News Portal

हेटौंडा र चितवनमा अदालत अब चौबीसै घण्टा ‘अलर्ट’

७२८ पटक

प्रताप बिष्ट/रमेशकुमार पौडेल

हेटौंडा/चितवन — जिल्ला अदालतका न्यायाधीश र कर्मचारीहरू चौबीसै घण्टा सेवा प्रवाहमा सक्रिय भएका छन् । मुलुकी संहिता भदौ १ देखि लागू भएपछि मकवानपुर जिल्ला अदालतमा एक न्यायाधीशसहित कम्तीमा ३ कर्मचारी खोजेको अवस्थामा अदालतमा हाजिर हुने गरी चौबीसै घण्टा ‘अलर्ट’ भएर बस्न थालेका छन् । यसले गर्दा उनीहरूको व्यस्तता पनि बढेको छ ।

उनीहरू विगतमा बिहान ९ देखि अपराहन ५ बजेसम्म अदालतमा व्यस्त रहन्थे । अहिले भने उनीहरूको दैनिकी फेरिएको छ । फौजदारी संहिता ऐन र नयाँ कार्यविधि कार्यान्वयनमा आएपछि न्यायाधीश र कर्मचारीहरूको दैनिकी बदलिएको हो । बिदाको दिन पनि उपलब्ध हुनुपर्नेछ । ‘नयाँ संहिता कार्यान्वयनमा आएको दिनदेखि हामी खटिएका छौं,’ जिल्ला न्यायाधीश खडानन्द तिवारीले भने, ‘हाम्रो व्यस्तता अहिले बढेको छ ।’

प्रहरीले अदालतको स्वीकृतिबिना अभियुक्तलाई गिरफ्तार गर्न नपाउने भएपछि स्वीकृति दिन न्यायाधीशसहित कर्मचारी चौबीसै घण्टा उपलब्ध हुनुपर्ने व्यवस्था मिलाइएको हो । संहिता ऐन कार्यान्वयनमा आएको दिनदेखि मंगलबारसम्म अदालतले जरुरी ५ पक्राउ पुर्जीको अनुमति दिइसकेको छ । सामान्य १३ वटा पक्राउ पुर्जीको स्वीकृति दिइसकेको छ । यसैगरी चितवन जिल्ला अदालतमा न्यायाधीशसहित ५ कर्मचारी खोजेका बेला हाजिर हुने गरेर तयारी अवस्थामा बस्ने गरेका छन । प्रहरीले अदालतको स्वीकृतिबिना आरोपी समाउन नपाउने भएपछि स्वीकृति दिन न्यायाधीशसहित कर्मचारी चौबीसै घण्टा उपलब्ध हुनु पर्ने भएको हो ।

‘हामीले कार्यालय समयबाहेक पनि पालो मिलाएर एक न्यायाधीशसहित अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीसमेत कम्तीमा ५ कर्मचारी खोजेका बेला चौबीसै घण्टा उपलब्ध हुने व्यवस्था मिलाएका छौं,’ चितवन जिल्ला अदालतका सूचना अधिकारी केशव पौडेलले भने । नयाँ ऐनले पक्राउ पुर्जी जारी गर्न पनि प्रहरीले मुद्दा हेर्ने अधिकारीको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।

कुनै व्यक्ति तत्कालै पक्राउ नगरे भाग्ने वा प्रमाण नष्ट गर्ने सम्भावना पनि रहन्छ । ऐनमा त्यस्तो अवस्थामा प्रहरीले जरुरी पक्राउ पुर्जी जारी गरी उसलाई समाउन सक्छ । तर पक्राउलगत्तै मुद्दा हेर्ने अधिकारीबाट जरुरी पक्राउ पुर्जी स्वीकृति गराउनुपर्छ । स्वीकृत नहँुदासम्म म्याद थप र अनुसन्धानका काम अगाडि बढ्न नसक्ने व्यवस्था नयाँ ऐनमा छ ।

‘पक्राउ पुर्जी अनुमतिका लागि वा जरुरी पक्राउ पुर्जी अनुमोदनका लागि प्रहरीहरू जुनसुकै बेला आउने भएका कारण हामी बिदा वा रात/दिन नभनी सेवा दिन बसेका छौं,’ मकवानपुर जिल्ला अदालतका न्यायाधीश तिवारीले बताए । ‘पहिला हामीले पक्राउ पुर्जी जारी गरी मान्छे समाएर चौबीस घण्टाभित्र अदालत पुर्‍याउने काम गथ्र्यौं । अहिले पक्राउ पुर्जीको पनि अनुमति लिनुपर्ने भएको छ । हामीबाहेक चौबीसै घण्टा अन्य निकायको पनि साथ पाउनुपर्ने अवस्था आएको छ,’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) शिव शर्मा आचार्यले भने । नयाँ कार्यविधिअनुसार काम गर्न त्यति ठूलो अलमल र असहज नभएको उनले बताए । ‘हामी अनुसन्धान गर्ने निकाय र अधिकारी हौं ।

अनुशन्धान राम्रोसँग हुनुपर्छ, मनासिब कारणले मात्र व्यक्ति समातिनुपर्छ भन्ने उद्देश्यले नै नयाँ व्यवस्था भएको हो । समयअनुसार सबै पक्षमा सुधार हुने गर्छ । अहिले त्यही भएको हो,’ डीएसपी आचार्यले भनेको कान्तिपुरमा समाचार छ।

प्रतिकृया दिनुहोस्

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...

माधे सङ्क्रान्तिका लागि चिउरा कुटाउनेको घुइँचो

रबिन्द्र बराल मोरङ– मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रका कुटानी–पिसानी मिलहरूमा यतिबेला चिउरा कुटाउने सर्वसाधारणको घुइँचो...