन फर्म छोटो समयका लागि खुल्ने र ह्याक गर्न सक्नेले मात्र सेवा लिनसक्ने र अरूले नसक्ने गरेका कारणसमेत समस्या भएको काफ्लेको भनाइ छ ।

सूचना अधिकारी काफ्लेका अनुसार सर्भर चल्ने समयमा भने नयाँ दर्ता दिनमा दुई सयदेखि २५०, नवीकरण दुई सयदेखि तीन सय र लाइसेन्स वितरण पनि लगभग तीन सय जति गरी लगभग नौ सयदेखि एक हजार जनाले सेवा लिने गरेका छन् । सन् २०१८ को डिसेम्बरसम्म निवेदन दिएकाले मात्र स्मार्ट लाइसेन्स पाएका छन् । त्यसमा पनि गुणस्तर नभएको सेवाग्राहीको गुनासो छ । लाइसेन्ससमेत समयमा आउँदैन । गत भदौयता कसैको पनि स्मार्ट लाइसेन्स नआएका कारण धेरै समस्या भएको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले सर्भरले काम नगरेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले एउटा मात्रै सर्भिस प्रोभाइडरबाट सेवा लिएका थियौँ । अब दुईवटाबाट लिने तयारीमा छौंँ ।

सर्भरलाई पटक पटक ह्याकरले पनि ह्याक गर्छन् । यसको अनुगमन गरिरहेका छौँ । हाम्रो मात्र कमजोरी होइन, जीआईडीसी सिंहदरबारभित्र रहेको सरकारी डाटा सेन्टर हो । कहिले त्यहाँबाट पनि सपोर्ट हुँदैन । अब हामी सुधार्ने प्रयासमा छौँ । ”

गण्डकी प्रदेशको राजधानी पोखरामा मात्रै भीड हुनुको कारण धौलागिरि अञ्चलमा चारपाङ्ग्रे सवारीको लाइसेन्स बन्द गरिएकाले पनि हो । धौलागिरिबाट यहाँ दैनिक सय जना आउने गर्छन् । यस सन्दर्भमा महानिर्देशक हमालले भन्नुभयो, “हामीले प्रदेशलाई अधिकार दिएका छौँ, प्रदेशले नै खोज्नुपर्छ ।

यसबारेमा गण्डकी प्रदेश भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले चाँडोभन्दा चाँडो बागलुङमा पनि सेवा सञ्चालन गर्ने र गण्डकीको सर्भरलाई द्रुत र छिटोछरितो बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सर्भर नचल्दा सेवा प्रभावित भई राजस्व सङ्कलनमा समेत असर परेको कार्यालयले जनाएको छ । सर्भरका कारण गण्डकी यातायात व्यवस्था कार्यालयले आइतबारदेखि बुधबारसम्म सेवा नै बन्द गरेको थियो। – गोरखापत्र

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...