News Portal

चार दिनपछि खुल्यो बेनी–जोमसोम सडक

हिमाली संचार संवाददाता
४२२ पटक

हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइँठेभिरमा सुक्खा पहिरो खसेपछि पुस ११ गतेदेखि अवरुद्ध भएको सडक सोमबार साँझदेखि सञ्चालनमा आएको हो ।

पहिरो पन्छाएर मर्मत गरेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिं शेरचनले जानकारी दिए । बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीको एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाइएको हो । गुइँठेभिरमा निरन्तर पहिरो खस्न थालेपछि वैकल्पिक सडक बनाउने प्रयास गरे पनि सफल भएको थिएन ।

बाइपास सडक सफल नभएपछि पुरानै बाटो मर्मत गरेर सवारी सञ्चालन गरिएको सीमा प्रहरी चौकी भुरुङ्ग–तातोपानीका ट्राफिक प्रहरी लक्ष्मण क्षेत्रीले बताए । पहिरो पन्छाउन जोखिम मोलेर काम गरेका एक्साभेटर चालकलाई सुपरभाइजर शेरचनले व्यक्तिगतरूपमा रु पाँच हजार पुरस्कार दिएको बताए ।

सडक अवरुद्ध हुँदा देशका विभिन्न ठाउँबाट बेनी हुँदै मुस्ताङ जान हिँडेका र मुस्ताङ हुँदै बेनीतर्फ छुटेका सवारी साधन बीच बाटोमै रोकिएका थिए । यातायात व्यवसायीले गाडी बदली गरेर यात्रुलाई गन्तव्यमा पु-याउने व्यवस्था मिलाए पनि ढुवानीका साधनको आवतजावत ठप्प भएको थियो । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडकको गुइँठेभिर खण्ड जोखिमयुक्त मानिन्छ । यो ठाउँमा पटक–पटक पहिरो खस्ने गरेको छ । स्थानीयवासी, मुुक्तिनाथ जाने र फर्कने तीर्थयात्री तथा पर्यटकहरु प्रभावित भएका छन् ।

यसैबीच बेनी–जोमसोम सडकमा दैनिक आठ घण्टा सवारी रोकिने भएको छ । स्तरोन्नतिका लागि सवारी रोकेर सडक विस्तारको काम गर्न लागिएको हो । बिहान ७ः३० देखि ११ र दिउँसो २ः३० देखि साँझ ६ बजेसम्म सवारी रोकिने आयोजना प्रमुख मुकुन्द अधिकारीले बताए ।

सवारी साधनको चाप कम हुने समयमा कामलाई गति दिन समयतालिका बनाइएको उनले बताए। बेनी–जोमसोम सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ । म्याग्दीको गलेश्वरदेखि नारच्याङ पुलसम्मको प्याकेज एकमा सडक फराकिलो बनाउने, पर्खाल लगाउने र नाली बनाउने तथा ग्रेड मिलाउने काम भइरहेको छ ।

प्याकेज २, ३ र ४ खण्डमा पहाड काट्ने, फराकिलो बनाउने र पर्खाल निर्माण भइरहेको छ । विसं २०७४ मा भएको ठेक्का सम्झौताको म्याद मङ्सिरमा सकिएको छ । आउँदो जेठसम्म म्याद थपको तयारी भएको आयोजनाले जनाएको छ । उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत बेनीबाट जोमसोम खण्डको ५० प्रतिशत र जोमसोमबाट कोरला खण्डको ८० प्रतिशत भौतिक प्रगति भएको छ । सात प्याकेजमा सञ्चालित ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको अन्तिमपटक थप भएको म्याद आगामी असारमा सकिँदैछ ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...