निर्मला खडायत
कैलाली, २९ फागुन : जिल्ला वन कार्यालय कैलालीका वन अधिकृत भरत साह ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज दिउँसो वन अधिकृत साहलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
वन अधिकृत साहलाई धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको वन कार्यालयमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियारले पक्राउ गरेको बताएको छ । वन मुद्दा मिलाइदिने भन्दै अधिकृत साहले पैसा मागेको बताइएको छ ।
अख्तियार अनुसन्धान आयोगले साहमाथि आवश्यक कारबाहीको प्रकृया अगाडि बढाएको जनाएको छ । अख्तियार अनुसन्धान आयोग महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षकको नेतृत्वको टोलीले साहलाई पक्राउ गरेको हो ।