News Portal

फेवाताल अतिक्रमण रोक्न प्रदेश सरकारको एक्सन, मन्त्रीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन

हिमाली संचार संवाददाता
५०४ पटक

अमृत सुवेदी
पोखरा : फेवाताल अतिक्रमण गरी निर्माण भएका संरचना भत्काउन गण्डकी प्रदेश सरकार अघि सरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ ।

गएको पुसमा सर्वोच्च अदालतले फेवाताल अतिक्रमण गरी निर्माण भएका संरचना भत्काउन आदेश दिएको थियो । फेवातालको मापदण्ड कायम गर्न पोखरा महानगरपालिकाले आलटाल गरिरहेका बेला प्रदेश सरकार अघि सरेको हो । प्रदेश सरकारले पोखरा महानगरसँगको सहकार्यमा फेवाताल सम्बन्धी अदालतको फैसला कार्यान्वयन गर्ने छ ।

फेवाताल मिचेर संरचना खडा गरेको भन्दै विभिन्न समयमा सर्वोच्चमा परेका रिटलाई एकै इजलासमा राखेर न्यायाधीशद्वय ओमप्रकाश मिश्र र सपना मल्ल प्रधानको संयुक्त इजलासले अतिक्रमित संरचना भत्काउन आदेश दिएको थियो ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारद्वारा गठित फेवाताल अतिक्रमण छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न सर्वाेच्चको आदेश थियो । पोखरा उपत्यका नगर विकास समितिका तत्कालीन अध्यक्ष विश्वप्रकाश लामिछानेको संयोजकत्वमा समिति गठन भएको थियो ।

समितिले करिब ९ सय ५० जना व्यक्तिको लालपूर्जा नै खारेज गर्नुपर्ने सिफारिस गरेको थियो । १ हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको प्रतिवेदनमा छ । व्यवसायी कर्ण शाक्यको पार्क भिलेज रिसोर्ट र बनाइसकेको होटल वाटर फ्रन्टसमेत मापदण्डबिपरीत रहेको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

तत्कालीन समितिका संयोजक लामिछानेले प्रदेश सरकारले एक्सन लिएर मापदण्ड कायम गर्न सक्ने हो भने ऐतिहासिक सफलता हुने बताए ।

२०६७ माघ ९ गते रमेश घिमिरेले फेवाताल बचाउन माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । २०६८ असार २३ गते खगेन्द्र सुवेदीले अर्को रिट दायर गरे । २०६८ सालमा देउकुमार गुरुङसहितले मालपोत कार्यालय कास्कीलाई समेत विपक्षी बनाउँदै रिट दायर गरेका थिए।

२०१८ सालमा फेवाताल १० वर्गकिलोमिटर थियो । २०६४ मा केन्द्रीय नापी विभागले सर्भे गर्दा ४ दशमलव २० वर्गकिलोमिटरमा खुम्चिएको देखिएको छ ।

सरकारले गठन गरेको समितिमा प्रदेश सांसद रामजी बराल जीवन, कृष्णबहादुर थापा, राजीव पहारी, विन्दुकुमार थापा, पोखरा महानगरपालिका मेयर मानबहादुर जिसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव, आन्तरिक तथा कानुन मन्त्रालयका सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालय सचिव, कास्कीका प्रमुख जिल्ला अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सदस्य छन् ।

बुधबार बसेको बैठकले फेवाताल संरक्षण गर्न सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्ने, पोखरा उपत्यकाभित्र चक्रपथ निर्माण र मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने लगायत निर्णय गरेको हो ।

पोखरा चक्रपथ तथा मोनोरेल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न चीनको पावर चाइना सिपिङ पावर स्पिन लाइन हाडवेयर कम्पनी लिमिटेडलाई जिम्मेवारी दिन संघ सरकारसँग स्वीकृति माग गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

गण्डकी प्रदेशमा विद्युतीय सुशासन सम्बन्धी कार्य गर्न इजिप्टमूलका स्विस नागरिक फेडी साडा लालाई मानार्थ परामर्शदाता नियुक्त गर्ने निर्णय गरेको पनि सरकारले गरेको छ ।

पृथ्वीराजमार्ग चौडा गर्ने क्रममा तनहुँको आँखुखैरनीस्थित इलाका प्रहरी कार्यालय व्यवस्थापन गर्नुपर्ने भएको हुँदा विद्युत प्राधिकरणको ३० रोपनीमध्ये ६ रोपनी जमिन प्रहरीलाई उपलब्ध गराउन प्रदेश सरकारले संघ सरकारसँग अनुरोध समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाले वाचा गरे– सरकार गठनको १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता

काठमाडौं, ७ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनपछि पार्टीले सरकारको नेतृत्व पाए...

जेनजी युवालाई उपसभापति विश्वप्रकाशको प्रश्न– विद्रोपपछि कुन दल परिवर्तन भयो?

काठमाडौं, ७ फागुन – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले मोरङ–१, केराबारीमा बिहीबार आयोजित चुनावी...

समस्या समाधानपछि मात्र निर्वाचनमा जानुपर्ने राप्रपाको धारणा

काठमाडौं, ७ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टी ले पूर्वराजा ज्ञानेन्द्र शाह द्वारा सार्वजनिक गरिएको हालैको...

आज २०८२ साल फागुन ७ गतेको राशिफल

आज फागुन ७, २०८२ ( फेब्रुअरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ:  मेष...

रास्वपा सरकारमा दुई वर्षको बाटो डेढ वर्षमै तयार हुने: बालेन

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो नेतृत्वमा...