News Portal

डेढ सय घरलाई एउटा पानी पिउने धाराे

हिमाली संचार संवाददाता
५३२ पटक

प्यूठान — झिमरुक गाउँपालिका–६, मर्काबाङकी ६० वर्षीया नुमीदेवी नगरकोटी बिहान ४ बजे उठेर पँधेरामा पुग्छिन् । पानी भरेर फर्किंदा ७ बजिसकेको हुन्छ । छोराछोरीलाई खाना पकाएर स्कुल पठाउन हतार हुन्छ ।

‘पानीका लागि लाइन बस्नुपर्छ,’ उनले भनिन्, ‘चैत/वैशाखमा घण्टौं कुरेर भर्नुपर्छ ।’ यस गाउँका १ सय ५० परिवारले पानी भर्ने एउटामात्रै धारो छ । त्यसैले भीड हुने गरेको नगरकोटीले बताइन् । ‘राति पनि धारो खालीहुँदैन,’ उनले भनिन्, ‘अन्यत्र पानी भर्ने विकल्प छैन ।’

पानीका लागि सधैंभरि झगडा हुने गरेको स्थानीय सुशीला नगरकोटीले बताइन् । ‘सबैलाई पानी घर पुर्‍याएर अन्य काममा लाग्न हतारो हुन्छ,’ उनले भनिन्, ‘पालो मिच्यो भने झगडा भइहाल्छ ।’ यहाँका स्थानीयले वर्षौंदेखि खानेपानीको समस्या भोगिरहेका छन् । उनीहरू एक घर एक धारो माग गर्छन् । ०४६ सालमा निर्माण भएको मान्द्रेढुंगा–मर्काबाङ–तोरबाङ खानेपानी आयोजना जीर्ण भएर धारामा पानी आउन छाडेदेखि खानेपानी समस्या भएको स्थानीय निमलाल नगरकोटीले बताए । योजना पुन:सञ्चालनमा ल्याउन स्थानीयले नेताहरू गुहारे पनि अहिलेसम्म कतैबाट पहल नभएको गुनासो नगरकोटीले गरे । खानेपानी मर्मत गर्न जाँदा भीरबाट लडेर एक जना स्थानीयको ज्यानसमेत गएको उनले बताए । ‘निर्वाचनका बेला सबैले घरघरमा धारा ल्याइदिन्छौं भन्दै भोट माग्छन्,’ उनले भने, ‘चुनाव जितेर गएपछि फर्केर हेर्दैनन् ।’ स्थानीयले घण्टौं लगाएर पँधेराबाट पानी ओसार्नुपर्ने दुखेसो सुनाउँछन् ।

‘सात वर्षअघिसम्म योजनाअन्तर्गतको गाउँको सामूहिक धारामा पानी आउँथ्यो,’ स्थानीय लोकबहादुर नगरकोटीले भने, ‘अहिले पानीका धारासमेत जीर्ण भएर भत्किसकेका छन् ।’ साबिकको ओखरकोट गाविसको चुधारा भन्ने ठाउँबाट सात किलोमिटर दूरीको योजना बिग्रेपछि स्थानीयले पानीको समस्या भोगेको नगरकोटीले बताए । ‘धारापानी पँधेराबाट लिफ्ट गरेर पानी खान्छौं भनेर गाउँपालिका हुँदै खानेपानी डिभिजन कार्यालयमा धेरैपटक धायौं,’ उनले भने, ‘अहिलेसम्म हाम्रो मागको कतैबाट सुनुवाइ भएको छैन ।’

मर्काबाङ तोरबाङ नेटामा खानेपानीको चरम अभाव भएकाले पुरानो क्रमागत योजना बदर गरेर नयाँ योजनाको माग गरेको वडाध्यक्ष निमानसिंह जीसीले बताए । गाउँपालिकाबाट प्रदेश, मन्त्रालयसम्म फाइल पुर्‍याएको जीसीले बताए । ‘पुरानो योजना धेरै जीर्ण भइसकेको छ,’ उनले भने, ‘स्थानीयको मागअनुसार यहाँ नयाँ योजना नै चाहिन्छ ।’

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...