News Portal

  • परराष्ट्रमन्त्री भन्छन् – राजदूतको अनुहारमा खसआर्य र पुरुषमात्रै ?

    ५ देशमा नेपालका राजदूत खाली छन् । २८ देशमा रहेका राजदुतमध्ये महिला ५ , दलित १,  जनजाति २, मधेसी १ र खसआर्य १९ जना छन्

    हिमाली संचार संवाददाता
    ३७० पटक

    रघुनाथ बजगाई
    काठमाडौं : संविधानको धारा २८२ मा राज्यका हरेक क्षेत्रमा समावेशिता लागु हुने उल्लेख छ । तर, राजदुत नियुक्तिमा भने उक्त व्यवस्था अनुसार समावेशिता कायम नभएको भन्दै सांसदहरुले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमक्ष विहीबार असन्तुष्टि पोखे ।

    संसदीय सुनुवाइ समितिमा परराष्ट्रमन्त्री ज्ञवालीसँगको छलफलमा सांसदहरुले राजदुत नियुक्तिमा समावेशिता नभए द्वन्द्व बढ्न सक्ने चेतावनी समेत दिए ।

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले नेपालको संविधानको समावेशिताको मर्मअनुसार राजदुत नियुक्ति नभएको बताए । ‘राजदुत नियुक्ति संविधान अनुसार भइरहेको छैन्’, चेतावनीको शैलीमा सांसद प्रधानले भने, ‘सानोतिनो कुराले द्वन्द्व बढ्न सक्छ ।

    कांग्रेस सांसद प्रधानले राजदुतहरु नियुक्तिमा बाहुन, क्षेत्री र पुरुष समुदायले मात्रै प्राथमिकता पाइरहेको तर्फ संकेत गर्दै संविधानको भावनाअनुसार महिला, जनजाति, मधेसी र दलितहरुलाई पनि राजदूत बनाइनुपर्ने बताए ।

    सांसद जितेन्द्र नारायण देवले समावेशितालाई अर्को द्वन्द्वको स्रोत बन्न दिन नहुने बताए । उनले नेपालको विदेश नीति कमजोर भएको आशंका पनि व्यक्त गरे ।

    नेकपा सांसद अमृता थापाले पनि सबै क्षेत्र समावेशी हुनुपर्ने माग गरिन् । नेकपाकै अर्की सांसद निरुदेवी पालले निजामती क्षेत्रबाट राजदुत बनाउँदा पनि ३३ प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चितता हुने वातावारण बनाउन सरकारसँग माग गरिन् ।

    कांग्रेस सांसद पुष्पा भुसालले राजदुतहरु राजनीतिक आस्थाका आधारमा नै पार्टीले खटाउने भएकाले व्यक्तिको प्रतिष्ठामा आँच आउने गरी ‘काम गर्न नसकेको’ भन्ने जस्ता विषयलाई देखाउन आवश्यक नरहेको बताइन् । राजदुतको मर्यादा र उक्त देशसँगको सम्बन्धलाई सम्बन्धित राजदुतले कति मजबुद बनाउन सक्यो भन्ने ख्याल गर्न सरकारलाई भुसालले सुझाव दिइन् ।

    योगेश भट्टराईले दिए छक्का र चौकाको उपमा !

    सत्तारुढ दल नेकपाका सांसद योगेश भट्टराईले राजदुत नियुक्त हुँदा समावेशितालाई ख्याल गरिएन भन्ने प्रश्न फेरि संसदीय समितिमा उठ्ने अवस्था नआओस् भन्दै सरकारको ध्यानाकर्षण गरे । तर, वर्तमान सरकार समावेशीलाई ख्याल गर्ने सरकार भएको भट्टराईको दाबी थियो ।

    नालापानीको युद्धमा पनि महिला, जनजातिले सहभागिता जनाएको उल्लेख गर्दै भट्टराईले जनयुद्ध लगायतका विभिन्न राजनीतिक आन्दोलनमा समावेशिता रहेको उल्लेख गरे । यति भनिसकेपछि भट्टराई क्रिकेटको उदाहरण दिनतर्फ लागे ।

    नेपालको खेल क्षेत्र समावेशिताको दृष्टिले उदाहरणीय रहेको सांसद भट्टराईको भनाइ थियो । भर्खरै हामीले क्रिकेटमा धेरै राम्रो सफलता हासिल गर्‍यौं । क्रिकेटको टिम हेर्ने हो भने सानदार समावेशी छ’ सांसद भट्टराईले भने, ‘सोमपाल कामी, आरिफ सेखदेखि राजवंशी, गौचन, मल्ल्ा, लामिछाने, भेस्वाकर अनेक, अनेक ।

    नेकपा नेता समेत रहेका सांसद भट्टराईले राजदूतसँगको छलफलमा क्रिकेटको उदाहरण दिँदै अगाडि थपे, ‘लामिछाने मात्रै भएको भए त के हुन्थ्यो ? सोमपाल कामीले छक्का हान्दा नेपालका कट्टर बाहुनहरुले ताली पिटे । शक्ति गौचनले चौका, छक्का हान्दा कट्टर बाहुनहरु टोपी फालेर उफ्रे ।

    सन्दीप लामिछानेले छक्का हान्दा कामी चुप लागेर बस्दैन, यो हाम्रो विशेषता हो । प्रधानमन्त्री केपी शर्मा ओलीको बैबाहिक सम्बन्ध नै समावेशी भएको सांसद भट्टराईको भनाइ थियो ।

    परराष्ट्रमन्त्रीको जवाफ – विश्वमा नेपाल देखिन थाल्यो !

