काभ्रे, २८ चैत : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली ओली मानसिक रोगबाट ग्रसित रहेको आरोप लगाएका छन् । मानसिक बिरामीले नेपाल समृद्ध बनाउन नसक्ने टिप्पणी उनले गरे ।
“गफाडी प्रवृत्तिले देश बन्दैन । नेपाली कांग्रेसलाई गाली गरेर समृद्धि आउँदैन,” नेपाली कांग्रेस क्षेत्रीय समिति–१ काभ्रेको कार्यालय भवन उद्घाटन तथा आमसभामा बुधबार बोल्दै पौडेलले भने, “ओली गाली गर्ने ठाउँमा होइन, देश विकास गर्ने ठाउँमा छन् ।
संविधान नराम्रो भएर राजावादी सल्बलाएका होइनन्, केपी, प्रचण्ड नालायक भएर सल्बलाएका हुन् ।” संविधानका विरुद्धमा कसैले बोले कांग्रेसले प्रतिकार गर्ने उनले बताए । “ओली, प्रचण्डले संघीयता चाहेका छैनन्, कांग्रेसलाई संघीयता चाहिएको हो,” उनले भने ।
कांग्रेस सानो संख्यामा भए पनि सरकारका गलत कामको सशक्त विरोध गर्दै आएको उनले दाबी गरे । “अब संसदबाट मात्रै हुन्न, कांग्रेस सडकमा आउनुपर्छ। संसद भित्रबाटमात्रै सरकारलाइ सच्याउन सकिँदैन,” उनले भने।