बैशाख २६, काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दा ‘मेरो सरकार’ भनेपछि आलोचना भइरहेका बेला कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका प्रवक्ताले ‘जय नेपाल’माथि प्रश्न उठाएका छन् ।
ओली सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु स्वभाविक भएको बताए ।
राष्ट्रपतिले ‘मेरो सरकार’भन्दा आलोचना गर्ने कांग्रेसलाई उनले प्रश्न गरे, ‘महेन्द्रले भन्न शुरू गरेको ‘जय नेपाल’ के गर्ने ?’ मेरो सरकारको बचाउ गर्न ओली सरकारका प्रवक्ताले जय नेपाल शब्दावलीमाथि प्रश्न उठाएका हुन् ।
बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता बास्कोटाले भने, ‘शब्दशब्दमा जाने हो भने त जय नेपाल प्रहरीले पनि भन्छ, कांग्रेसले पनि भन्छ । २०१७ सालमा प्रजातन्त्र कू गरेपछि महेन्द्रले जय नेपाल भनेका थिए, के यो शब्द डिक्सनेरीबाट हटाउने ?
प्रधानमन्त्री ओलीले समेत संसदमा बोल्दै मेरो सरकार शब्दलाई जानीजानी नीति तथा कार्यक्रममा राखेको बताएका थिए ।