    संसदीय सुनुवाई समितिको छलफलमा सहभागी बनेका परराष्ट्र मन्त्री ज्ञवालीका अनुसार विभिन्न ५ देशमा नेपालका राजदूत खाली छन् । २८ देश तथा नियोगमा नेपाली राजदूतहरु कार्यरत छन् ।

    बंगलादेश, स्पेन, दक्षिण कोरिया, दक्षिण अफ्रिकासहित ५ देशमा भने राजदूत छैनन् । २८ देशमा रहेका नेपाली राजदुतमध्ये महिला ५ जना, दलित १ जना, जनजाति २ जना, मधेसी १ जना र खसआर्य १९ जना छन् ।

    सांसदहरुले उठाएको प्रश्नको जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले विश्व समुदायमा नेपाल देखिन थालेको बताए । विभिन्न देशमा राजदूत नियुक्त गर्दा सरकारले नेपालको समावेशी दृश्य देखाउन प्रयत्न गर्ने ज्ञवालीले  प्रतिवद्धता जनाए ।

    मन्त्री ज्ञवालीले नेपालले विश्व समुदायमा आफ्नो उपस्थिति देखाउन थालेको दाबी गरे । उनले भने, ‘राज्यका हरेक नियुक्तिमा राज्यको दृश्य देखिनुपर्छ । यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ ।

    कम्तिमा सम्बन्धित देशको भाषाको राम्रो ज्ञान नभए पनि दोहोरो सम्वाद गर्न सक्ने मापदण्ड पूरा गर्नेलाई राजदूत बनाउन सकिने मन्त्री ज्ञवालीको भनाइ छ ।

    बैठकमा केही सांसदले नेपालको विदेशनीति कमजोर हुँदै गएको हो कि भन्ने आशंका व्यक्त गरेको जवाफमा मन्त्री ज्ञवालीले भने, ‘नेपालको विदेश नीति कमजोर भयो भन्ने मलाई लाग्दैन । ११ महिनाको तस्वीर हेर्‍यौं भने नेपाल विश्व समुदायमा देखिन थालेको छ । सुनिन थालेको छ ।

    डाभोस सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागिता हुनु र त्यसक्रममा एक महत्वपूर्ण सेसन जी-ट्वान्टीमा प्रधानमन्त्रीले बोल्ने अवसर प्राप्त गर्नु नेपाल विश्व देखिन थालेको एक उदाहरण भएको मन्त्री ज्ञवालीले बताए । उनले भने, ‘यसको अर्थ कहीँ न कहीँ नेपाललाई सुनाउने मात्र होइन, सुन्नुपर्छ है भन्ने परेको छ ।

    चीन र भारतसँगको सम्बन्धलाई पनि नेपालले सन्तुलनमा राखेको मन्त्री ज्ञवालीको भनाइ छ । उनले भने, ‘भारतसँगको कुन अवस्थाबाट कुन सम्बन्धमा आइपुगेका छौं, चीनसँगको औपचारिक सम्बन्ध कुन ठाउँमा आइपुगेको छ, यो हेर्ने हो भने नेपालको बाहृय नीति कमजोर छ भन्ने अवस्था देखिन्न ।’

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    एनआरएनएका अध्यक्ष श्रेष्ठलाई अमेरिकास्थित नेपाली दूतावासमा स्वागत

    वासिङ्टन डीसी। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष महेशकुमार श्रेष्ठलाई अमेरिकास्थित नेपाली दूतावासमा राजदूत लोक दर्शन...

    आज २०८२ साल असार ७ गतेको राशिफल

    आज असार ७, २०८२ (जुन २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    संसदको गतिबिधिले जनतामा छाएको निरासा – कमला थापा

    २०८२असार ६ गते शुक्रबार संसदमा अहिले आर्थिक बजेट ०८२/८३ माथि छलफल सुरु भैरहेको छ। साथै...

    तीन दलको बैठकमा सत्य निरूपण आयोगको कार्यालय सार्ने निर्णय, अनावश्यक भाडा खर्चप्रति असन्तोष

    काठमाडौं, असार ६ – संक्रमणकालीन न्याय प्रक्रियामा सक्रिय सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यालय अहिले...

    भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपा एकै धारमा, संसद् बहिष्कार गर्दै दबाव बढाउँदै

    काठमाडौं, असार ६ – भिजिट भिसा प्रकरणलाई लिएर लामो समयदेखि आ-आफ्नै शैलीमा विरोध गर्दै आएका...